PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

रियल मड्रिड र एथ्लेटिको मड्रिडले २०१८ सम्म खेलाडी किन्न नपाउने



पहिलोपोस्ट

रियल मड्रिड र एथ्लेटिको मड्रिडले २०१८ सम्म खेलाडी किन्न नपाउने

मड्रिडका दुई क्लबले आगामी दुई वर्षसम्म खेलाडी किन्न नपाउने भएका छन्।
 
यी दुई क्लबले फिफासँग गरेको अपिल खारेज भएसँगै सन् २०१८ सम्म ट्रान्सफर विन्डोमा खेलाडी किन्न नपाउने हुन्। रियल र एथ्लेटिको मड्रिडले २०१८ को जनवरीसम्म खेलाडी किन्न पाउँदैनन्।
 
दुई क्लबले खेलाडी किन्न नपाउने विश्व फुटबलको सर्वोच्च निकायको निर्णयविरुद्ध अपिल गरेको थियो। तर १८ वर्षभन्दा कम उमेरका विदेशी खेलाडी किन्दा नियम उल्लङ्घन गरेको भन्दै फिफाको अपिल कमिटीले अपिल खारेको हो।
 
फिफाले सुरुमा गत जनवरीमै यसबारे निर्णय गरेको थियो। तर अपिल कमिटीले तत्कालका लागि यस प्रक्रियालाई रोकिदियो।
 
अब स्पानिस क्लबले कोर्ट अफ आर्बिटेसन फर स्पोर्ट्मा अपिल गर्न पाउनेछन्।
'दुबै क्लबलाई खेलाडी ट्रान्सफरमा प्रतिबन्ध लागेसँगै अब अर्को दुई वर्षसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा कुनै पनि खेलाडीलाई क्लबमा दर्ता गर्न पाइनेछैन,' फिफाले जारी गरेको स्टेटमेन्टमा उल्लेख छ।
 
एथ्लेटिकोलाई ९ लाख स्वीस फ्रान्स जरिवाना लगाइएको छ भने रियललाई ३ लाख ६० हजार रकम तिर्न भनिएको छ।
 
सन् २०१४ को अप्रिलमा बार्सिलोनालाई पनि १८ वर्षमुनिका खेलाडी किन्दा नियम तोडेको भन्दै दुई वर्ष खेलाडी खरिद गर्नबाट प्रतिबन्ध लगाइएको थियो।

यस सिजनको समरमा रियलले आफ्नै पूर्व खेलाडी अलभारो मोराटालाई युभेन्ट्सबाट क्लब भित्राएको थियो भने लोनमा फ्रेन्च क्लब मार्से गएका ब्राजिलियन मिडफिल्डर लुकास शिल्भा पनि क्लब फर्किसकेका छन्।
 
यस्तै एथ्लेटिकोले फ्रेन्च फरवार्ड केभिन गमेइरो, क्रोसियन डिफेन्डर सिम भिसाल्ज्को, इटलीयन विङ्गर अलेसिया सेर्सी र अर्जेन्टाइन मिडफिल्डर निकोलस गाइटललाई क्लब भित्राएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell