
सोल : उत्तर कोरियाले पुङग्येरी स्थित आफ्नो प्रमुख परीक्षण केन्द्रबाट शुक्रबार बिहान पारमाणविक शक्ति परीक्षण गरेको छ। यो पाँचौं पटकको भएको दाबी गरिएको छ।
सोलको सैनिक स्रोतका अनुसार यस परीक्षणको क्रममा पुङग्येरी क्षेत्र वरिपरि टाढासम्म ५.० रिक्टर स्केलको कृत्रिम भूकम्पको महसुस गरिएको थियो।
उत्तर कोरियाले गरेको यस पारमाणविक परिक्षणले ल्याएको ५.० रिक्टर स्केलको कम्पनले १० हजार टन सम्मको विस्फोटन शक्ति उत्पन्न गर्ने दाबी दक्षिण कोरियाले गरेको छ। यसअघि चौथो पटकमा गरिएको परीक्षणमा ६ हजार टन सम्मको विस्फोटन शक्ति उत्पन्न भएको अनुमान गरिएको थियो।
उत्तर कोरियाले गरेको पाँचौं पारमाणविक बम परीक्षणको दक्षिण कोरियाका राष्ट्रपति पार्क गेयुन हाईले कडा निन्दा गरेकी छन्।
लाओसको राजधानी भिएनटिएनमा पूर्वी एसियाली राष्ट्रहरुको शिखर सम्मेलन (इएएस) मा भाग लिने क्रममा त्यहाँ रहेकी पार्कले यसै वर्षभित्र उत्तर कोरियाले गरेको यो दोस्रो पटकको पारमाणविक बम परीक्षण भएको बताइन्।
यसअघि गत जनवरीमा पनि उत्तर कोरियाले यस्तै परिक्षण गरेको र संख्याका हिसाबले त्यस परीक्षण चौथो पटकको थियो। उत्तर कोरियाले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदका संकल्प प्रस्तावको बारम्बार अवहेलना र उल्लङ्घन गर्दै अन्तर्राष्ट्रिय जगतलाई सशक्त चुनौति दिइरहेको पनि राष्ट्रपति पार्कले आरोप लगाइन्।
उत्तर कोरियाले भने शुक्रबार गरेको परमाणु परीक्षणको पुष्टि गरेको छैन।
उत्तर कोरियाले यसअघि सन् २००६, २००९, २०१३ र यसै वर्षको जनवरीमा गरी चारवटा शक्तिशाली परमाणु बम परिक्षण गरिसकेको छ।
उत्तर कोरियाले गत सोमबार पनि आफ्नो पूर्वी सामुन्द्रिक तट बाहिर तीन वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरी परीक्षण गरेको थियो।
दुई हप्ताअघि अर्थात् अगस्ट २४ का दिन उत्तर कोरियाले पनडुब्बी जहाजबाट प्रहार गर्न सकिने ५०० किलो मिटर प्रहार क्षमता दुरी भएको क्षेप्यास्त्र यसैगरी परीक्षण गरेको थियो। सिन्ह्वा/एएफपी