
पर्सा : वीरगन्ज–पथलैया सडकखण्डको छातापिपरस्थित त्रिवेणी फिड इन्ड्रस्टिजमा आज बिहान भएको आगलागीमा एक करोड मूल्यको धनमाल जलेर नोक्सान भएको छ।
विद्युत्को तार सर्ट भई भएको आगलागीमा परी उद्योगमा रहेका उपकरण जलेर नष्ट भएको प्रहरीले जनाएको छ। बिहान ५ बजेदेखि सुरु भएको आगलागी नियन्त्रण गर्न वीरगन्ज तथा बाराको कलैयाबाट आएका वारुणयन्त्रले प्रहरीको सहयोगमा दुई घन्टापछि नियन्त्रण गरिएको इलाका प्रहरी कार्यालय सिमराका इन्चार्ज प्रहरी निरीक्षक गोविन्द कार्कीले जानकारी दिए।
गढीमाई नगरपालिका–८ मा पर्ने दाना उत्पादन गर्ने उद्योगमा आगलागीबाट भएको नोक्सानी हाल यकिन नभए पनि रु एक करोडभन्दा बढीको यन्त्र जलेको अनुमान गरिएको छ।
उद्योगका व्यवस्थापक र प्रहरीको टोली घटनाको छानबिन तथा नोक्सानीको यकिन गर्न लागिपरेको निरीक्षक कार्कीले जानकारी दिए। घटनामा कुनै मानवीय क्षति भने भएको छैन।