PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

एभरेस्ट प्रिमियर लिग क्रिकेट प्रतियोगिता सेप्टेम्वर २४ देखि, ६ टीमको सहभागिता रहने



पहिलोपोस्ट

एभरेस्ट प्रिमियर लिग क्रिकेट प्रतियोगिता सेप्टेम्वर २४ देखि, ६ टीमको सहभागिता रहने

 काठमाडौं : वाई वाई एभरेस्ट प्रिमियर लिग टी २० क्रिकेट प्रतियोगिता आगामी सेप्टेम्वर २४ देखि हुने भएको छ।

जोहरा स्पोर्ट्स म्यानेजमेन्टको आयोजना र  सिजी फुड्सको प्रायोजनमा नेपाली क्रिकेटको विकासका लागि प्रतियोगिता आयोजना गर्न लागेको हो।

दुई वर्ष अघि एनसेल नेपाल प्रिमियर लिग आयोजना गरेको जोहरा स्पोर्ट्स म्यानेजमेन्टले नयाँ सोचका साथ वाई वाईसँग मिलेर प्रतियोगिता गर्न लागेको जोहराका निर्देशक आमिर अख्तरले बताए।

प्रतियोगितामा ६ टीमको सहभागिता रहनेछ। ६ वटा कर्पोरेट हाउससँगको सहकार्यमा ६ वटा टीम तयार पारिएको हो।

पन्चकन्या ग्रुपको पन्चकन्या तेज, टेलेटक प्रालीको कलर्स एक्स फ्याक्टर, विशाल ग्रपको विशाल वारियर्स, कान्तिपुर पब्लिकेसनको कान्तिपुर गोर्खाज, शंकर ग्रपको जगदम्बा राइनो र घोराही सिमेन्टको सगरमाथा लेजेण्ड्स गरी ६ टीम छन्।
 
यस अघि भएको एनसेल प्रिमियर लिगमा पनि यीनै ६ टीमको सहभागिता हरेको थियो। जगदम्बा जायन्सले भने नाम परिवर्तन गरेर जगदम्बा राइनो बनाएका छन्।

राष्ट्रिय क्रिकेट टीमका कप्तान पारस खड्काले यसअघि जस्तै विशाल वारिर्सको कप्तानी गर्नेछन्। यस्तै पन्चकन्याको तेजको कप्तानमा शरद भेषवाकर, कलर्स एक्स फ्याक्टरको कप्तानमा ज्ञानेन्द्र मल्ल, कान्तिपुर गोर्खाजको कप्तानमा बसन्त रेग्मी, जगदम्बा राइनोको कप्तानमा शक्ति गौचन र सगरमाथा लेजेण्ड्सको कप्तानमा विनोद भण्डारी रहेका छन्।

दुई वर्ष अघि भएको एनसेल प्रिमियर लिगको उपाधि शरद भेषवाकरको टीम पन्चकन्या तेजले जितेको थियो।
 
टी २० फर्म्याटमा खेलाइले प्रतियोगिता राउण्ड रोविन लिगको आधारमा खेलाइनेछ। हरेक टीमले कम्तीमा ५ खेल खेल्नेछन्। लिगपछि शीर्ष दुई स्थानमा रहने टीम बीच फाइनल खेलाइने जोहराका निर्देशक आमिर अख्तरले जानकारी दिए।

खेलाडीहरुको लागि ५४ लाख म्याच फि
यस्तै प्रतियोगितामा सहभागि खेलाडीहरुको लागि हरेक खेलको म्याच फि समेत प्रदान गरिने अख्तरले बताए। हरेक टीमका कप्तानले एक खेल खेले वापत नगद २० हजार पाउनेछन् भने कम्तीमा नेपालको तर्फबाट १५ अन्तर्राष्टि खेल खेलेका खेलाडीले १५ हजार, यु १९ विश्वकप खेलेकाले १२ हजार र क्षेत्रका खेलाडीले ८ हजार प्राप्त गर्नेछन्।

यस्तै खेलाडी र टीमको खाने, बस्ने र यातायातको खर्च समेत आयोजकले नै व्यहोर्ने बताइएको छ।


नेपाली क्रिकेटको पछिल्लो अवस्था, एनसेल प्रिमियर लिगको अन्योलताले गर्दा नयाँ खालको प्रतियोगिता स्वरुप वाई वाई एभरेस्ट प्रिमियर लिग आयोजक गर्न लागेको आमिर अख्तरले बताए।


प्रतियोगिताको मुख्य प्रायोजक रहेको चौधरी ग्रुपका प्रबनध निर्देशक निर्वाण चौधरीले दशक भन्दा बढी समय नेपाली क्रिकेटलाई साथ दिँदै आएको भन्दै नेपाली क्रिकेटको विकासका लागि सहयोग गर्न आफुहरु तयार रहेको बताए।


क्रिकेट टीमका कप्तान पारस खड्काले यो प्रतियोगिता नयाँ सुरुवात रहेको र यस्तो खालको घरेलु प्रतियोगिताले अन्तर्राष्ट्रिय लेभलमा सकरात्मक सन्देश जाने बताए।


यस्तै ६ वटै टीमका मालिकहरुले नयाँ प्रतियोगिताका लागि आफुहरु उत्साहित रहेको बताए। यस प्रतियोगितालाई नेपाली क्रिकेटको एक उत्कृष्ट प्रतियोगिताको रुपमा स्थापित गराउनेमा सबैले जोड दिए।
 
टी २० क्रिकेट प्रतियोगिता सेप्टेम्वर २४ देखि अक्टोबर ३ सम्म कीर्तिपुरस्थि त्रिवि मैदानमा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell