PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

भारतको कुनै माग र अपेक्षा छैन : परराष्ट्रमन्त्री महत



रमेश वाग्ले

भारतको कुनै माग र अपेक्षा छैन : परराष्ट्रमन्त्री महत

काठमाडौं : परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले आफूले गरेको भारत भ्रमणबाट नेपाल भारत सम्बन्धमा नयाँ अध्याय प्रारम्भ भएको बताएका छन्। 
 
दुई दिने भारत भ्रमण सकेर आज स्वदेश फर्किएका महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा यसले दुई देशबीच विश्वासको सम्बन्ध विकसित गर्न दरिलो आधार निर्माण गरेको बताए।
 
मन्त्री महतले भ्रमणका क्रममा आफूले भारतीय विदेशमन्त्री सुषमा स्वराजसहित अन्य मन्त्रीहरु र राजनीतिक दलका नेताहरुसँग पनि भेटवार्ता गरेको र भ्रमण अत्यन्तै सफल भएको बताए। यसले प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणका लागि सकारात्मक आधारशिला निर्माण गरेको उनको भनाइ थियो।
 
यसै भ्रमणका क्रममा भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपाल भ्रमण गर्ने निश्चित भएको र तिहारलगत्तै उनले नेपाल भ्रमण गर्नेगरी प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणका क्रममा मिति तय हुने पनि मन्त्री डा महतले जानकारी दिए।
 
भारत भ्रमणका क्रममा भारतीय विदेशमन्त्री स्वराजसँग करिब एक घन्टा सौहार्दपूर्ण वातावरणमा द्विपक्षीय वार्ता भएको जानकारी दिँदै महतले सो वार्ताका क्रममा नेपालको आवश्यकता, हित र स्वार्थका विषयमा खुलेर छलफल गरिएको बताए। भ्रमणका क्रममा भारतीय जलस्रोत मन्त्री उमा भारती, उर्जामन्त्री पियुष गोयल, भारतीय जनता पार्टीका महामन्त्री राम माधव, भारतीय राष्ट्रिय कांग्रेसका नेता जनार्दन दिवेदी, प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित दोबलसँग पनि छलफल भएको र नेपालले आफ्नो राष्ट्रिय स्वार्थका क्षेत्रमा राखेका विषयमा उनीहरु अत्यन्तै सकारात्मक रहेको महतले जानकारी दिए।
 
'भ्रमणमा भएका छलफलका क्रममा भारतले आफ्नो तर्फबाट कुनै माग, शर्त वा अपेक्षा राखेको छैन र हामीले नै आफ्नो आवश्यकता र राष्ट्रिय महत्वका विषयहरु राखेका छौँ,' उनले भने।
 
यस भ्रमणमा नयाँ आयोजना वा सम्झौताभन्दा पनि दुई देशबीच विगत लामो समयदेखि कार्यान्वयनको चरणमा रहेका र सम्झौता भएर पनि कार्यान्वयन हुन नसकेका विषयमा छलफल भई तिनका समस्या र अवरोध हटाएर सहजीकरण गर्दै अघि बढ्ने विषयमा नेपालतर्फबाट राखिएको प्रस्तावमा भारतीय पक्ष सकारात्मक भएको उनले बताए।
 
पञ्चेश्वर आयोजनालाई गतिदिने विषयका साथै डुबान समस्याबारे कुरा उठाएको र आगामी दिनमा यी विषयमा उत्पन्न अवरोध हटाएर कार्यान्वयनमा सहजीकरण गर्न सहमत भएको डा महतले जानकारी गराए।
 
दुई देशबीच उर्जा व्यापार सम्झौताका क्षेत्रमा विगतमा अवरोध उत्पन्न भएकोले त्यसलाई हटाउने विषयमा सहमति भएको र यसका कारण नेपालमा उर्जामा ठूलो लगानी आउने बारेमा आफू विस्वस्त रहेको महतको भनाइ छ।
 
विद्युतीय ट्रान्समिसन लाइन निर्माण, गौरीफन्टा नाकालाई स्तरोन्नति गरी सहज बनाउन तथा चाँदनी दोधारा नाका सञ्चालनलाई अघि बढाउन, हुलाकी राजमार्गको दोस्रो चरणको कामलाई अघि बढाउने विषयमा नेपालको तर्फबाट प्रस्ताव गरिएको थियो।
 
त्यसैगरी गण्डक सम्झौताबमोजिम नेपालको ४० हजार एकड भूमिमा सिंचाई हुनुपर्नेमा हाल २५ हजार भूमिमा मात्र सिंचाइ पुगेकोले यो विगतको सम्झौता पूरा गर्ने विषयमा छलफल भएको उनले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell