PahiloPost

Jan 3, 2025 | १९ पुष २०८१

​ओली र उपेन्द्र यादवको बोलचालसमेत छैन



मनोज सत्याल

​ओली र उपेन्द्र यादवको बोलचालसमेत छैन

काठमाडौँ :  २०७३ साल साउन ९ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वासको प्रस्ताव निर्णयार्थ पेश हुनुअघि नै संसदबाट राजीनामा घोषणा गरे। जब उनी रोष्ट्रमबाट बाहिरिए, संसदको अघिल्लो लाइनमा बसेका नेताहरुसँग हात मिलाए। 

अविश्वासको प्रस्तावका प्रस्तावक प्रचण्ड, समर्थक शेरबहादुर देउवा लगायतसँग उनी हात मिलाउँदै ओली संघीय समाजवादी फोरम नेपालका नेताहरु बसेको स्थानमा पुगे। सचेतक शिवजी यादव अगाडि आएर हात मिलाए। लगत्तै संसदीय दलका नेता अशोक राईसँग हात मिलाए। 

तर संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव त्यतिबेलासम्म आफ्नो स्थानबाट उठेकै थिएनन्। सबै नेता उठेर हात मिलाइरहे पनि यादव बसिरहेकै थिए। सभामुखले संसद बैठक स्थगित भएको घोषणा गरिसकेकी थिइन्। तर ओलीले हात दिएपछि यादव उठ्न खोजे। तर उनी उठिनसक्दै ओली यादवसँग हात मिलाएर अगाडि बढे। यादव उठेनन्। 


प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओली र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच कहिल्यै राम्रो सम्बन्ध रहेन। मधेसी मोर्चा र यादवको पार्टीले संविधानसभा र संसद बहिष्कार गरिरहँदा समेत ओलीको विपक्षमा संसदमा आएर भोट हाल्यो। प्रधानमन्त्रीका हैसियतमा ओलीले बोलाएका वार्ताहरुमा यादव र मधेसी नेताहरु सहभागी भएनन्। ओली र यादवबीच सत्तामा रहँदा राम्रो सम्बन्ध बन्नै सकेन। 

आइतबार पहिलोपोस्टसँगको कुराकानीमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि ओलीसँग कुराकानी टुटेको स्वीकार गरे। 

उनले ओलीसँग व्यक्तिगत सम्बन्ध नराम्रो नभएको बताए। साथै भने 'व्यक्तिगत कुराकानी अलग कुरा हो, तर अहिलेसम्म त त्यो पनि भएको छैन।' 

'उहाँ प्रधानमन्त्रीबाट हटे पनि, प्रधानमन्त्री भएपनि व्यक्तिगत कुराकानी हुने अवसर समेत आएन', यादवले भने, 'साँच्चै भनेको।'

उपेन्द्र यादव र केपी शर्मा ओली विगतमा एउटै पार्टी नेकपा एमालेबाट राजनीति गर्थे। तर यादव पछि माओवादी हुँदै मधेसी जनाधिकार फोरम खोले र बाटो फरक भयो। 

एमालेबाट अलग्गिएर अलग्गै दल खोलेका अशोक राईलगायतको संघीय समाजवादी दल पनि अहिले उपेन्द्र यादवकै फोरमसित मर्ज भइसकेको छ। 

एमाले वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल सार्वजनिक कार्यक्रमहरुमा अझै पनि उपेन्द्र यादवलाई 'कमरेड' सम्बोधन गर्छन्। 
ओली र यादव दुवैको राजनीति एउटै पार्टीबाट सुरु भएपनि अहिले दुई फरक राजनीतिक लाइनको प्रतिनिधित्व गर्छन्। 

ओली सत्तामा रहँदासम्म मधेसमा सँधै आन्दोलन रह्यो। मधेसी मोर्चाले उठाउँदै आएका सिमाङ्कन र नागरिकता लगायतका मागमा ओली अनुदार देखिए। 

'सम्बन्ध व्यक्तिगत नराम्रो केही छैन', यादव भन्छन्, 'तर राज्य र पोलिटिकल कुरा त पोलिटिकल इस्युसँग गाँसिएको हुन्छ।'

यादव एमाले अध्यक्ष ओली र प्रधानमन्त्री ओली हुँदाको फरक महसुस नभएको बताउँछन्। 

'कुनै खास फरक छैन। मूल कुरा त पोलिसी हो नि। नीतिगत कुरामा हिजो पनि उस्तै छ आज पनि उस्तै छ', यादव भन्छन्। 

तर यादव अब भने एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संवाद हुनसक्ने बताउँछन्। संविधान संशोधनका विषयमा नेकपा एमालेको संख्या अनिवार्य हुन्छ। संविधान संशोधनको माग राखिरहेका यादव र उनको संघीय गठबन्धन/मोर्चालाई एमालेको संसदको अंकगणित अनिवार्य छ। यो बिना संविधान संशोधन असम्भवप्राय छ। 

यादव भन्छन् – 'संवाद अहिले हुनसक्छ, के भयो र।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell