धनगढी : आपराधिक एवम् अवाञ्छित गतिविधि नियन्त्रणमा सहयोग पुर्याउने उद्देश्यले धनगढी उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रका १२ स्थानमा पहिलोपटक सिसी क्यामेरा जडान गरिएको छ।
सिसी क्यामेरा जडानबाट बजार क्षेत्रमा हुन सक्ने आपराधिक क्रियाकलापको निगरानी गरी शान्ति, सुरक्षालाई थप सुदृढ बनाउन सघाउ पुग्ने विश्वास प्रहरीको छ।
सर्वसाधारणको भिड एवम् चहलपहल बढी रहने स्थानीय ट्राफिक चौराहदेखि जिल्ला प्रहरी कार्यालयसम्मको करिब दुई किलोमिटर लामो बजार क्षेत्रका १२ स्थानमा सिसी क्यामेरा जडान गरी निगरानी अघि बढाइएको हो।
सिसी क्यामेराको ‘कन्ट्रोल रुम’ कैलाली जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। सो क्यामेरा जडानको पहिलो चरणको काम पूरा भएकोकाले दोस्रो चरणको काम पनि अगाडि बढाउन लागिएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताए।
दोस्रो चरणअन्तर्गत ट्राफिक चौराहदेखि एक किमी उत्तरतर्फको चटकपुर र दुई किमी दक्षिणतर्फको त्रिनगर भन्सार कार्यालयसम्म सिसी क्यामेरा जडान गर्ने योजना रहेको उनले जानकारी दिए।
कैलाली उद्योग वाणिज्य सङ्घ, जिल्ला विकास समिति, धनगढी उपमहानगरपालिका, बैंक तथा वित्तीय संस्थालगायतको झन्डै रु १३ लाखको सहयोगमा सो क्यामेरा जडान गरिएको हो।