
दुई मड्रिड क्लबले जित हात पारेको दिन साविक विजेता बार्सिलोना भने नवप्रवेशी अलाभेससँग पराजित भएको छ। घरेलु मैदान नोउ क्याम्पमा शनिबार भएको खेलमा बार्सिलोना अलाभेससँग २-१ ले पराजित भयो।
खेलको ३९ औं मिनेटमा डेयरसनले गोल गर्दै भ्रमणकारी अलाभेजलाई पहिले अग्रता दिलाए। दोस्रो हाफको सुरुमै बार्सिलोनाका डिफेन्डर जेरेमी माथिउले गोल गर्दै १/१ को बराबरी गरे।
बार्सिलोनाले पहिलो हाफमा लियोनल मेसी र लुइस स्वारेजले बेन्चमै राखेको थियो। दोस्रो हाफको अन्तिम ३० मिनेटका लागि मेसी र सुवारेजसँगै इनेस्टालाई पनि लुइस एनरिकेले मैदान उतारे। तर ६४ औं मिनेटमा इवाइ गोमेजले गोल गर्दै अलाभेजलाई २-१ को अग्रता दिलाए।
त्यसपछि मेसी, स्वारेज र नेमार हुँदा पनि बार्सिलोनाले गोल गर्न सकेन र सिजनको पहिलो हार बेहोर्न बाध्य भयो।
शनिबारै भएका अघिलला खेलहरुमा एथ्लेटिको मड्रिडले सेल्टाभिगोलाई ४-० ले पराजित गरेको छ। घरेलु मैदानमा सेल्टाभिगोले पहिलो हाफमा एथ्लेटिकोलाई गोलरहित बराबरीमा रोकेपनि दोस्रो हाफमा ४ गोल भएको हो। एथ्लेटिकोका लागि एन्टोनियो ग्रिजमनले २ तथा कोक र एन्जल कोरेअले १/१ गोल गरे।
कमब्याकपछि ६ मिनेटमै रोनाल्डोको गोल
चोटबाट फिट हुँदै कमब्याक गरेको क्रिस्टियानो रोनाल्डोले ओसासुना विरुद्धको खेलको छैटौ मिनेटमै गोल गरे। उक्त खेलमा रियल ५-२ ले विजयी भयो। रियलको लागि डानिलो, सर्गियो रामोस,पेपे र लुका मोडरिचले १/१ गोल गरे।
५ गोलले पछि परिसकेको अवस्थामा ओसासुनाका ओरिएल रिएरा र डेविड गार्सियाले गोल गरे। उसका रोबर्टो टोरेस पेनालटीमा गोल गर्न असफल रहे। ८० औं मिनेटमा टानो बोनिनु दोहोरो पहँलो कार्ठको सामना गर्दै मैदान बाहिरिएपछि अन्तिम १० मिनेट ओसासुनाले दश खेलाडीमा रहेर खेलेको थियो।
जितसँगै ३ खेलमा शतप्रतिसत जित निकालेको रियल अंक तालिकामा शीर्ष स्थानमा उक्लेको छ।
ला लिगाकै अन्य खेलमा लस पलमसले पहिलो हार बेहोर्दा भियारियालले पहिलो जित हात पारेको छ। सेभियाले एक गोलले पछि परेको स्थिती उल्टाउँदै लस पलमसलाई २-१ ले हरायो।
तनाले १६ औं मिनेटमा गोल गदै लसपलमसलाई अग्रता दिलाएका थिए। तर ८८ औं मिनेटमा लसपलमसकै पेड्रो विगास दोहोरो पहेँलो कार्डको सामना गर्दै मैदान बाहिरिएपछि त्यसैको फाइदा उठाउँदै सेभियाले दुई गोल गर्यो। सेभियाको जितमा पाब्लो साराविया र कार्लोस फर्नान्डेजले गोल गरे।
यता यसअघि दुई बराबरी खेलेको भियारियालले मालागालाई २-० ले हरायो। जाउमे कोस्टा र निकोला सामसोनले गोल गरे। रियल सोडिसाड र स्पानयोलले भने १/१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।