
- जोन हल्ट
शिक्षा त्यो चीज हो, जो व्यक्तिले स्वयंलाई दिन्छ; त्यो चीज होइन, जो अरू कसैले उसलाई देओस्। तर आज दुनियाँभरि शिक्षालाई ठीक उल्टो रूपमा परिभाषित गरिन्छ; जस अनुसार शिक्षा त्यो चीज हो, जो केही व्यक्तिले अरूलाई उसको भलाइका लागि दिन्छन्; शिक्षा मार्फत उसलाई त्यो सिकाउने प्रयास गर्छन्, जो उनीहरूको दृष्टिमा उसले जान्नुपर्छ। म यस्तो ‘शिक्षा’ को पूर्णतः विपक्षमा छु।
बाँच्न पाउने अधिकार पछि हाम्रो सबैभन्दा महत्वपूर्ण र आधारभूत मानव अधिकार आफ्नो दिमाग र विचारमा नियन्त्रण गर्न पाउने अधिकार हो। यसको अर्थ के हो भने, आफू वरिपरिको दुनियाँलाई कसरी हेर्ने र बुझ्ने, आफू र अरूहरूको अनुभवका बारेमा कसरी सोच्ने, जीवनको अर्थ कसरी खोज्ने र त्यसलाई कस्तो बनाउने भनेर आफ्ना निम्ति निर्णय गर्ने अधिकार हामी स्वयंसँग छ। हामीलाई ‘शिक्षा’ दिने नाममा कसैले पनि यो अधिकार हामीबाट खोस्छ भने त्यसले हाम्रो अस्तित्वको केन्द्रमा घातक हमला गर्छ र हामीलाई सबैभन्दा गहिरो र स्थायी चोट पुर्याउँछ। समग्रमा उसले हामीलाई भनिरहेको हुन्छ: हामी सोच्न पनि पाउँदैनौं; हामीले आजीवन अरूको सोचाइमा निर्भर हुनुपर्छ; दुनियाँ र जिन्दगीको अर्थ अरूले हामीलाई बताइदिनुपर्छ; आफ्नो अनुभवका आधारमा हामीले यिनको जे अर्थ लगाए पनि त्यसको रत्तीभर मूल्य छैन।
यो कुचक्र हेर्दा मलाई लाग्छ— अनिवार्य र प्रतिस्पर्धापूर्ण स्कूलिङका ढाँचाहरू,, तमाम पुरस्कार, दण्ड, ग्रेड, डिग्री र प्रमाणपत्रहरू आदिबाट सुसज्जित आजको शिक्षा शायद मानवजातिको सबैभन्दा तानाशाहीपूर्ण र खतरनाक सामाजिक आविष्कार हो। यो आधुनिक विश्वव्यापी गुलाम राज्यव्यवस्थाको सबैभन्दा गहिरो जग हो जसमा अधिकांश मानिसहरू आफूलाई उत्पादनकर्ता, उपभोक्ता, दर्शक, प्रशंसक आदिभन्दा बढी केही ठान्दैनन् र जीवनका प्रत्येक क्षेत्रमा लालच, ईष्र्या र भयबाट सञ्चालित हुन्छन्। मेरो चासो वर्तमान ‘शिक्षा’ लाई सुधार गर्नु अथवा अझ राम्रो बनाउनुसँग होइन; बरु यसबाट मुक्ति पाउनुसँग, मानिसलाई एउटा साँचोमा ढाल्ने यो भद्दा तथा मानवविरोधी धन्दा समाप्त पार्नुसँग छ; मानिसलाई स्वयं आफ्नो निर्माण गर्ने स्वतन्त्रता दिनुसँग छ।
केटाकेटीलाई घूस वा प्रलोभन दिइएन, उनीहरूसँग चिप्ला कुरा गरिएन, उनीहरूमाथि दादागिरी गरिएन, तिनलाई धम्क्याइएन, अपमानित गरिएन र चित्त दुखाइएन; तिनलाई एक–अर्का विरुद्ध लगातार यस्तो दौडमा कुदाइएन— जसमा केहीलाई छोडेर अरू सबैले हार्ने निश्चित छ; उनीहरूलाई निरन्तर अक्षम, बेकूफ, अविश्वसनीय, दोषी, भयातुर र लज्जित महसूस गराइएन; तिनको रुचि, चासो र उत्साहलाई बेवास्ता गरिएन, उनीहरूको उपहास गरिएन; र यो सबको साटो उनीहरूलाई एक–अर्कासँग काम गर्ने, एक–अर्काको मदत गर्ने, एक–अर्काबाट सिक्ने, अनि आफूलाई रोचक लाग्ने–रोमाञ्चित गर्ने कुराहरूका बारेमा सोच्ने, कुरा गर्ने, लेख्ने, पढ्ने अनुमति र प्रोत्साहन (चाहेको खण्डमा मदत पनि) प्राप्त भयो भने तिनले बढी राम्रो जीवन जिउनेछन्, बढी सिक्नेछन् अनि उनीहरू यस दुनियाँको सामना गर्न बढी तयार हुनेछन्।
गर्नु नै सिक्नु हो
‘सिक्नु’ शब्दमा एउटा भ्रम लुकेको छ; त्यो के भने— सिक्नु र गर्नु दुइटा बेग्लाबेग्लै क्रिया हुन् । जस्तै, मैले चेलो (सारंगी जस्तो एकखाले पश्चिमेली बाजा) बजाउन थालेको केही वर्ष मात्र भयो; यो वाद्य मलाई औधि मन पर्छ, म यसलाई घण्टौं बजाउँछु र कडा अभ्यास गर्छु; मलाई आशा छ, एक दिन म यसलाई राम्ररी बजाउन सक्नेछु। अधिकतर मानिसले, अहिले मैले गरिरहेको कामलाई ‘चेलो बजाउन सिकेको’ भन्नेछन्। हाम्रो भाषामा यसका निम्ति अर्को शब्द नै छैन। तर यसले हाम्रो दिमागमा ‘चेलो बजाउन सिक्नु’ र ‘चेलो बजाउनु’ दुई सर्वथा अलग प्रक्रिया हुन् भन्ने विचित्रको विचार स्थापित गर्छ। यसको आशय हो— म पहिले प्रथम प्रक्रिया गर्नेछु र त्यसलाई पूरा गर्नेछु; त्यस पछि प्रथम प्रक्रिया रोकेर द्वितीय प्रक्रिया शुरु गर्नेछु। अर्को शब्दमा भन्दा, म ‘बजाउन नसिकुन्जेलसम्म’ ‘बजाउन सिकिरहनेछु’। त्यसपछि, अर्को चरणमा मात्र ‘बजाउन’ थाल्नेछु।स्पष्ट छ, यो तात्तो–न–छारोको बकवाद हो। यी दुई अलग प्रक्रिया होइनन्, एउटै प्रक्रिया हो। हामी कुनै काम गरेर नै त्यसलाई गर्न सिक्छौं। अर्को कुनै तरीका नै छैन। पहिलो पटक कुनै काम गर्दा राम्ररी नगर्न सक्छौं। तर पटक–पटक गरिरह्यौं, हाम्रा सामु अनुकरणका लागि राम्रा ‘मोडल’ उपलब्ध भए, आवश्यकता महसूस हुँदा सहयोग–सल्लाह प्राप्त भयो, हरेक पटक त्यो काम झन्–झन् राम्रो गरी गर्न खोज्यौं भने। समयका क्रममा त्यो काम उत्कृष्ट तवरमा गर्न थाल्छौं। यो प्रक्रिया कहिल्यै समाप्त हुँदैन। उत्कृष्टभन्दा उत्कृष्ट संगीतज्ञ, कलाकार, नर्तक, खेलाडी, शल्यचिकित्सक, विमानचालक आदि सबैले आफ्नो कला वा सीपको निरन्तर अभ्यास गरिरहनुपर्छ; त्यसलाई माझिरहनुपर्छ। उनीहरूले हरेक दिन त्यो काम राम्रोभन्दा राम्रोसँग गर्न ‘सिक्नु’ पर्छ, अन्यथा अलि कम राम्ररी मात्र गर्न सक्नेछन्। कुसेवित्स्कीको नेतृत्वमा रहेको बोस्टन सिम्फोनीका मुख्य बाँसुरीवादक भन्ने गर्दथे, ‘मैले एक दिन अभ्यास छुटाएँ भने त्यसको अन्तर स्वयं सुन्न सक्छु; दुई दिन अभ्यास छुटाएँ भने कुसेवित्स्कीलाई अन्तर थाहा हुन्छ; तीन दिन अभ्यास छुटाएँ भने श्रोताले पनि अन्तर ठम्याउँछन्।’
बच्चाले ‘गर्छ’ सिक्तैन
शिक्षाविदहरू जतिखेर पनि ‘सीप’ को कुरा गरिरहेका हुन्छन् : पढाइको सीप, लेखाइको सीप, सम्प्रेषणको सीप, हुँदाहुँदा सुनाइको सीप। कुनै मुश्किल काम राम्रोसँग गर्दा मानिसले कैयौं सीपको प्रयोग गर्छ भन्नु शब्दको स्तरमा त शायद सही हुन सक्ला। तर यसको अर्थ कुनै कठिन काम सिकाउने सर्वोत्तम तरीका त्यस कामलाई कैयौं फरक–फरक सीपमा बाँडेर ती सीपहरू एक–एक गरेर सिकाउनु हो भन्ने होइन। वर्षौंअघि ह्वाइटहेडले भनेझैं, कुनै काममा समाविष्ट सीपहरूलाई त्यस कामबाट छुट्याउन सकिंदैन; कुनै बच्चाले हिंड्न सिक्नुभन्दा अघि हिंडाइको सीप सिक्तैन। शुरू–शुरूमा उसले डगमगाउँदै पाइला चाल्नु ‘अभ्यास’ होइन। उसले हिंड्ने तयारी गरेको होइन। उसले हिंड्न सिकिरहेको होइन, सिकेपछि हिंडेर कहीं जाने लक्ष्य निर्धारण गरेको छैन। ऊ त हिंडिरहेको छ, किन भने हिंड्न चाहन्छ— त्यसैवेला।‘सीप’ र ‘काम’ लाई छुट्याउन सकिंदैन; हामीले यस्तो प्रयास गर्यौं भने अनर्थ गर्नेछौं। बोल्नु कुनै सीप अथवा सीप–समूह होइन, कार्य हो। यस कार्यका पछाडि उद्देश्य छ। हामी बोल्छौं, किन भने हामी केही भन्न चाहन्छौं, कसैलाई भन्न चाहन्छौं। हामीलाई लाग्छ अथवा हामी आशा गर्छौं— हाम्रा शब्दको केही प्रभाव हुन्छ। भर्खर बोल्न लागेको बच्चाले पनि आफ्नो तीक्ष्ण अवलोकनबाट के बुझिसकेको हुन्छ भने, ठूला मानिसले मुखबाट जुन आवाज निकाल्छन् त्यसबाट कुराहरू घटित हुन्छन्। ठ्याक्कै के घटित हुन्छ र कसरी भन्ने शायद उसले राम्ररी बुझिसकेको हुँदैन। तर, ऊ बोल्ने समूहको सदस्य हुन चाहन्छ; आफ्नो आवाजबाट क्रियाहरू गराउन चाहन्छ।
यसैगरी, पढ्नु पनि कुनै सीप होइन, काम हो। बच्चाले चारैतिर लिखित शब्द देख्छ; ठूला मानिसले ती शब्दलाई हेरेको, तिनबाट अर्थ हासिल गरेको र तिनमा काम गराउने सामथ्र्य रहेको देख्छ। एक दिन (हामीले मौका दियौं भने) उसले शब्दको अर्थ के हो र तिनले के गर्छन् भन्ने पत्ता लगाउने निर्णय गर्छ। र, त्यही क्षण पढ्न शुरू गर्छ। स्पष्ट छ, शुरूमा उसले राम्ररी पढ्न सक्तैन। हुन सक्छ, एउटा शब्द पनि पढ्न नसकोस्। तर उसलाई यही काम जारी राख्न र आफ्नै तरीकाले अनि आफ्नै कारणले लिखित शब्दको अर्थ खोज्न साथै त्यसमा आफूले चाहेको मदत हासिल गर्न स्वतन्त्रता प्राप्त भयो भने; अनि उसले आफ्ना लागि निर्धारित गरेको यो काम खोसेर त्यसको साटो अरू कसैले निर्धारण गरेका र अरूकै हुकुमबाट गरिने तमाम विखण्डित एवं अर्थहीन कामहरू दिइएन भने उसले छिटै नै राम्ररी पढ्न थाल्नेछ।
क्रिया नै ज्ञान हो

अलिक अगाडि बढेर के पनि बुझ्नु राम्रो हुन्छ भने, जुन कुराहरूलाई हामी गल्तीले ‘ज्ञानको भण्डार’, ‘सिकाइका क्षेत्र’, ‘प्राज्ञिक विषय’ अथवा ‘स्कूली विषय’ का रूपमा हेर्छौं ती संज्ञा होइनन्; क्रिया हुन्। यी त्यस्ता वस्तु होइनन् जो कहीं स्वतन्त्र रूपमा अस्तित्वमा छन्; बरु यी ती वस्तु हुन् जसलाई मानिस ‘गर्छन्’। कसैले पनि ‘ल हेर, यो जीव विज्ञान हो, यो गणित हो, यो दर्शनशास्त्र हो’ भनेर देखाउन सक्तैन। कसैले पनि भौतिकशास्त्रतर्फ इशारा गर्न सक्तैन, अथवा हामीलाई रसायनशास्त्र देखाउन सक्तैन। यी चीजहरूको हाम्रो ‘ज्ञान’ यिनीहरूले के गरे अर्थात् यिनीहरूले के प्रश्न गरे, जवाफ खोज्न कसरी अघि बढे, के जवाफ प्राप्त गरे र ती जवाफबाट के निष्कर्ष निकाले भन्ने कुराको अभिलेख हो। यी क्षेत्रमा हामीले जे गर्छौं, त्यो हामीभन्दा पहिले अन्य मानिसहरूबाट गरिएको कामसँग जोडिन्छ, त्यसको हिस्सा हुन पुग्छ। इभान इल्यिचले भनेका थिए, ‘यस दुनियाँमा कुनै ज्ञान छैन, दुनियाँ त जस्तो छ त्यस्तै छ।’ वास्तवमै, ज्ञान जीवित मनुष्यहरूको दिमागको एउटा प्रक्रिया हो। हामी के हौं, कहाँ छौं र हाम्रा वरिपरि के भइरहेको छ भनेर जान्ने प्रयासमा हामी जे जति गर्छौं, त्यही ज्ञान हो।
(शरच्चन्द्र वस्तीद्वारा अनूदित ‘असफल स्कूल’ नामक पुस्तकको अंश। विख्यात अमेरिकी शिक्षाविद् जोन काल्डवेल हल्टको पुस्तक ‘द अन्डरअचीभिङ स्कूल’को यो नेपाली संस्करण सिकाइ समूहले भोलि सार्वजनिक गर्दैछ।)