
काठमाडौं : शक्ति समूहकी पूर्वअध्यक्ष सुनिता दनुवारको पुस्तक 'आँसुको शक्ति' सार्वजनिक भएको छ।
राजधानीमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस्तक विमोचन गरे।
मानव बेचबिखनपश्चात् मुम्बई लगायतका विभिन्न देशमा महिलालाई कसरी प्रताडित बनाइन्छ र मानव बेचबिखनको अवस्था कस्तो छ भन्ने सन्दर्भमा पुस्तक केन्द्रित छ।
अध्यक्ष ओलीले मानब बेचबिखन अन्त्यका लागि पुस्तक महत्वपूर्ण भएको बताए। सामाजिक न्याय, मानव अधिकारका लागि सामाजिक अभियानकर्ताहरुले चलाएको अभियानले नागरिकहरुलाई सचेत बनाएको उनको भनाइ थियो। 'तर अझै सामाजिक न्याय र लैंगिक समानताका लागि धेरै गर्न बाँकी छ,' उनले भने।
पुस्तकका सम्पादक पत्रकार टंक पन्तले लेखिका दनुवारसँग धेरै घटना र विषय भए पनि पुस्तकमा सबै समेट्न नसकेको जानकारी गराए। मानव बेचबिखनको अवस्था, बेचबिखनपछि हुने पीडा, महिलामाथि हुने जघन्य हिंसा, राज्य र राज्यको भूमिका लगायतका विषयमा पुस्तकले बोलेको उनको भनाइ थियो। 'अहिले पनि नेपालबाट बर्सेनि १२ देखि १७ हजार व्यक्ति भारतमा बेचिने गरेको युनसेफको पछिल्लो रिपोर्टले भनेको छ,' पन्तले भने, 'प्रत्येक वर्ष १७ देखि १८ हजार मानिस बेचबिखनमा परेको मानन अधिकार आयोगको तथ्यांकमै छ।'
पुस्तकको समीक्षा गर्दे मानव अधिकारकर्मी नागरिक समाजका अगुवा गौरी प्रधानले पुस्तकले समाजको आँखामा लागेको पर्दा हटाएको भनाइ राखे।
लेखिका दनुवारले सम्पूर्ण आफ्ना कुरा पुस्तकमै रहेको भन्दै पढेर सुझाव दिएका आगामी संस्करणमा सच्याएर प्रकाशन गरिने बताइन्। पुस्तक घोस्ट राइटिङ नेपालले प्रकाशन गरेको हो।