काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेकपा एमालेका उपाध्यक्ष भीम रावलले शनिबार फोन गरे। भदौ ३० गते भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डलाई रावलले एउटा सम्झौताको विषयमा टेलिफोनबाटै ध्यानाकर्षण गराए।
भ्रमणको तयारीका लागि परराष्ट्र मन्त्री प्रकाशशरण महत आज दिल्ली जाँदैछन्। तयारीका क्रममै रेडियो नेपाल र भारतको अल इन्डिया रेडियोबीच हुन लागेको समझदारीका विषयमा रावलले प्रधानमन्त्री प्रचण्डसँग चिन्ता व्यक्त गरे।
सोही चिन्ता रावलले आइतबारको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकमा प्रधानमन्त्री प्रचण्ड समक्ष राखेका थिए।
रावलले विगतमा आफ्नो सरकारको पालामा समेत रेडियो नेपाललाई कार्यक्रम उत्पादनमा भारतले तालिम दिने विषय राखेको र अस्वीकार गरिएको बताए। सोही प्रावधान अहिले प्रस्तावित भएको भन्दै रावलले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराए।
'परराष्ट्र मन्त्री जाँदा यो विषय उठ्नेछ,' रावलले भने, 'पारस्परिक लाभको आधारमा विचार आदान प्रदान गर्ने कुरा र सांस्कृतिक आदान प्रदान गर्ने कुरा राम्रो हो। तर समाचार प्रसारणमा त्यस्तो कुरा नहोस्।'
रावलले प्रधानमन्त्रीलाइ भारतीय एकाधिकार हुने गरि पेट्रोलियम पाइपलाइनको सम्झौता नगर्न समेत सचेत गराए। साथै प्रधानमन्त्रीलाई रिस्क नलिन सुझाए। 'म प्रधानमन्त्रीलाई ध्यनाकर्षण गराउन चाहान्छु सम्बन्धमा खतरा नमोल्नुहोस्, विगतमा पनि एक प्रधानमन्त्रीले त्यस्तो शब्द प्रयोग गर्दा तुच्छ र अपमानित हुनु परेको छ।' रावलले विगतको समझदारी कार्यान्वयनमा जोड दिन आग्रह गर्दै प्राकृतिक स्रोतको प्रयोग, सीमा समस्या लगायतका विषय उठाउन आग्रह गरे।
के दिए त प्रधानमन्त्रीले जवाफ?
रावलले उठाएका विषयमा जवाफ दिने क्रममा प्रधानमन्त्रीले नाम लिएर नै टेन्सन नलिन आग्रह गरे।
'केही सम्झौता भइहाल्छ कि भन्ने चिन्ता रावलजीले गर्नुभयो। म निश्चिन्त रहन आग्रह गर्दछु रावलजी पटक्कै टेन्सन नलिनुस्। भ्रमण राष्ट्रको र जनताको हितमा हुन्छ।'
उनले प्रचण्ड वा पुष्पकमल दाहाल नभइ नेपालको प्रधानमन्त्री भारत भ्रमणमा जान लागेको उल्लेख गरे। रेडियो नेपाल र अल इन्डिया रेडियोबीच हुन लागेको समझदारीका विषयमा समेत प्रचण्डले ध्यानाकर्षण भएको बताए। अनि दोहोर्याएर एमाले उपाध्यक्ष रावललाई भने - 'तपाईँ निश्चिन्त रहनुस् केही हुँदैन। टेन्सन नलिनुस्।'
प्रधानमन्त्री प्रचण्डले आफूले प्रधानमन्त्री बन्नुलाई चुनौतीपूर्ण अवसरको रुपमा लिएको उल्लेख गर्दै भारत भम्रणलाई पनि चुनौतीपूर्ण अवसरको रुपमा लिएको बताए।
उनले मुलुकका छिमेकी र भुगोल बदल्न नसकिने जिकिर गर्दै आफ्नो भ्रमणले नयाँ आयाम थप्ने बताए।