कञ्चनपुर : भारतीय सीमाक्षेत्रबाट घरतिर आइरहेका आठ नेपाली सीमावर्ती भारतीय बजार बनवसा नजिक लुटिएका छन्।
सीमा क्षेत्रमा सञ्चालनमा रहेका टाँगा व्यवसायीबाट नेपाली लुटिएका हुन्। भारतीय सीमावर्ती बजार बनबासाबाट महेन्द्रनगर पुर्याइदिने भन्दै टाँगा व्यावसायीले महाकाली पुलपारि नै लुटेका हुन्।
लुटिनेमा डडेल्धुराको जोगबुडाका जीवन बोहरा, वीरबहादुर बोहरा, अछाम भैरवस्थानका कमल नेगी, अमर विक र कैलाली लम्कीका जानकी विष्ट, झपट रावल रहेको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक लालबहादुर बुढाएरले जानकारी दिए।
बिना नम्बरप्लेट सञ्चालित भारतीय टाँगाले नेपालीलाई महेन्द्रनगर पुर्याइदिने भन्दै टाँगामा जबर्जस्ती बसाएर आधा बाटोमै पैसा माग्ने र पैसा नदिए कुटपिट गर्ने धम्की दिँदै लुटपाट गरेका थिए।
नेपाली लुटिने क्रम रोक्न दुई देशका उच्च अधिकारीबीच बेलाबेलामा छलफल हुने गरे पनि कार्यान्वयन हुन सकेको छैन। दुई साताअघि मात्रै सीमावर्ती क्षेत्रमा नेपाली लुटिने गरेका घटना रोक्न दुई देशका अधिकारीबीच सहमति भएको थियो ।रासस