
काठमाडौं : भारतीय जनता पार्टीका नेता रघुनन्दन शर्माले नेपालमा संवैधानिक रुपमा भएको व्यवस्थाविरुद्ध अभिव्यक्ति दिएका छन्। उनले संविधानले व्यवस्था गरेको धर्म निरपेक्षतामाथि प्रश्न उठाउँदै त्यसले नेपालको राष्ट्रिय एकता, सार्वभौमिकता र अखण्तालाई नै खल्बल्याउने चेतावनी दिए।
वीपी विचार समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता शर्माले नेपालले अवल्म्बन गरेको धर्म निरपेक्षता नसच्याएर सार्वभौमिकता संकटमा पर्न बढीमा एक दशक लाग्ने बताए।
‘धर्म निरपेक्षताले आगामी दशकमा नेपालको सार्वभौमिकता एकता र राष्ट्रिय अखण्डतामा खल्बल्याउँछ,’ शर्माले भने, ‘यसले नेपालको अस्तित्वलाई नै खतरामा पार्न सक्छ।’ उनले पूर्वीय दर्शनको संरक्षणमा नेपाल नै मातृ मुलुक भएको भन्दै भारत त्यसको अनुयायी मात्र भएको बताए।
‘त्यसैले नेपालका सनातन धर्म मान्ने ओमकार परिवार सबै एकताबद्ध भएर सनातन धर्म संस्कृतिको संरक्षणका लागि एक जुट हुन आवश्यक छ,’ शर्माले भने।
‘नेपाल सनातन संस्कृतिको मातृ मुलुक हो। भारत त्यसको अनुयायी मात्र,’ शर्माले थपे, ‘नेपालले देवनागरिक लिपी संरक्षण गरेर पूर्वीय संस्कृतिलाई नै जोगाएको छ। यो सम्पूर्ण भारतवर्षका लागि गर्वको विषय हो।’