
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका आयोजनाहरुमा आफैं अनुगमन गर्ने बताएका छन्।
राष्ट्रिय विकास समस्या समाधान समितिको आजको बैठकमा बोल्दै प्रधानमन्त्री राष्ट्रिय गौरवका आयोजनामाथि तालिका बनाएरै अनुगमनमा जाने बताए। 'सबै मन्त्रीहरुले पनि आफ्नो मातहतका आयोजनाहरुको अनुगमन र निरीक्षण गरी विकास आयोजना समयमै सम्पन्न गर्ने वातावरण सिर्जना गर्नुस्,’ उनले निर्देशन दिए।
बैठकमा प्रधानमन्त्रीले एकातिर विकासका आयोजनामा रकम अभाव हुने र अर्कोतिर बिनियोजित पुँजीगत खर्च नहुने समस्या समाधानका लागि दण्ड र पुरस्कारको प्रावधान आवश्यक रहेकामा जोड दिए। ‘एकातिर विकास आयोजनाहरुमा रकमको अभाव हुने र अर्कोतिर पुँजीगत खर्चको सामर्थ्य बढाउन नसकेको समस्या छ,' उनले बैठकमा भने, 'यस वर्ष पुँजीगत खर्चको सामर्थ्य कम्तीमा ८० प्रतिशत पुर्याउनुपर्छ।' उनले राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन र लापरबाही तथा ढिलासुस्ती गर्नेलाई दण्डित गर्ने प्रावधान आवश्यक रहेको पनि बताए।
बैठकमा प्रधानमन्त्रीले विकास आयोजना सम्बन्धी समितिका बैठकहरुमा आवश्यक गृहकार्य गरेर उपस्थित हुन मन्त्री र सचिवहरुलाई निर्देशन दिएका थिए। ‘विकासका काममा संवेदनशील हुन जरुरी छ। जनताले नयाँपनको प्रत्याभूति गर्नुपर्दछ,' उनले निर्देशन दिँदै भने, 'त्यसका लागि माननीय मन्त्री र सचिवज्युहरुले आवश्यक गृहकार्य गरेर आगामी बैठकमा उपस्थित हुनुहोला।’
प्रधानमन्त्रीले संघीय ढाँचाअनुसार विकासका आयोजना छनोट र कार्यान्वयन गर्न आवश्यक रहेको बताउँदै त्यसको तयारी गर्न पनि निर्देशन दिए।
बैठकमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल सरकारका मूख्य सचिव, सचिवहरुले विकास आयोजनाहरुको स्थिति, समीक्षा, प्रगति विवरण र आगामी योजनाबारे आ–आफ्नो प्रगति बिवरण र सुझावहरु पेश गरेका थिए।