काठमाडौं : नवनियुक्त उद्योग मन्त्री नवीन्द्रराज जोशीले उद्योग मन्त्रालयलाई 'मन्त्रायहरुको पनि नेतृत्वदायी मन्त्रालय' बनाउने घोषणा गरेका छन्। जोशीले आज पत्रकार सम्मेलन गरी ‘उद्योग क्षेत्र सुधार कार्ययोजना’ सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन्।
‘मलाई मन्त्री हुँदा पनि साथीहरुले ‘उद्योग मन्त्रालयमा!’ भन्दै प्रश्न गरेका थिए, यो मन्त्रालयलाई महत्वहीन मन्त्रालयका रुपमा लिइँदै आएको थियो,’ जोशीले भने, ‘राजनीतिक आन्दोलन सकिएकाले अब आर्थिक समृद्धिको यात्रा तयार गर्नुछ र त्यो उद्योगको विकासविना सम्भव छैन, त्यसैले अब यो मन्त्रालयलाई ‘लिडिङ मिनिस्ट्री’ बनाएर छाड्छु।’
उनले अब उद्योग मन्त्रालयले कृषि, पर्यटन, वन लगायत विभिन्न विषयमा काम गर्ने उद्योगहरुलाई पनि नेतृत्व प्रदान गर्ने घोषणा गरे।
‘हाम्रो देशमा उद्यमशीलता करिबकरिब मर्न लागेको अवस्थामा छ,’ मन्त्री जोशीले भने, ‘त्यसलाई जगाउन युवाहरुलाई उद्यशीलतातर्फ आकर्शित गर्नुछ। त्यसका लागि हरेक गाउँमा उद्योग संचालन गर्न हामी निवेदन आह्वान गर्छौ।’
उनले स्थानीय जनतालाई २०/२५ जनाको समुह बनाएर स्थानीय उद्योग संचालनका लागि प्रोत्साहन गर्ने भन्दै सबैका निवेदन जिल्ला घरेलु उद्योग कार्यालयबाट संकलन गर्ने उद्घोष गरे।
जोशीले उद्यमशीलता बढाउनकै लागि ७५ जिल्लामा उद्यमी मोटिभेटर राख्ने घोषणा गर्दै पहिलो चरणमा ती उदयमी मोटिभेटरहरुका लागि तालिम दिन लागेको बताए। जोशीले भने, ‘ठूला उद्योगीलाई वातावरण निर्माण गर्न र लगानीका लागि प्रोत्साहन गर्न सात ठाउँमा औद्योगिक सूचना केन्द्र स्थापना गर्छौ।’
पहिलोचरणमा तीन उद्योग
मन्त्री भएपछि पहिलोपटक पत्रकार सम्मेलन गरेका जोशीले तत्कालै बन्द भएका मध्ये ३ उद्योग संचालनमा ल्याउने तयारी सार्वजनिक गरे।सरकारले दायित्व लिए विकास सम्भव नहुने भन्दै निजिकरणको नीति लिएको कांग्रेसकै मन्त्रीले बन्द भएका उद्योग संचालनको तयारी गरेका हुन्। बन्द भएकामध्ये ‘पहिलो चरणमा तीनवटा उद्योग संचालनमा आउँछन् त्यसको निर्णय हामी केही दिन भित्रै गरेर तपाईँहरु समक्ष ल्याउने छौं,’ मन्त्री जोशीले भने, ‘त्यसमध्ये पहिलो प्राथमिकतामा नेपाल औषधि लिमिटेड छ।’
उनले पूर्णरुपमा निजिकरण राष्ट्र हितमा नहुने भन्दै ‘पूर्णरुपमा सरकारले संचालन गर्ने, सार्वजनिक निजी साझेदारी पीपीपी मोडलमा संचालन गर्ने वा निश्चित अवधिका लागि कन्ट्र्याक्टमा दिने’ मध्ये एउटा विकल्प रोज्ने उनले बताए।
पहिलोपटक मन्त्री भएर उद्योग मन्त्रालयको जिम्मेवारी लिएका जोशीले युवाहरुलाई उद्यमी बन्न प्रोत्साहन गर्ने, मार्केटलाई विश्वासमा लिने तथा विदेशी लगानी भित्राउने घोषणा गरे।
उनले लगानी भित्र्याउन र स्वदेशी लगानीलाई प्रवर्द्धन गर्न मंसिरमा राष्ट्रिय र फागुनमा अन्तर्राष्ट्रिय सम्मेलनको तयारी गरेको पनि बताए।
फोटो : रोशन सापकोटा/रासस