
काठमाडौं : पाँचौं युरोपियन पारा तेक्वान्दो च्याम्पियनसिपमा नेपालबाट दुई खेलाडीले भाग लिने भएका छन्। च्याम्पियनसिपमा दुई महिला खेलाडीसहित चार सदस्यीय नेपाली टोली पोल्यान्डको वार्सा जानेछन्।
सेप्टेम्बर १६ देखि १७ तारिखसम्म हुने प्रतियोगिताअन्तर्गत के ४४ क्याटगोरीको ४०–५० केजीमा रञ्जना धामी र ५०–६० केजीमा सीता भण्डारीले प्रतिस्पर्धा गर्नेछन्। नेपालका दुवै खेलाडीले १६ तारिखमा प्रतिस्पर्धा गर्नेछन्।
नेपाली टिमको प्रशिक्षकमा कल्याण कुँवर तथा व्यवस्थापकमा दीपक विष्ट रहेका छन्। टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव केशवकुमार विष्टले मंगलबार बिदाइ गरे। नेपाली टोली मंगलबार राति नै त्यसतर्फ प्रस्थान गर्नेछ।