काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डाक्टर गोविन्द केसीलाई अधैर्यता नदेखाउन आग्रह गरेका छन्। केसीले फेरी अनसन बस्ने घोषणा गरे लगत्तै जनतासँग प्रधानमन्त्री कार्यक्रम मार्फत प्रधानमन्त्री प्रचण्डले नयाँ सरकारको काम केहि समय हेर्न आग्रह गरे।
केसीले नवौँ अनसनको घोषणा गर्दै असोज २ गते भित्र माग पुरा गर्न अल्टिमेटम दिएका छन्। अन्यथा ३ गतेबाट अनसन थाल्ने भन्दै आफ्ना चार बुदेँ मागको विषय पुन: उठाएका छन्। चिकित्सा क्षेत्र सुधार र भ्रष्ट्राचार नियन्त्रणका लागि पटक पटक केसी अनसनमा बस्दै आएका छन्।
प्रधानमन्त्री प्रचण्डले केसीले उठाएका इमान्दार मागहरु सम्बोधन गर्न प्रधानमन्त्रीको हैसियतमा आफू तयार रहेको बताए। उनले स्वास्थ्य मन्त्री गगन थापा पनि उनको माग सम्बोधनको दिशामा अगाडि बढेको उल्लेख गरे। 'स्वास्थयमन्त्री त्यो दिशामा अगाडि बढ्नु भएको छ। धेरै अधैयर्ता भन्दा पनि केहि समय हेर्नुस्। नयाँ सरकारले कसरी काम गर्छ', प्रचण्डले भने।