PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

​महिला संघको कार्यक्रमः जहाँ पुरुषको भाषण सुनेर महिलाले ताली मात्र बजाए



रमेश वाग्ले

विक्रम संवत २००४ सालमा स्थापना भएको नेपाल महिला संघको तेस्रो महाधिवेशन बुधबारदेखि काठमाडौमा सुरु हुन लागेको छ। त्यतिबेला महिला मुक्तिको आन्दोलनका लागि मंगलादेवी सिंह, सहाना प्रधान लगायत मिलेर बनेको नेपाल महिला संघ अहिले नेपाली कांग्रेसको भगिनी संगठनका रुपमा काम गरिरहेको छ। 

नेपालकै सबैभन्दा पुरानो महिला संगठन नेपाली कांग्रेसमा भने त्यति महत्व नराख्ने संगठनका रुपमा चिनिन्छ। अन्य संगठनमा तँछाड मछाँड गर्ने कांग्रेस नेताहरु महिला संघमा अलि कम मात्र झगडा गर्छन्। अनि संगठनमा समेत उम्मेद्वारी दिने दावेदारहरु कम हुन्छन्। त्यसैले कांग्रेसभित्रका विभिन्न समूहलाई उम्मेद्वार व्यवस्थापन त्यति गाह्रो परिरहेको छैन। 

सभापति शेरबहादुर देउवा पक्षले उमा रेग्मी, वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले महिला संघकै पूर्वअध्यक्ष मिना पाण्डे र कृष्णप्रसाद सटौला समूहले धन खतिवडालाई महिला संघको अध्यक्षको उम्मेद्वार बनाएका छन्। तीन वटै समूहले आआफ्ना पक्षमा लबी गरिरहेका छन्। सिटौला समूहले खतिवडालाई अध्यक्षको उम्मेद्वार नभएर आफ्नो पक्षको नेतृत्व भनेर अन्य समूहमा समायोजनको बाटो खुल्ला गरेको छ। 

यही अभियान अन्तर्गत मंगलबार सिटौला समूहले राष्ट्रिय सभागृहको हलमा आफ्ना पक्षको उम्मेद्वार अघि सार्ने र महिलाहरुलाई संबोधन गर्ने कार्यक्रम राखेको थियो। कार्यक्रममा मञ्चमा नै महिलाहरुको आसन कम थियो। तर कार्यक्रममा भने महिलाहरुले स्थान पाएनन्। 

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका युवा नेताद्वय गगन थापा र प्रदिप पौडेलले सबैभन्दा बढी समय लिए। बीपीदेखि अहिलेसम्मका कांग्रेसका अवस्थाका बारेमा कुरा गरे। महिला नपढेर पनि गुरु हुने भन्दै फुर्काए, महिलाका समस्यामा अहिलेसम्मको नेतृत्वले ध्यान पुर्याउन नसकेको बताए। 

गगन थापाले सबैभन्दा धेरै ताली बटुले। स्वास्थ्य मन्त्रीसमेत रहेका थापाले कान्ति बाल अस्पताल निरीक्षणमा केही बेर अघि मात्र गएको भन्दै महिलाको सहानुभूति लिने प्रयत्न गरे। 'नेपाल सरकारको स्वास्थ्य मन्त्रीको हैसियतमा म भर्खरै मात्र कान्ति बाल अस्पताल गएर आउँदैछु त्यहाँ धेरै बच्चाहरु बिरामी थिए। तर कुनै बच्चा आफ्नो बाबुको काखमा थिएनन् सबै आमाका काखमा थिए,' थापाले भने, 'महिलाले पुरुषले लिएका दायित्व लिएर मात्र पुग्दैन उनीहरुलाई अतिरिक्त दायित्व हुन्छ।' उनले आफू मन्त्री वा सांसद भएर बिहानदेखि बेलुका राजनीतिक गतिविधिमा संलग्न भए पनि श्रीमतिले निर्वाह गर्ने भूमिकाका लागि असक्षम भएको सुनाए। 

उनले संविधानले  महिलाका लागि गरेको व्यवस्था सुनाउँदै महिलाहरुको र समाजको मनोविज्ञान बुझाउन आफ्नै कहानी सुनाए। 'संविधानसभाबाट स्थानीय निकायमा ४० प्रतिशत र संघीय संरचनामा ३३ प्रतिशत महिला प्रतिनिधित्व हुने गरी प्रगतिशील संविधान जारी गरेका छौ' उनले भने, 'तर समाजको मनोविज्ञान कहाँ छ भनेर हेर्ने हो भने म नै त्यसको उदाहरण बनेको छु।' 

उनले कहानी सुनाउँदै गए 'तीन वर्षको अन्तरालमा मेरा दुईवटा छोरीहरु भए त्यो कुरा अरुले थाहा नपाउने कुरै भएन। यसबीचमा मैले अनेक अनेकका बाबा र नयाँ नयाँ भगवानका नम सुने,मसँगै संविधान लेख्ने कार्यमा संलग्न भएकाहरुले मलाई कुनामा लगेर सहानुभूति दिए। धेरैले फलानो भगवानको पुरा गर्नु भने। अनि फलानो बाबालाई भेट्नुस तपाईको तेस्रो चाहीँ छोरा नै हुन्छ भने।' उनले कहानी सकेर भने 'हाम्रो मनोविज्ञान कहिले सुधार्ने यसको परिवर्तनमा महिलासंघको भूमिका रहोस बहस यता तिर केन्द्रीत होस।' उनको भाषण सुनेर महिलाहरुले गडगडाहट ताली बजाए। 

उनीजस्तै नेपाली कंग्रेसका अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले अझ लामो भाषण गरे। उनले सिटौला समूहको औचित्यबारे बोले। बीपीबारे बोले अनि अहिलेको परिवर्तनको हिस्सेदार आफू रहेको सिटौला समूह रहेको दावी प्रस्तुत गरे। नेतृत्व कमजोर भएको भन्दै बीपीले देखेको सपना सकार पार्न असफल भएको बताए। 'बीपीले १८ महिनामा गर्न सकेका काम कांग्रेसले १८ वर्षामा गर्न सकेन त्यसैले कांग्रेसको प्रभावलाई घटाएको छ' उनले भने, 'अब पनि त्यही अवस्था र त्यही शैलीबाट अघि बढ्यौ भने कहि पुगिदैन त्यसैले कांग्रेसलाई गति दिन सिटौला नेतृत्वमा हाम्रो नयाँ समूह बनेको हो।' उनले कांग्रेसले कम्युनिष्टहरुलाई डेमोक्रयाट बनाएको तर आफू डेमोक्रेट हुन नसकेको र महिलाहरुलाई नेतृत्वमा ल्याउन नसकेको बताए। पौडेलका भाषणमा पनि महिलाहरुले थुप्रैपटक ताली बजाए। 

समूहका नेता कृष्णप्रसाद सटौलाले महिलाहरुलाई काठमाडौ आएर कसलाई नेता बनाउने भनेर नेताहरुलाई सोध्न छाडिदिन आग्रह गरे। 'तपाई पूर्वको ताप्लेजुङबाट आउनुहुन्छ, पश्चिमको दार्चुलाबाट आउनुहुन्छ आफ्ना संघर्षले नेता बनेर काठमाडौ आउनुहुन्छ तर काठमाडौ आएर दाइ के गरौ भन्दै सिटौला देउवा कोइराला आदिआदिलाई सोध्नुहुन्छ' सिटौलाले भने, 'सधै दाइहरुलाई सोध्नुहुन्छ भने तपाई कहिले नेता हुनुहुन्छ? तपाईले कहिले यो कांग्रेसको नेतृत्व गर्नुहुन्छ?'  उनले दाइहरुलाई सोध्न बन्द गर्न आग्रह गर्दै 'तपाई आफै नेता हो' भन्दै महिलाहरुलाई प्रोत्साहित गर्ने प्रयत्न गरे। महिलाहरुले गडगडाहट ताली बजाए। 

केहीसमय अघि मात्र आफ्नो पक्षको अध्यक्षको उम्मेद्वार भन्दै मालती सोडारीले प्रस्ताव गरेको उम्मेद्वार धन खतिवडालाई उनले फरक रुपमा परिभाषित गरे। 'धनजीलाई हामीले हाम्रो तर्फबाट नेतृत्व भनेका छौ पद हामीले खुलाएका छैनौ पद आफै बुझ्नुहोला नेतृत्व हामीले भन्यौ बाँकी आफै मिलाउनुहोला' उनले उदाहरण दिदै भने, 'हिजो विद्यार्थी संघमा कुन्दन काफ्लेलाई नेतृत्व भन्यौ हाम्रो समुहलाई उहाँले नेतृत्व गर्नुभयो तर अध्यक्ष अर्कै भयो।' त्यति भनेपछि महिलाहरु केही निरास देखिए उनीहरुले ताली बजाएनन्। 

कार्यक्रमकी संयोजकको हैसियतमा मालती सोडारीले आफ्नो समुहको उम्मेद्वारको नाम सार्वजनिक गरिन्। उम्मेद्वारका रुपमा प्रस्तावित धन खतिवडाले नेतासँगको निकटताले हैन योगदान र विचारका आधारमा महिलासंघको नेतृत्व चयन हुनुपर्ने बताइन्। तर उनले पनि विचारका कारण महिलाहरुलाई सँगै हिडाउने प्रभावसाली भाषण गर्न सकिनन्। 

कार्यक्रमको उद्घोषण शोभा चेम्जोङले गरेकी थिइन्। महिला संघको कार्यक्रम हो कि भन्ने झल्को कि त त्यसैले गरिरहेको थियो कि त वृद्धदेखि किशोर उमेरका महिलाहरुको उपस्थितिले नै। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell