भक्तपुर : तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको सानो ठिमीस्थित घरमा अपरिचित एक व्यक्तिले ठाकुरका छोरी ३२ वर्षीया डा मीनाक्षी ठाकुरलाई आक्रमण गरी ब्रिफकेस लुटेर फरार भएको छ ।
आज राति करिब ७ः३० बजे माक्स लगाएको अपरिचित उक्त व्यक्ति ठाकुरको छोरी र काम गर्ने एक जना केटा मात्रै भएको बेलामा घरमा प्रवेश गरी आक्रमण गरेको प्रहरीले जनाएको छ।
घरमा प्रवेश गरी छोरी डा मीनाक्षीको आँखामा खुर्सानी दलेपछि प्रतिकार गर्न खोज्दा धारिलो हतियार प्रहार गर्दा उनी घाइते भएको प्रहरीले जनाएको छ।
हात र टाउकोमा चोट लागेपछि मीनाक्षीको नयाँ बानेश्वरस्थित एभरेस्ट अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एवम् प्रहरी उपरीक्षक किरण बर्जाचार्यले जनकारी दिए।
आक्रमण गरे लगत्तै नकाबधारी उक्त व्यक्ति अध्यक्ष ठाकुरको कोठामा पसेर कालो ब्रिफकेस लिएर फरार भएको प्रारम्भीक अनुसन्धानमा खुलेको उनले बताए।
प्रहरीले चारवटै नाका बन्द गरी कुकुरसहितको टोलीले फरार व्यक्तिको खोजी गरिरहेको जानकारी दिएको छ। रासस