काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूसँग संविधान संशोधनमा प्रमुख प्रतिपक्षी एमालेलाई ल्याउने फर्मुला रहेको बताएका छन्।
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा भदौ ३० गतेदेखि हुन लागेको भारत भ्रमणबारे जानकारी गराउन पुगेका प्रचण्डले आफ्नो फर्मुलामा एमाले नआइ सुखै नभएको बताए।
उनले भने – 'प्रतिपक्षमा भएका साथीहरु पनि संविधान संशोधनमा आउनुहुन्छ भन्ने मलाइ चाँहि गहिरो विश्वास छ। उहाँहरुको पनि समर्थन हुन्छ त्यसमा। मैले फर्मुला बाहिर अहिले भनेको त छैन। तर त्यो फर्मुलामा उहाँहरु नआई सुखै छैन। र राष्ट्रिय सहमति हुन्छ। म त्यही दिशातिर लागिराखेको छु।'
प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन प्रस्ताव दर्ता गरेर भारत भ्रमणमा जाने आफ्नो इच्छा रहेको तर इच्छाले मात्र नपुग्ने बताए। उनले संविधान संशोधनको तयारी भइरहेको जिकिर गरे।
'राजनीतिक दलहरुको बीचमा समझदारी हुनु जरुरी छ,' प्रचण्डले भने, 'दर्ताको निम्ति दर्ता गर्न सकिन्छ तर औपचारिक र खाली देखावटी मात्र नहोस्, साँचो अर्थमा राष्ट्रको समस्या समाधान गर्ने ढंगले होस् भन्नको निम्ति तयारी चलिराखेको छ।'
उनले मधेस केन्द्रीत दलहरुसँग सघन वार्ता भइरहेको उल्लेख गर्दै दुरी घटेको बताए।
'सहमतिको नजिक हामी पुगिराखेको छौँ भन्ने लागेको छ। हिजो र अस्तिसम्म मोर्चाका नेताहरुसँग र प्रमुख पार्टीका नेताहरुसँग जति कुरा भएको छ त्यसको आधारमा म के भन्न सक्छु भने छिट्टै सहमति हुन्छ।'
उनले मधेसी, थारु, जनजाति, तराई, पहाड, हिमालको बीचमा नयाँ सहमति बन्ने आफूले देखेको बताए।
'मलाई अहिले सरकार मेरो नेतृत्वमा बन्ने अवस्था आइलाग्यो। यसको धेरै ब्याख्या हुनसक्छ त्यसतिर जान्न अहिले। मेरो ब्रम्हले के देख्यो भने अहिले लिडरसीप लिनु राष्ट्रको हितमा हुन्छ भन्ने लागेर लिएँ मैले,' प्रचण्डले भने।