
काठमाडौं : शहरी विकास मन्त्री अर्नुननरसिंह केसीले जेठ सम्म २५/३० प्रतिशत बजेट खर्च हुने र असार लागेपछि ९५ प्रतिशतसम्म खर्च हुने अवस्थाको अन्त्य गर्ने घोषणा गरेका छन्। मन्त्री भएपछि पहिलो पटक पत्रकार सम्मेलन गरेका मन्त्री केसीले २५ बुँदे कार्ययोजना पनि सार्वजनिक गरे।
उनले एक महिनाभित्र गरिसक्नुपर्ने निर्देशन सचिव सहित मातहतका निकायलाई दिँदै सार्वजनिक गरेको कार्ययोजनामा मन्त्रलयका अल्पकालीन र दीर्घकालीन सबै कार्यक्रमहरु छन्।
‘अहिले एक महिनाभित्र सम्पन्न गरिसक्ने कामका विषयको कार्ययोजनामात्र सार्वजनिक गरेको छु,’ पत्रकार सम्मेलनमा मन्त्री केसीले भने, ‘एक महिनापछि फेरि भेटघाट गर्छु र कति काम गरियो भन्ने जानकारीका साथै तीन महिनाको मन्त्रालयको कार्ययोजना पनि सार्वजनिक गर्नेछु।’
उनले काम गर्ने शैलीमा केही परिवर्तन आवश्यक भएको भन्दै आफू त्यसकै सुरुवातमा लागेको बताए।
उनले गाउँ र शहरबीचको कनेक्टिभिटी नहुँदा समस्या भएको भन्दै अब त्यसका लागि आफूले काम गर्ने बताए। ‘हिजो ५८ नगरपालिका थिए आज २१७ नगरपालिका पुगेका छन्,’ केसीले भने, ‘ती नगरपालिकामा विकास वा सुविधामा जनताले सुविधा पाएका छैनन् तर ट्याक्स लगायतका दायित्व भने सहरमा जत्तिकै बेहोरिरहेका छन्।’
उनले गाउँ र शहरको अवस्था फरक भएको भन्दै त्यसमा फरकपन पनि आवश्यक भएको बताए। उनले शहरोन्मुख गाउँहरुलाई पनि विशेष कार्यक्रम संचालन गरिनुपर्ने भन्दै सबै काम गर्न यथार्थ जानकारी लिनुपर्ने भएकाले त्यसका लागि एक महिनाको समय निर्धारण गरेको बताए। उनले भवन निर्माण संहिता पारित गर्न तीन दिनको समय राखेका छन्। कार्ययोजनामा तीन दिनको समय राखेका केसीले पारित गर्नका लागि संहिताको मस्यौदा मन्त्रिपरिषद लगेका छन्।