PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

भारतीय सहयोगको 'प्रतिबद्धता-पोको' लिएर फर्किए परराष्ट्र मन्त्री महत



रमेश वाग्ले

भारतीय सहयोगको 'प्रतिबद्धता-पोको' लिएर फर्किए परराष्ट्र मन्त्री महत

काठमाडौं : भारत भ्रमणका लागि गएका परराष्ट्र मन्त्री प्रकाशशरण महत आज स्वदेश फर्किएका छन्।
 
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्त भारत भ्रमणको तयारीस्वरुप उनी भारत गएका थिए। त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री महतले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण नोभेम्बर १ मा तय भए पनि सो दिन भाइटीका परेकाले २ वा ३ तारिखमा उनी नेपाल आउने जानकारी गराए।
 
'प्रधानमन्त्रीज्युको भ्रमण तयारीका लागि जाँदा मलाई भारतले जुन आतिथ्यता प्रदान गर्‍यो, प्रमज्युको आगामी भ्रमण पनि सार्थक र सफल हुने संकेत हो यो,' उनले भने।
 
आफूले त्यहाँका ऊर्जा मन्त्री, जलश्रोत मन्त्रीका साथै र विदेश मन्त्रीसँग एक घन्टा छलफल गरेको मन्त्री महतले जानकारी गराए।
 
पञ्चेश्वर परियोजना अघि बढाउने विषयमा भारतीय पक्ष सकारात्मक भएको जानकारी गराउँदै उनले ढल्केबर-मुजफ्फरपुर तथा गोरखपुर-भैरहवा अन्तरदेशीय प्रसारण लाइन विस्तारलाई अघि बढाउने प्रस्तावलाई पनि सकारात्मक रुपमा लिएको बताए।
 
दक्षिणी सिमानामा हुने डुबान समाधनाका लागि ज्वाइन्ट कमिटी निर्माण गर्ने र दुई देशको हितमा नै काम गर्ने सहमति भएको पनि महतले बताए।

'भारतीय लगानीकर्ताले नेपालमा लगानी गर्ने पक्षमा पनि कुरा भयो,' उनले भने, 'अहिले जुन सहमतिहरु भएका छन्, प्रधामन्त्रीको भ्रमणले मूर्तरुप पाउनेछ।'
  
बंगलादेशसँग सिधा सम्पर्क हुनेगरी पारवहन सुविधा सेवा विस्तार गर्ने नेपालको प्रस्तावलाई भारतले सहयोग गर्ने  प्रतिबद्धता समेत जनाएको छ।
 
महाकाली सम्झौताअनुसार दुई सिँचाइ योजनामाथि भारत सकारात्मक रहेको र गण्डक सम्झौताअनुसार ४० हजार हेक्टर जमिनमा सिँचाइ पुर्‍याउने विषयमा पनि छलफल भएको महत बताए।
 
कमला डाइभर्सनलाई पनि सहयोग गर्न भारतले प्रतिबद्धता जनाएको छ। यो योजनाले २ नम्बर प्रदेशका धेरै भागमा सिँचाइ हुने मन्त्री महतले बताए। 'नेपालका कृषि उपज भारत निर्यातका लागि सहज बनाउने विषयमा पनि सहमति भएको छ,' उनले भने, 'हेटौंडामा पावर सब स्टेशनका लागि पनि भारतबाट  सहयोगको प्रतिबद्धता पाएका छौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell