PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

उपत्यकाका नदीबाट एकै दिनमा १८ मेट्रिक टन फोहर व्यवस्थापन



पहिलोपोस्ट

काठमाडौँ : उपत्यकाका प्रमुख नदी सफाइ गरी १८ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ।
 
बागमती सफाइ महाअभियानको १७४ औँ हप्तामा आज टेकु दोभानमा सफाइ गरी ६ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ। सफाइका क्रममा बङ्गुरलगायत चौपाया बध गरी रगत नदीमा बगाउनेको अनुगमन काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङ नेतृत्वको समूहले गरेको थियो।
 
सफाइमा अधिकार सम्पन्न बागमती समिति, कामनपा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, पचलीघाटस्थित चिन्तामणि महिला क्लबलगायत विद्यार्थीको पनि सहभागिता थियो। बागमती किनारस्थित पचलीघाटमा बागमती समिति, महानगरपालिका र चिन्तामणि महिला क्लबको सहकार्यमा उद्यान निर्माण गरी नदी संरक्षणमा सहयोग पुर्‍याउने सहमति भएको अधिकार सम्पन्न बागमती आयोजनाका निर्देशक राजेशप्रसाद सिंहले जानकारी दिए।
  
'उद्यानका लागि महानगरपालिकालाई नमुना लागत (डिजाइन इस्टमेट) गर्ने अधिकार दिइएको छ,' उनले भने, 'उद्यान निर्माणपछि नदी किनारको सार्वजनिक जग्गा संरक्षण हुनुका साथै बागमतीलाई सफा बनाउन पनि सहयोग मिल्ने आशा गरिएको छ।'
 
सफाइमा पूर्व मुख्यसचिव लीलामणि पौडेल, पूर्व सचिव किशोर थापा लगायतका व्यक्तित्वको सक्रिय सहभागिता थियो। सफाइसँगै टेकु दोभान आसपासका घर–घरमा गई जनचेतनामूलक अभियान पनि सञ्चालन गरिएको छ।
 
आगामी शनिबार १७५ औँ हप्ताको बागमती सफाइ बागमती र मनोहरा दोभान शङ्खमुलमा हुनेछ।

रुद्रमती सफाइको १३३ औँ हप्तामा आज ज्ञानेश्वर–डिल्लीबजार–मैतीदेवी–रातोपुलसम्म सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको रुद्रमती सरोकार समाजका अध्यक्ष वासुदेव मरासिनीले बताए।
 
विष्णुमती नदीको १०९ औँ हप्तामा आज डल्लुपुलमुनि सफाइ गरी ४ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ।
  
नख्खु खोला सफाइको ६१ औँ हप्तामा आज नख्खु पुलमुनि सफाइ गरी ६ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको नख्खुखोला सरोकार समाजका अध्यक्ष बलु पाण्डेले जानकारी दिए। सफाइमा कार्यविनायक नगरपालिकाका कर्मचारीलगायत स्थानीयवासीको सक्रियता थियो। सफा गरी निकालिएको फोहर ‘नेप्से म्याक’ प्रालिले व्यवस्थापन गर्नेछ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell