PahiloPost

Jan 17, 2025 | ४ माघ २०८१

नेपाल-भारत सन्धि सम्झौता कार्यान्वयनका लागि भूमिका खेल्न पूर्व प्रमहरुको सुझाव



रासस

नेपाल-भारत सन्धि सम्झौता कार्यान्वयनका लागि भूमिका खेल्न पूर्व प्रमहरुको सुझाव

काठमाडौँ : आफ्नो आसन्न भारत भ्रमणका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श लिएका छन्।
 
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको परामर्शका क्रममा पूर्वप्रमहरुले बदलिँदो अवस्थामा नेपाल–भारत सम्बन्धलाई अझ उँचो बनाउन र विगतमा दुई देशबीच भएका विभिन्न सन्धि-सम्झौतालाई कार्यान्वयनमा उतार्न सुझाव दिएका थिए। 
 
नेपाल–भारतबीचको सम्बन्ध पुरानो र घनिष्ट रहेको भन्दै उनीहरुले यो सम्बन्धलाई अझ बलियो बनाउँदै लैजान प्रम दाहालको भ्रमण सफल रहने विश्वास व्यक्त गरे।
 
परामर्शमा पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, डा बाबुराम भट्टराई, माधवकुमार नेपाल, लोकेन्द्रबहादुर चन्द सहभागी थिए।
 
'मैले नेपाल–भारत सम्बन्धलाई बदलिँदो अवस्थामा अझ उचो बनाउने काम भारत भ्रमणमा गर्न प्रम दाहाललाई सुझाव दिएँ,' नेकाका सभापति देउवाले भने।
  
उनले विगतमा दुई देशबीच भएका सहमति र सम्झौतालाई अझ प्रभावकारी ढङ्गबाट कार्यान्वयन गर्न खाँचो रहेको समेत बताएका छन्।
 
नेकपा (एमाले) का वरिष्ठ नेता नेपालले आफ्नो दलले दलीय आधारमा प्रम दाहाललाई सुझाव दिइसकेको चर्चा गर्दै नेपाली जनताको शिर उचो बनाउने काम भारत भ्रमणका क्रममा गर्न प्रम दाहाललाई सुझाव दिएको जानकारी दिए।
  
उनले विगतमा नेपाल–भारतबीच सडक, यातायात, ऊर्जा क्षेत्रमा भएका सन्धि सम्झौता कार्यान्वयनमा जोड दिनुपर्ने बताए।
 
नयाँ शक्ति पार्टीका संयोजक डा भट्टराईले आफूले लिखित रुपमा प्रम दाहाललाई १० बुँदे सुझाव दिइसकेको सञ्चारकर्मीलाई जानकारी दिए।

साउन १९ गते व्यवस्थापिका–संसद्बाट कांग्रेसको साथ र सहयोगमा प्रधानमन्त्री पदमा निर्वाचित भएका दाहाल भदौ ३० गतेदेखि भारत भ्रमणमा हुनेछन्।
  
चारदिने भ्रमणका क्रममा उनले भारतीय समकक्षी तथा राष्ट्रपति लगायत भारतीय उच्च पदस्थ अधिकारीहरुसँग भेटघाट गर्ने कार्यक्रम छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell