PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

कान्तिपुर गाथा : मुग्लिनको बाटोमा कनिका



किशोर नेपाल

कान्तिपुर गाथा : मुग्लिनको बाटोमा कनिका

बिहान छिट्टै निद्रा खुल्यो कनिकाको। राति छिर्दा कसो-कसो डिंगी लागेको थियो यो होटल। प्यासेजमा व्याड स्मेल। कताकताबाट आएको वासरुमको तीखो गन्ध। ऊ थाकेकी थिइ। पानी पिएर सुती हाली। व्युँझेपछि ऊ अलिकति राम्रो र गतिलो होटलमा सर्ने सोच्न थाली। ओछ्यानबाट उठेर ऊ झ्यालमा गइ। होटल बाहिरको वातावरण रमाइलो थियो। उसले कोठा नियालेर हेरी। कुनै खराबी थिएन। बेड, बेड कभर, ब्ल्यांकेट, टावेल, बाथरुम सबै राम्रा थिए। अझ बाथरुम त उसको घरको आफनो बाथरुम जस्तै थियो। उसले होटेल सर्ने कुरा ड्रप गरी। त्यसपछि टेलिफोन उठाइ। रुम सर्भिसमा फोन गरी र भनी, ‘क्यान आइ ह्याभ सम कफी? अ लार्ज लङ व्ल्याक?’

रुम सर्भिसले लङ व्ल्याकको त नामै सुनेको थिएन। उसले भन्यो, ‘नो म्याम । वी डोन्ट हायभ योर च्वाइस अफ कफी। वी ह्याभ वन्ली अमेरिकानो, डोप्पियो, क्यापचिनो, लात्ते...’

अमेरिकानोको नाम सुनेपछि चहकिंदै कनिकाले जवाफ दिइ,  ‘ओके। गेट मी वन लार्ज अमेरिकानो डबल शट।’

केही बेरपछि कफी आइपुग्यो। कनिका त्यसको सुवासमा नै रत्तिइ। आदमघाटको क्याफे ५६ मा पिएपछि उसको यो क्याफिनसँगको पहिलो टच थियो। उसले दुइ सिप कफी पिइ र सिगरेट सल्काइ। सिगरेटको पहिलो सर्को हलुका सर्कियो। ऊ खोक्न थाली। खोक्दा खोक्दा कफी घुट्क्याइ।

खोकी बन्द भयो। ऊ सोफामा हात–गोडा फालेर चार्लीलाई सम्झिन थाली। चार्ली भएको भए उसको यो ट्रिप निकै रंगीन हुन्थ्यो होला। सोच्दासोच्दै उ भावुक भइ। त्यसपछि चार्लीलाई डाइरेक्ट भिडियो कल गरी। मेसेन्जरको कनेक्सन पर्खेर बस्न उसलाई झ्याउ लाग्यो। 

चार्लीले फोन उठायो, ‘हे, कनी, के भो ? किन भिडियो कल गरेकी ? मेसेन्जर कल गरेको भए भै हाल्थ्यो नि। दिस इज व्लडी एक्स्पेन्सिभ।’
कनिकाले हाँस्दै उसलाई जिस्क्याइ, ‘म जत्तिको यंग र सेलिव्रिटी जर्नलिष्टका लागि महंगो र सस्तो त बालै भएन नि। हेर यसको वर्किंग क्लास मेन्टलिटी। यू नो व्हेर आइ एम नाउ ? इन चितवन एण्ड अलोन। रिपोर्टिंग हाइ वे ट्रेजेडिज। तिमीलाई धेरै मिस गरेपछि भिडियो कल गरेको।’
त्यसपछि उसले थाह नपाए जस्तोगरी फोन डिस्कनेक्ट गरी। वास्तवमा, कनिकालाई चार्लीको ‘दिस इज व्लडी एक्स्पेन्सिभ’ वाक्यले हिट गरेको थियो। प्रेममा पनि कसैले पैसाको मुख हेर्छ। शीट।

फोनको मेसेन्जरमा चार्ली घण्टी बजाइरहेको थियो। कनिकाले त्यो कल रिसिभ गरिन। ऊ विस्तारै अमेरिकानोको स्वाद र सिगरेटको धूवाँमा रमाउन थाली। 

त्यसपछि बाथरुम गइ। आनन्द मान्दै बाथटबमा डुबी। मस्त नुहाएपछि जीन्सको मरुन कलरको शर्ट र टप लगाइ। कपाल छाडा नै रहन दिइ। हल्का मेकअप गरी र व्रेकफाष्टका लागि लवीको छेउमा रहेको रेष्टुराँतिर लागी। होटल नयाँ थियो र निकै राम्रो। हिजो राति ब्याकडोरबाट पसेकोले मात्र उसलाई नराम्रो रहेछ भन्ने परेको थियो। तर, जे भएपनि, प्यासेजमा ब्याड स्मेल त हुनु हुँदैन थियो नि।

कनिका भोकाएकी थिइ । हिजोको दिन मम्सले रुक्स्याकमा राखी दिएको ड्राइफ्रुट्स र पानीमा बितेको थियो। अहिले भने उसले आफनो च्वाइसको मसरुम अमलेट, ससेज र व्रेड, वनाना, एप्पल र योगर्ट–स्कूप फेला पारेकी थिइ। ऊ निकै मनोयोगले व्रेकफाष्ट खाँदै थिइ। उसको पछाडिको टेबलमा दुईजना टुर गाइड पनि व्रेकफाष्ट खाँदै मुगलिङ सडकमा आफूले भोगेको अनुभवको पोको फुकाउँदै थिए। उनीहरुको कुरा सुन्दा जो कसैले पनि जिव्रो काढ्न सक्दथ्यो। उनीहरु चारजना पर्यटकलाई लिएर बिहान छ बजे काठमाडौबाट हिंडेका थिए जीपमा। भरतपुर आइपुग्दा साढे नौ बज्यो। खतरनाक बाटोमा जाम र थोत्रिएको सडकमा मोटरको खतरनाक हिंडाइले ती टुरिष्ट हत्तु भएका थिए। साढे चौध घण्टाको थकाइले पस्त भएर सुतेका ती पर्यटक नौ बजेसम्म उठेका थिएनन्।

‘यस्तै तालले हुन्छ पर्यटन प्रवर्द्धन। बाटोको ताल यस्तो छ। यस्तो अनावश्यक दुःख खान किन आउँछन् कुइरेहरु नेपालमा ? यही ताल हो भने पर्यटन चाहीं गयो भाइ’ एउटाले कमेन्ट गर्‍यो। अर्कोले सही थाप्यो। त्यसपछि उनीहरु उठे।

कनिका के सम्झेर हो, व्रेकफाष्ट खाँदाखाँदै उठी । उसले ‘एक्स्क्यूज मी’ भन्दै उनीहरुसंग सोधी, ‘यो अहिले तपाईंहरु जे कुरा गरिरहनु भएको थियो नि सडकबाट आउन साढे चौध घण्टा लागेको कुरा, के त्यो सत्य हो ?’

उनीहरु मध्ये एउटा मानिसले जवाफ दियो, ‘म आफैं ती टुरिष्ट लिएर आएको हूँ । मैले किन झूठो बोलुँला र म्याम ।’

उनीहरुको कुरा सुनेर कनिकालाई सरकारसँग रीस उठ्यो । त्यो सडक हेर्ने हाकिमलाई फोन गरेर आफूले जानेजति गाली ओइर्‍याउन मन लाग्यो । रीस बढी जाग्नु भन्दा अघि उसले व्रेकफाष्ट खाइसकी। त्यसपछि एक कप कफी रुममा ल्याइ दिन रिक्वेष्ट गरी र कोठातिर उक्लिइ। बस्न त उसलाई रेष्टुराँ नै रमाइलो लागेको थियो। 

तर, त्यो नो स्मोकिंग जोन थियो।

(तीन दशकदेखि निरन्तर लेखिएको किशोर नेपालको कान्तिपुर गाथा तन्नेरी पुस्ताले रुचाएको लोकप्रिय सिर्जना हो। परम्पराका नाममा हुर्काइएका पाखण्डमाथि कटाक्ष र स्वतन्त्र बाँच्न चाहने तन्नेरी पुस्ताको यायावरी जीवनको वर्णन गाथाको मुख्य पक्ष हो। टेलिसिरियल शैलीमा लेखिएका गाथा अब हरेक हप्ता पहिलोपोस्टमा)


यो सिरिजका अन्य गाथा-



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell