PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

​एसियन जुनियर टेनिस : महिलातर्फ नेपाली इरा रावत र पुरुषतर्फ भारतका अर्नभ च्याम्पियन



पहिलोपोस्ट

​एसियन जुनियर टेनिस : महिलातर्फ नेपाली इरा रावत र पुरुषतर्फ भारतका अर्नभ च्याम्पियन

काठमाडौं : नेपालकी इरा रावत र भारतका अर्नभ पठाङ्गेले केशा ग्रुप एएनएलटीए एसियन जुनियर टुर यु–१४ र्याङकिङ टुर्नामेन्टअन्तर्गत सर्किट १ को उपाधि जितेका छन्।

केशा ग्रुपको मुख्य प्रायोजन तथा एसियाली टेनिस महासंघको सहयोगमा अखिल नेपाल लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको शुक्रबार सम्पन्न गल्र्स सिंगल्स फाइनलमा इराले भारतकी सम्भावी तिवारीलाई ६–४ र ६–२ को सोझो सेटमा पराजित गरिन्। यस स्पर्धामा भारतकी लक्षण्या श्रीवास्तव तेश्रो, नेपालका प्रेरणा कोइराला चौथो र अभिलाषा विष्ट पाँचौं, भारतकी तनिशा प्राण्जल छैटौं, नेपालका रायना शाह सातौं, प्रियंका चौधरी आठौं र इशाश्री शाह नवौं तथा भारतकी अर्सिया अहमद दसौं स्थानमा रहे।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज फाइनलमा अर्नभले नेपालका आदित सुवेदीलाई ६–२ र ६–२ को सीधा सेटमा हराए। नेपालका सम्यकभूषण वज्राचार्य तेश्रो, भारतका अमितोज सच्देवा चौथो, एम्बिसियस गोल्डस्मिथ पाँचौं र आर्यमन मेहता छैटौं, नेपालका सहर्ष चन्द सातौं तथा भारतका वत्सल श्रीवास्तव आठौं, श्रीकान्त ठाकुर नवौं र शशिकान्त ठाकुर दसौं भए।

विजेतालाई लनटेनिस संघकी अध्यक्ष ज्योति राणा, ललितपुर जिल्ला लनटेनिस संघका अध्यक्ष दीपक कार्की र केशा ग्रुपका अध्यक्ष केशवराज पाण्डेले पुस्कृत गरे। सोमबारदेखि सुरु भएको प्रतियोगितामा २६ ब्वाइज र १८ गल्र्स सहभागी थिए। प्रतियोगिताअन्तर्गत सर्किट २ सोमबारदेखि सुरु हुँदैछ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell