खोटाङ : छात्रामा अनौठो किसिमको लक्षण देखिएपछि खोटाङको शारदा माविको पठनपाठन प्रभावित बनेको छ।
छात्राहरुमा बेहोस भएर ढल्ने, रुने, कराउने, जथाभावी दौडने, चिच्याउने लगायतका लक्षण देखिएपछि हौंचुरस्थित सो माविको पढाइ प्रभावित भएको हो।
कक्षा ६ देखि माथिका छात्रामा महिना दिनअघिदेखि उक्त लक्षण देखिएको विद्यालयका प्रधानाध्यापक रामकुमार बरुवालले जानकारी दिए। 'सुरुमा कक्षा १० मा अध्ययनरत दुई छात्रामा उक्त लक्षण देखिएको थियो,' उनले भने, 'अहिले दैनिक १२ देखि १५ जना छात्रामा देखिन्छ।'
छात्रा बिरामी भएपछि महिना दिनदेखि नै पठनपाठनमा समस्या भएको विद्यालयले जनाएको छ। विद्यार्थीमा देखिएको लक्षणका बारेमा स्वास्थ्य उपचार गराउँदासमेत समाधान नभएको शिक्षकले बताएका छन्। छात्रा बिरामी हुने क्रम निरन्तर बढ्दै गएपछि उनीहरुका आफन्तले विद्यालयमै धामी राख्न दबाब दिने गरेको प्रअ बरुवालले बताए। उनका अनुसार अभिभावकले उक्त क्षेत्रमा तान्त्रिक शक्ति रहेको र सोही कारण छात्रा बिरामी भएको भन्दै विद्यालयमा तत्काल धामी राख्न दबाब दिने गरेका छन्।
उक्त विद्यालयमा अध्ययन गर्ने छात्रामा यसअघि २०६०/६१ सालमा पनि सोही किसिमको लक्षण देखिएको थियो।
जिल्ला अस्पताल खोटाङका प्रमुख चिकित्सक रामबहादुर केसीले भने अहिले छात्रामा देखिएको रोग ‘मास हिस्टेरिया’ भएको बताएका छन्। 'उनीहरुमा देखिएको समस्याप्रति डराउनु पर्दैन,' उनले भने, 'सामाजिक परामर्शकर्ताबाट परामर्श पाएपछि बिस्तारै ठिक हुन्छ।'