काठमाडौंः नेपालले बेलायतको म्यान्चेस्टर एरेनास्थित एक कन्सर्टमा सोमबार राति भएको आतङ्ककारी हमलाको निन्दा गरेको छ ।
परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले बेलायतका विदेशमन्त्री बोरिस जोनसोनलाई आज पत्र लेखी हमलामा परी ठूलो मानवीय क्षति भएको समाचारले आफू र नेपाल सरकारलाई अत्यन्त दुःखी बनाएको बताएका छन् ।
उनले दुःखद घडीमा आफू, नेपाल सरकार र नेपाली जनताकातर्फबाट बेलायती सरकार र जनताप्रति समवेदना प्रकट गरेका छन् ।
मन्त्री महतले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवारजनप्रति समवेदना प्रकट गर्दै घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
उनले नेपाल सधैँ सबैखाले आतङ्ककारी क्रियाकलापको विरुद्धमा छ भन्दै पत्रमा आतङ्ककारीकाविरुद्धमा गरिने कारबाहीमा नेपाल बेलायत सरकार र बेलायती नागरिकका पक्षमा उभिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बीबीसीका अनुसार घटनामा २२ जनाको मृत्यु भएको छ भने ५९ जना घाइते भएका छन्। रासस