
विश्व नम्बर एक महिला टेनिस खेलाडी सेरेना विलियम्सलाई दोहोरो झड्का लागेको छ। वर्षको चौथो तथा अन्तिम ग्राण्डस्लाम जित्ने तरखरमा रहेकी अमेरिकी सेरेना सेमिफाइनलमै पराजित भइन्। यस्तै युएस ओपन पछि सेरेनाले महिलातर्फको शीर्ष वरीयता समेत गुमाउने भएकी हुन्।
युएस ओपनको सेमिफाइनलमा सेरेना दशौं वरियता प्राप्त चेक खेलाडी कारोलिना ल्सिकोभोसँग २-० को सोझो सेटमा पराजित भइन्।
३४ वर्षे सेरेनाले म्याच प्वाइन्टमा डबल फल्ट गर्दा खेल ६-२ र ७-६ ले हारिन्।
'आज कारोलिनाले एकदमै राम्रो खेलिन्,' हारपछि सेरेनाले प्रतिक्रिया दिँदै भनिन्। उनले प्रतियोगिता सुरु हुनु अघि आफ्नो देब्रे घुँडामा समस्या रहेको समेत बताइन्।
'यदि उनले यो भन्दा अलि नराम्रो खेलेको भए मैले अवसर पाउँथे। मेरो विचारमा म शतप्रतिशत फिट थिइन्। उनले पनि राम्रो खेलिन्। त्यसैले कारोलिना नै जितको हकदार समेत रहिन्,' सेरेनाले भनिन्।
पहिलो पटक ग्राण्डस्लाम टेनिसको फाइनलमा पुगेकी कारोलिनाले उपाधि भिडन्तमा विश्व नम्वर दुई जर्मन खेलाडी एन्जेलिक करबरसँग खेल्नेछिन्।
सेरेना सेमिफाइनलमा पराजित भएसँगै युएस ओपनपछि आउने नयाँ वरियतामा करबर नयाँ विश्व नम्बर एक खेलाडी बन्ने पक्का भएको छ।
अष्ट्रेलियन ओपन च्याम्पियन करबर डेनिस खेलाडी क्यारोलिना वाज्नीयाकीलाई ६-३ र ६-४ को सोझो सेटमा पराजित गर्दै सन् २०१६ को तेस्रो ग्राण्डस्लामको फाइनलमा पुगेकी हुन्।