PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

बिपी जसले ‘प्रत्येक नेपालीले गाई पालेर दुई छाक खान पुग्ने’ अवस्थाको समाजवाद कल्पना गरे



पहिलोपोस्ट

बिपी जसले ‘प्रत्येक नेपालीले गाई पालेर दुई छाक खान पुग्ने’ अवस्थाको समाजवाद कल्पना गरे

काठमाडौं : जननेता तथा साहित्यकार विश्वेवश्वरप्रसाद कोइरालाको १०३ औँ जन्मजयन्ती आज मनाइँदैछ।
 
नेपालको राजनीतिक विकास क्रममा आदर्श राजनीतिज्ञका रुपमा स्थापित कोइरालाको जन्म १९७१ साल भदौ २४ गते बनारसमा भएको थियो। कोइरालाले नेपाली जनतालाई अधिकार उपलब्ध गराउन जहानियाँ राणा शासनविरुद्ध सङ्घर्ष गरेका थिए। उनले भारतको स्वतन्त्रताका लागि समेत सङ्घर्ष गरेका थिए। 
 
उनले पटकपटक गरी करिब १२ वर्ष कारागार जीवन बिताएका थिए। २००७ सालअगाडि भद्रगोल नजिकैको कारागार जीवनमा रहेका बिपी नेपाली समाजको गतिशीलता र प्रगतिका लागि चिन्तित हुने गर्थे। उनले साथीहरुसँग मिलेर २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरेर २००६ मा सुवर्णशमशेरले स्थापना गरेको नेपाली प्रजातान्त्रिक कांग्रेससँग एकीकरण गरी सभापति बन्न पुगे। २००७ मा अन्तिम राणा प्रधानमन्त्री मोहनशमशेरको मन्त्रिपरिषदमा उनी गृहमन्त्री बने। 
 
२०१५ फागुन ७ मा भएको संसद्को निर्वाचनमा पार्टीलाई बहुमत दिलाई उनी पहिलो जननिर्वाचित प्रधानमन्त्री भई मुलुकको नेतृत्व तहमा पुगे। १०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले उनको सरकारलाई अपदस्थ गरेपछि २०१७ देखि ०२५ सालसम्म बिपीले सुन्दरीजलस्थित बन्दीगृहमा गुजार्नुपरेको थियो। नेपाली कांग्रेसका नेता तीर्थराम डङ्गोल सम्झिन्छन्, 'कोइराला नेपाली राजनीतिका शिखर पुरुष हुनुहुन्छ, उहाँको निष्ठाको आदर्शलाई सबै दलले बुझेर नेपालको राजनीतिलाई अगाडि बढाउनुपर्छ।'
 
तत्कालीन राजाको सो कदमपछि प्रजातान्त्रिक समाजवादका संस्थापक नेता भारतमा निर्वासित हुनपरेकाले नेपाली समाजलाई प्रजातान्त्रिक अभ्यास र समयसापेक्ष प्रगति कायम गर्न अवरोध पुगेको थियो। कोइरालाको दर्शन तथा चिन्तनलाई स्वयं कांग्रेसले छाड्दै गएको अवस्थामा उनलाई वर्षमा एक दिन सम्झेर मात्र खासै अर्थ नहुने डङ्गोलको भनाइ छ। भारतमा निर्वासित रहँदा पनि नेपालमाथि विदेशीको षड्यन्त्र भइरहेको थाहा पाएपछि राष्ट्रिय मेलमिलापको नीति लिएर कोइराला २०३३ सालमा नेपाल फर्किए। त्यसपछि पनि उनलाई सुन्दरीजलमा दुई वर्ष कारागार जीवन बिताउन बाध्य बनाइयो।

कांग्रेसका केन्द्रीय सदस्य पुष्पा भुसालले कोइरालाले नेपाली समाजलाई देखाएको बाटोमा विभिन्न राजनीतिक दल समन्वय र सहकार्य गरी हिँड्न सकेमा देशको उन्नति तथा जनताको भलो हुने बताइन्। 
 
बिपीको समाजवादमा ‘प्रत्येक नेपालीले गाई पालेर दुई छाक खान पुग्ने’ अवस्थाको परिकल्पना गरिएको छ। प्रत्येक गाउँमा विद्यालय र अस्पतालको समेत कल्पना गरिएको कांग्रेसका नेता तथा सांसद सञ्जय गौतम बताउँछन्।
 
बिपी सफल राजनीतिज्ञका साथै सफल साहित्यकार समेत थिए। उनका ‘दोषी चस्मा’कथासङ्ग्रह, ‘सुम्निमा’, ‘मोदिआइन’, ‘तीन घुम्ती’, ‘हिट्लर र यहुदी’, ‘बाबु, आमा र छोरा’, ‘नरेन्द्र दाइ’उपन्यास र आत्मवृतान्त प्रकाशित छन्। उनको २०३९ साउन ६ गते काठमाडौँमा निधन भएको थियो।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell