काठमाडौँ : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो संसद मार्फत जनतालाई गरेको सम्बोधन 'इच्छा पत्र, चाहाना पत्र जस्तो' मात्र भएको टिप्पणी गरेका छन्।
संसदको बैठकमा रावलले प्रधानमन्त्रीको प्रस्ताव नीति तथा कार्यक्रम र बजेट पास गरेपछि आएको उल्लेख गर्दै संविधानको कुन धारा र संसदको कुन नियमावली अनुसार आएको हो? स्पष्ट गर्न माग गरे।
'संसदबाट पारित गर्नुअगाडि सार्नुभएको हो कि, त्यस्तो देखिएन', रावलले भने, 'इच्छा पत्र चाहाना पत्र जस्तो लाग्यो।' उनले प्रधानमन्त्रीले आफ्नो आसन्न भारत भ्रमणको सिलसिला संसदलाई जानकारी गराउने आशा गरेको उल्लेख गरे।
रावलले विगतको सरकारलाई प्रधानमन्त्रीले तपाईंले बजेट कताबाट जुटाउनुहुन्छ? भन्ने प्रश्न गर्नुभएको स्मरण गर्दै अहिले आफूले त्यो प्रश्न गर्न आवश्यक नठानेको बताए।
राप्रपा नेपालका भाष्कर भद्राले प्रधानमन्त्रीले संसदमा राखेको वक्तव्य नीति तथा कार्यक्रम र बजेट जस्तो देखिएको भनाइ राखे। 'नयाँ सरकार आएपछि नयाँ नीति तथा कार्यक्रम जस्तो', उनले भने, 'विगतको कार्यक्रममा पैसा थप भएको र नयाँ कार्यक्रम थप भएको अवस्थामा बजेट कसरी व्यवस्था हुने हो, अर्थमन्त्रीबाट प्रष्ट पार्ने काम होस्।'