चितवन : पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–३ पिप्लेमा आज बिहान बस र ट्रक एकापसमा ठोकिँदा ट्रक चालकको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।
ट्रकका चालक बारा गण्डकका ३० वर्षीय हेमन्त खड्काको ट्रकमा च्यापिएको अवस्थामा उद्धार गरेर अस्पताल पुर्याइएपछि उपचार क्रम भरतपुर अस्पतालमा मृत्यु भएको हो। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ। दुर्घटनामा दुवै ट्रक र बसमा सवार चालक, सहचालक र यात्रु घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौँबाट वीरगन्ज जाँदै गरेको ना५ख ३७४३ नंको बस र नारायणगढतर्फ आउँदै गरेको ना६ख ६७९३ नंको ट्रक ठोकिँदा सो दुर्घटना भएको हो। ट्रकको अगाडिका दुवै पाङ्ग्रा ‘पङ्कचर’भएपछि बसमा ठोक्किन पुगेको थियो। प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार ट्रकको पछाडिबाट आउँदै गरेको ना४ख ८३३४ नंको अर्को ट्रक समेत अघिल्लो ट्रकमा ठोक्किएको थियो।
घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। तीमध्ये बारा, कलैयाका ३६ वर्षीय लालबाबु मिया अन्सारी र मधुपुरका २५ वर्षीय सन्देश चौधरी, भारत समरनपिपुरका ३० वर्षीय अशोक गोढाध, भारत रक्सौलका १९ वर्षीय वीर सिंह र अर्का एक गम्भीर घाइतेको नाम ठेगाना नखुलेको प्रहरीले जनाएको छ। रासस