
तिलकरत्ने दिल्सानको अन्तिम टी २० खेलमा पनि श्रीलंका अष्ट्रेलियासँग पराजित भएको छ।
शुक्रबार भएको सिरिजको दोस्रो खेलमा अष्ट्रेलियाले श्रीलंकालाई फेरि उसैको मैदानमा ४ विकेटले हरायो। जितसँगै अष्ट्रेलियाले टी २० सिरिज २ ० ले जितेको छ।
दिल्सानले आफ्नो अन्तिम टी २० खेलमा श्रीलंकाका लागि जम्मा १ रन मात्र बनाउने सके भने बलिङतर्फ २ विकेट लिन सफल रहे। यता अष्ट्रेलियाको जितमा भने फेरि एक पटक ग्लेन म्याक्सेवल नायक रहे।
१२९ रनको सामान्य लक्ष्य अष्ट्रेलियाले १३ बल अगावै ६ विकेट गुमाएर भेट्टायो। अष्ट्रेलियाको जितमा म्याक्सवेलले सर्वाधिक ६६ रन बनाए। यस्तै म्याक्सवेलले टी २० मा सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने अष्ट्रेलियन खेलाडीको रेकर्ड समेत बनाए। अष्ट्रेलियाको लागि कप्तान डेविड वार्नरले २५ तथा म्याथु वेडले १४ रनको योगदान गरे। ट्रेभिस हेड ९ तथा पिटर नेभिल ३ रनमा नटआउट रहे।
ब्याटिङमा जम्न नसके पनि दिल्सानले बलिङमा २ विकेट लिएर आफ्नो अन्तिम खेल यादगार बनाए। २ ओभर नै बलिङ गरेका दिल्सानले ८ रन मात्र दिँदै अष्ट्रेलियाका वेड र उस्मान खवाजाको विकेट हात पारे।
कोलोम्वोस्थित आर प्रेमदासा स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२८ रन बनायो। उसका लागि धनन्जय डे शिल्भाले ६२ तथा कुशल परेरराले २२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्।
दिल्सान अन्तिम टी २० खेलमा ३ बल खेल्दै १ रन जोडेर आउट भए।
अष्ट्रेलियाका लागि जेम्स फउकनर र एडम जाम्पाले ३/३ विकेट लिए भने जोन हास्टिङले २ तथा मिचेल स्टार्कले १ विकेट लिए।
दुवै टी २० खेलमा निर्णायक प्रदर्शन गरेका ग्लेन म्याक्वेल म्यान अफ दि सिरिज घोषित भए। पहिलो टी २० मा शानदार शतक प्रहार गरेका म्याक्सवेलले दुवै खेलको म्यान अफ दि म्याच समेत चुनिए।
पहिलो टी २० मा अष्ट्रेलिया ८५ रनले विजयी भएको थियो।
श्रीलंकाले अष्ट्रेलिया विरुद्धको टेष्ट सिरिज क्लिनसिप गरेपनि वान डे र टी २० सिरिज भने अष्ट्रेलियाले जित्यो। पाँच खेलको वान डे सिरिज अष्ट्रेलियाले ४-१ ले आफ्नो पक्षमा पारेको हो।
यसअघि नै वान डे क्रिकेटबाट सन्यास लिइसकेका दिल्सानको यो नै श्रीलंकाको लागि अन्तिम खेल भएको बताएका थिए।
अन्तिम खेलमा उनलाई श्रीलंकन खेलाडीहरुले ब्याट माथि उठाएर गार्ड अफ अनरको सम्मान दिएका थिए।
३९ वर्षे दिल्सानले सन् २००६ मा इंगल्याण्ड विरुद्ध टी २० मा डेब्यु गरेका दिल्सानले ८० अन्तर्राष्ट्रिय खेलमा १ हजार ८ सय ८९ रन बनाएका छन्। यस्तै बलिङमा पनि ९ विकेट लिएका छन्।