
काठमाडौं : नेपाली राष्ट्रिय लिग च्याम्पियन थ्रीस्टार क्लबले भारतमा हुने बोर्डोलोइ कपमा सहभागिता जनाउने भएको छ।
प्रतियोगिता भारतको असममा सेप्टेम्बर १८ देखि ३० सम्म सञ्चालन हुनेछ। ८ टीमको सहभागिता रहेको प्रतियोगितामा थ्रीस्टार समूह 'ए'मा परेको छ। थ्रीस्टारसँगै आई लिग क्लब सिलोङ लाजोङ, आई लिगको सेकेण्ड डिभिजन क्लब ओयल इन्डिया र रिजनल क्लब फ्लामिङ्गो नागाल्याण्ड रहेको छन्।
यस्तै समूह 'बी'मा इस्ट बंगाल, भारतीय टीमका पूर्व कप्तान भाइचिङ भुटियाको युनाइटेड सिक्किम, बंगलादेशको बोनगोमी ओर्गोगामी र असम स्टेट इलेक्ट्रिक बोर्ड स्पोर्ट्स कलब रहेका छन्।
६ दशकभन्दा बढी इतिहास बोकेको उक्त प्रतियोगितामा थ्रीस्टार सन् २०१० मा उपविजेता बनेको थियो।
थ्रीस्टारले आफ्नो पहिलो खेलमा सेप्टेम्बर १९ मा फ्लामिङ्गोसँग खेल्नेछ। यस्तै सेप्टेम्बर २३ मा ओयल इन्डिया र २५ तारिखमा सिलोङ लाजोङसँग प्रतिस्पर्धा गर्नेछ।
प्रतियोगिताका लागि थ्रीस्टार आगामी शुक्रबार असम प्रस्थान गर्नेछ।