PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

​'रन फर नेपाल' का लागि चार दिन दौडँदै अष्ट्रेलियन टिम ब्लेयर



पहिलोपोस्ट

​'रन फर नेपाल' का लागि चार दिन दौडँदै अष्ट्रेलियन टिम ब्लेयर

काठमाडौं : भूकम्पपछि पनि नेपाल घुम्नका लागि अझै सुरक्षित भन्ने सन्देश प्रवाह गर्न र क्यान्सर लागेको बच्चाहरुको उपचार सहयोगार्थ फण्ड संकलन गर्नका लागि रन फर नेपाल २०१६ हुने भएको छ। 

रन फर नेपालमा अष्ट्रेलियाका टिमोथी ब्लेयर पोखराबाट लगातार चार दिन दौडनेछन् र काठमाडौंमा आइपुगेपछि उक्त दौड सकिनेछ। 

ब्लेयर आगामी बुधबारदेखि शनिबारसम्म कुल २२० किलोमिटर दौडने छन्। बुधबार पोखराको बसुन्धरा पार्कबाट दौड सुरु हुनेछ। पहिलो दिन डुम्रे, दोस्रो दिन डुम्रेबाट मलेखु, तेस्रो दिन मलेखुबाट धार्के र चौथो दिन धार्केबाट काठमाडौंको बसन्तपुरमा पुगेर दौड सम्पन्न हुनेछ। 

ब्लेयरलाई साथ दिन नेपालबाट राज प्रधान र नारायण आचार्यपनि सँगै दौडनेछन्। राज र नारायण नेपाली अल्ट्रा धावक हुन्।

उनीहरुले पनि फण्ड रेजकै लागि केही समयअघि दोलखासम्म ३६ घण्टा दौडेका थिए। त्यसअघि मेचीदेखि महाकालीसम्म पनि उनीहरुले दौडेका थिए।

दौडको समापन मरु सुधार समितिले नेवारी परम्परा अनुसार काष्टमण्डप अगाडि मरु ट्वा पुचामा गर्ने रन फर नेपालका संयोजक तथा क्लाइम्ब हाइ हिमालयका निर्देशक सत्यवन लोप्चनले बताए।

ब्लेयरले दुई वर्षअघि ९ सय किलोमिटर दुरी ९ दिनको दौडेको बताए। करिब डेढ वर्ष अघि गएको भुकम्पपछि पनि घुम्न र पर्यटनका लागि विदेशीहरुलाई सकरात्मक सन्देश दिन दौडन लागेको ब्लेयरले बताए। 

'भुकम्पपछि पनि नेपाल भ्रमणका लागि सुरक्षित छ भन्ने सन्देश विश्वभर पुर्‍याउन र पर्यटनलाई थप प्रचार गर्नका लागि दौडन लागेको हुँ।'

रन फर नेपाल पछि फण्डबाट उठेको रकम अष्ट्रेलियाका क्यान्सर भएका बच्चाहरु र नेपालको सोलुखुम्बुको हिमालयन प्राइमरी स्कुलमा अध्ययन गर्ने अति विपन्न विद्यार्थीहरुका लागि खर्च गर्ने क्लाइम हाइ हिमालयले जनाएको छ।

नेपालमा चार दिन दौडेको फोटो र भिडियो बनायर अष्ट्रेलियामा गएर अनलाइन फण्ड मार्फत् पैसा संकलन गर्ने ब्लेयरले जानकारी दिए। अहिले पनि विभिन्न व्यक्तिहरुले फण्डमा रकम उपलब्ध गराइरहेको पनि उनले बताए।

यस्तै आगामी सोमबार एभरेस्ट बेस क्याम्प भ्रमण गर्ने र त्यसैबेला सोलुमा रहेको हिमालय प्राइमरी स्कुलको समेत भ्रमण गर्ने योजना रहेको उनले सुनाए।

नेपाल नै रोज्नुको कारण के ?

'नेपालसँग मेरो पुरानो नाता छ। सन् १९९० मा म नेपाल आएको थिएँ। त्यतिखेर हामीले राजन थापा र उनकी श्रीमती पेमा डोमा शेर्पालाई भेटेका थियौं। उनीहरुकै मेमोरीमा मैले नेपालमै यो च्यारीटी दौडमा सहभागी हुने योजना बनाएँ।' ब्लेयरले पुरानो अनुभव सुनाए।

पेमा डोमा उत्तरी र दक्षिण मोहडाबाट सगरमाथा आरोहण गर्ने पहिलो नेपाली तथा विश्वको दोस्रो महिला हुन्। राजन र पेमा दुवैको निधन भइसकेको छ।

दौडन थालेपछि क्यान्सर निको 

ब्लेयर आफैं पनि क्यान्सरका बिरामी थिए। सन् २०११ मा क्यान्सरबाट ग्रसित भएका ब्लेयरको शल्यक्रिया समेत भएको थियो।

सुरुवाती अवस्थामै जाँच गराएका कारण क्यान्सरले पनि आक्रमण गर्न नसकेको उनले बताए। सन् २०१२ मा ब्लेयरले सय किलोमिटर दौड पुरा गरे। 'दौडन थालेपछि मेरो क्यान्सर समेत घटेर गयो।' ब्लेयरले आफ्नो अनुभव सुनाए।

आफैैले क्यान्सरको अनुभव भोगेका कारण क्यान्सर लागेका बच्चाहरुलाई सहयोग गर्नकै लागि आफुले दौडने सुरु गरेको उनले बताए। 'म डक्टर होइन, तर दौड मार्फत् उठेको रकम र मेरो फण्डमा संकलन भएकै रकमबाट भए पनि केही सहयोग गर्ने मेरो चाहना हो।'

पेसाले इन्जिनियर रहेको ब्लेयरलाई किन लामो दुरीको दौडमा रुची जाग्यो भनेर सोध्दा उनले यस्तो जवाफ दिए। 'धेरै अगाडि मेरो छोरीले स्कुलबाट फर्केपछि क्यान्सरका कारण आफुनो स्कुलको साथीको ज्यान गएको कुरा सुनाइन्। त्यसबाटै प्रधावित भएर मैले दौडने निधो गरे र क्यान्सरबाट कोही नमरुन भनेर फण्ड सँकलन गर्दै यस्ता बच्चाहरुलाई सहयोग गर्न थालेँ।'

उनको रन फर ब्लेयर किड फाउण्डेसन नामक आफ्नै संस्था पनि छ। यसैमार्फत उनी फण्ड राइजिङ गर्दै आएको बताए।
फोटो : हेथ होल्डन (गेट्टी इमेज)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell