PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

मानव तस्करको अन्तर्राष्ट्रिय सञ्जाल, अमेरिका पठाउन यस्ता छन् तीन रुट



सविन ढकाल

मानव तस्करको अन्तर्राष्ट्रिय सञ्जाल, अमेरिका पठाउन यस्ता छन् तीन रुट

 
काठमाडौं : महानगरीय प्रहरी अपराध महाशाखा टोलीले अवैध रुपमा मानव ओसारपसारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ। रुकुम माग्मा गाविस-१ घर भई ललितपुर बस्ने ३२ वर्षीय नवीन भनिने नवराज खत्री र बाग्लुङ रिगागा गाविस-८ घर भई काठमाडौं लैनचौर बस्ने ३७ वर्षीय सागर शिरीषलाई पक्राउ परेका हुन्।

उनीहरु अन्तर्राष्ट्रिय रुपमा सञ्जाल बनाई मानव तस्करीमा रहेको प्रहरी अनुसन्धानले देखाएको छ। नेपालबाट अमेरिका पुर्‍याइदिने भन्दै विभिन्न व्यक्तिबाट उनीहरुले २० देखि ३० लाखसम्म लिँदै आएको महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए
 
भदौ १७ गते नवलपरासी रुपौलिया गाविस ९ बस्ने २८ वर्षीय प्रेमनारायण महतो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परे। उनको साथबाट प्रहरीले ४० हजार युएस डलर समेत बरामद गरेको थियो। अवैध रुपमा डलर विदेश लान खोजेको बुझिएपछि निजलाई राजस्व अनुसन्धान विभाग पुल्चोक लालितपुरबाट अनुसन्धान भयो। अनुसन्धान क्रममा निजलाई खत्री र शिरीषले नै २० लाख रुपैयाँ लिएर दिल्ली, बैंकक, जापान, मेक्सिको हुँदै अमेरिका पठाउन लागेको खुल्यो।
 
मानव तस्करी भइरहेको थाहा पाएपछि प्रहरीले गोप्य रुपमा अनुसन्धान गर्दा नै खत्री र शिरीष पक्राउ परेका हुन्।
 

मानव तस्करीको ३ रुट

रुट नम्बर १
मानव तस्करीलाई प्रयोग गर्ने रुटमा काठमाडौं–दिल्ली–फ्रान्स– मेक्सिको– अमेरिका रहेको छ। नवराज खत्रीले विभिन्न देशको रुटबाट अन्तर्राष्ट्रिय सञ्जालमार्फत मानव तस्करी गर्न काठमाडौंमा विभिन्न व्यक्ति जम्मा गरी ३० लाखसम्म लिई दिल्ली पठाउने गरेको खुलेको छ।
 
दिल्लीमा रहेको एजेन्टले उनले पठाएका मनिस रिसिभ गरेर बैंकक पठाउँछन्। बैंककमा रहेको एजेन्टले फ्रान्स ट्रान्जिट बनाई मेक्सिको पठाउने गरेको प्रहरी अनुसन्धानले देखाएको छ। मेक्सिको पुगेपछि सबै अलपत्र पर्ने गरेका छन्।
 
त्यहाँको प्रहरीले उनीहरुलाई पक्राउ गरी थुनामा रख्ने गरेको छ। थुनाबाट एजेन्टले नै कानुन व्यवसायीलाई सम्पर्क गराई १० हजार डलर दिएर कानुनी प्रक्रिया मिलाएपछि अमेरिकाको टेक्सासस्थित शरणार्थी क्यामपा राख्ने व्यवस्था मिलाउने गरेको देखिन्छ।
 
 
रुट नम्बर २
मानव तस्करहरुले प्रयोग गर्ने अर्को रुटमा काठमाडौ–दिल्ली–जापान–मेक्सिको हुँदै अमेरिका हो।
 
मानव तस्करले काठमाडौंको एयरपोर्ट हुँदै दिल्ली पठाउँछन्। त्यहाँको एजेन्टले जापानमा र त्यहाँबाट मेक्सिको पठाउने गरिन्छ। मेक्सिको पुगेपछि ती व्यक्ति अलपत्र पर्छन्। त्यहाँ उनीहरु पक्राउ परेपछि एजेन्टले कानुन व्यवसायीलाई सम्पर्क गराई १० हजार डलर दिएर अमेरिकाको टेक्सास शरणर्थी क्याम्प पुर्‍याउँछन्।
 
रुट नम्बर ३
मानव तस्करका लागि प्रयोग गर्ने तेस्रो रुट काठमाडौं–सिंगापुर–मेक्सिको हुँदै अमेरिका हो।

पक्राउ परेका दुईको बयानका आधारमा उनीहरुले काठमाडौंको एयरपोर्ट हुँदै दिल्ली-सिंगापुर-जापान र अन्त्यमा मेक्सिको नै पुर्‍याउँदै आएको देखिन्छ। त्यहाँ बिचल्ली भएपछि प्रहरीले समात्ने र थुनाबाट एजेन्टले नै कानुन व्यवसायीलाई सम्पर्क गरी १० हजार डलर तिरेर कानुनी प्रक्रिया अमेरिका पठाउने गरिएको छ।

'उनीहरुको अन्तिम गन्तव्य नै अमेरिका टेक्सासमा रहेको शरणार्थी क्याम्प हो। त्यहाँ पुर्‍याएपछि भने मानव तस्कर उद्देश्य पूरा भएको ठान्छन्.' महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell