PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

मलेसिया जाने कामदारले थप २८ सय तिर्नुपर्ने, कामदार पठाउन बन्द गर्नेबारे छलफल



पहिलोपोस्ट

मलेसिया जाने कामदारले थप २८ सय तिर्नुपर्ने, कामदार पठाउन बन्द गर्नेबारे छलफल

काठमाडौं :  मलेसिया जाने नेपाली कामदारले प्रवेशाज्ञा प्रक्रियाका नाममा थप २ हजार ८ सय रुपैयाँ बढी तिर्नुपर्ने भएको छ।
 
नेपालस्थित मलेसियाली दूतावासले सूचना जारी गर्दै ‘वान स्टेप सेन्टर’प्रणाली अन्तर्गत मलेसियाको प्रवेशाज्ञा प्रक्रियाका लागि अब ६ हजार ७ सय लाग्ने जनाएको हो। प्रवेशाज्ञा शुल्क ७ सय मात्रै भए पनि बिचौलियाको चलखेलका कारण विभिन्न शीर्षकमा नेपालीबाट बढी रकम असुली भइरहेको छ।
 
दुई वर्षअघिसम्म मलेसियाको प्रवेशाज्ञाका लागि ७ सय रुपैयाँ मात्रै लाग्ने गरेकामा भिएलएन नेपाल नामक कम्पनीले प्रवेशाज्ञाका लागि राहदानी र कागजपत्र सङ्कलन गर्ने भन्दै ३ हजार २ सय थप लिएर नेपालीबाट ३ हजार ३ सय असुलिरहेको थियो। अब २ हजार ८ सय थप भएपछि कामदारले ६ हजार ७ सय रुपैयाँ तिर्नुपर्ने भएको हो।
 
भिएलएन नेपाल अवैध ढङ्गले सञ्चालन भइरहेको जनाउँदै व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले त्यसलाई खारेज गर्न श्रम तथा रोजगार मन्त्रालयलाई एक वर्षअघि नै निर्देशन दिए पनि हालसम्म कार्यान्वयन गरिएको छैन।
 
वैदेशिक रोजगार व्यवसायी सङ्घका उपाध्यक्ष कुमुद खनालले नेपाल सरकारले कूटनीतिक पहल गर्न नसकेकै कारण मलेसिया जाने नेपाली कामदारबाट विभिन्न शीर्षकमा एकपछि अर्को बढी रकम असुलिएको जिकिर गरे। उनले यसअघि भिएलएनले अवैध रुपले लिइरहेको ३ हजार २ सय कायम राख्दै थप रकम वृद्धि भएकाले नेपाल सरकारले त्यो स्वीकार गर्दैनौँ भनेर स्पष्ट रुपमा मलेसिया सरकारलाई भन्न सक्नुपर्ने बताए।
 
उनले मलेसिया सरकारले नभई बिचौलियाले राहदानी सङ्कलन गर्ने भन्दै विभिन्न नामका कार्यक्रम ल्याउने र बढी रकम असुल्ने कार्य भइरहेकाले सोविरुद्ध मलेसियामा कामदार पठाउन बन्द गर्नेसम्मका कार्यक्रम सङ्घले ल्याउनेबारे छलफल भइरहेको जानकारी दिएका छन्। यसअघि पुल्चोकस्थित दूतावासबाट मलेसियाले प्रवेशाज्ञा दिँदै आएकामा ‘वान स्टेप सेन्टर’प्रणाली अन्तर्गत अब लैनचौरबाट प्रवेशाज्ञाको कागजत्रपत्र लिने र प्रवेशाज्ञा दिने व्यवस्था गरिनेछ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell