PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

कविता : जिउँदै झुन्ड्याऊ मलाई!



पहिलोपोस्ट

कविता : जिउँदै झुन्ड्याऊ मलाई!

  • आभास कर्माचार्य 

माफ पाऊँ हजुर म माफी माग्दिन
तिम्रो बाटोमा हिँड्न जान्दिन
जिउन नसिकाऊ तिमी मेरो आत्मा जलाई 
बेफिक्री आऊ, बरु जिउँदै झुन्ड्याऊ मलाई

मैले जानी-जानी तिमी हिँड्ने बाटो बिराएँ
मेरा छुद्र शब्दहरुका काँडा ओछ्याएँ
यो षड्यन्त्र नै हो, तिमीलाई फसाउने
तिम्रो बगानहरुको जरा उखाल्ने
जिउदै नछोड़ मलाई, म आगो सल्काउँदैछु  
तिम्रो मन्दिरको ढुङ्गाको चिता सजाउँदैछु

हो म पागल साथी
म रातोलाई निलो देख्छु
सेतोलाई कालो
म अन्धाको रङ चिन्छु
हावाको आकार देख्छु 
मेरो वसन्तमा
फूलहरु मुर्झाउँछन्
मेरो आँगन हिउँदको
नाङ्गो झारले सजाउँछ

म ईश्वरलाई चर्चमा झुन्ड्याउँछु
ईशुलाई बागमतीमा बगाउँछु 
अल्लाहलाई गुम्बामा पठाउँछु 
बुद्धलाई बलि दिन लगाउँछु
मेरो भगवान् स्वरुप छैन
बेघर, अदृश्य, निराकार
र निर्वस्त्र हिँड्छन उनी

मलाई रोक साथी, हिउँद आउँदैछ
जाड़ो बढ्दैछ, आगो बाल्नुछ 
म इतिहासका प्रत्येक पाना च्यात्नेछु
वेद, बाइबल, गीता, कुरानलाई
एउटै कात्रोमा जलाउनेछु

तिम्रा पूर्णविराममा प्रश्न ठड्याउनेछु
कथित सत्यका पर्दा उठाउनेछु
अनि चार मिटर कपड़ा तिम्रो निधारमा बेर्नेछु
विछिप्त छौ तिमी रगतले
तिम्रो सोचको महिनावारी रोक्नेछु  

मेरा आँखा फुटाइदेऊ
ओठ च्यातिदेऊ, औंला भाँचिदेऊ
मृत्य मेरो सत्य, सत्यसँग भय छैन मलाई
पासो ल्याऊ अब तिमी, जिउदै झुन्ड्याऊ मलाई

(तस्वीर सौजन्य : सुजन गौतम)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell