
काठमाडौँ : नेपालमा हरेक दिन करिब एक दर्जन व्यक्तिले कुनै न कुनै कारणले आत्महत्या गर्ने गरेका छन्। त्रिचन्द्र कलेज मनोविज्ञान विभागका उपप्राध्यापक डा नरेन्द्रसिह ठगुन्नाका अनुसार सबैभन्दा बढी आत्महत्या हुने विश्वका १० देशमध्ये नेपाल सातौँमा छ। दक्षिण एसीयाली सहयोग सङ्गठन (सार्क) राष्ट्रमा श्रीलङ्कापछि बढी आत्महत्या हुने देशमा नेपाल रहेको ठगुन्नाले जानकारी दिए।
'विश्व आत्महत्या रोकथाम दिवस'का सन्दर्भमा उनले यस्तो जानकारी दिएका हुन्। हरेक वर्ष सेप्टेम्बर १० तारिख विश्व आत्महत्या रोकथाम दिवसका रुपमा मनाउने गरिन्छ। काठमाडौंका पनि यो दिवस मनाइएको छ।
द स्कुल अफ साइकोलोजी नेपाल र साइकडेस्क फाउण्डेसनद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा त्रिभुवन विश्वविद्यालय मनोविज्ञान विभाग, युवा सहकार्य नेपाल, रक्षा नेपाल र आइसिडिसी नेपाललगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उल्लेखनीय सहभागिता थियो।
कान्तिपुर अस्पतालका मानसिक तथा नशा रोग विशेषज्ञ डा. नरेन्द्र कटवालले नेपालमा आत्महत्या गर्ने मुख्य कारण मानसिक तनाव रहेको बताए। 'बेरोजगारी, तनाव, लागुऔषध, अत्यधिक मदिरा सेवन, घरायसी समस्या र कसैकसैले वंशाणुगत कारणले पनि आत्महत्या गर्ने गरेका छन्,' उनले भने।