२०७३ भदौ १७ । सिंहदरबारस्थित अन्तर्राष्ट्रिय सम्बन्ध र श्रम समितिको बैठक कक्ष। भारत र चीनमा विशेष दूतका रुपमा पुगेर आएका उपप्रधानमन्त्री विमलेन्द्र निधि र कृष्णबहादुर महराले आफ्नो भ्रमणबारे जानकारी गराए। बैठक सकिनै लाग्दा सभापति प्रभु साहले बैठकको निर्णय प्रस्ताव गरे – दुवै देशसँग सम्बन्ध सुधारका लागि सरकारको ध्यानाकर्षण गराउने। साहको प्रस्तावमा तत्काल प्रतिवाद गरे एमाले उपाध्यक्ष भीम रावलले। रावलको आपत्ति 'सुधार' शब्दमा थियो र त्यसको अर्थमा। रावलले सम्बन्ध 'सुदृढ' शब्द राख्न लगाए।
***
२०६९ वैशाख। पहिलो संविधानसभा अन्तर्गतको संवैधानिक समितिको बैठक। सद्भावना पार्टी (आनन्दी देवी) की सरिता गिरीले नेपालको नाम फेरेर सगरमाथा राख्न प्रस्ताव गरिन्। रावललाई चित्त बुझेनछ। उनले गिरीको आँखामा आँखा जुधाएर तत्कालीन समिति सभापति निलाम्बर आचार्यलाई भने – 'उहाँलाई तत्काल बैठकबाट बाहिर निकाल्नुस्। हामी देशकै नाम परिवर्तन गरेर कसका लागि संविधान बनाउँदैछौँ? यो प्रस्तावमा यहाँ छलफल नगराइयोस्।'
***
२०७३ भदौ १४। बालुटावारस्थित प्रधानमन्त्री निवासको बैठक कक्ष। प्रधानमन्त्रीका विशेष दूतको रुपमा भारत पुगेर फर्किएका विमलेन्द्र निधिलाई रावलले सोधे – संविधान संशोधनबारे भारतमा किन छलफल भयो? निधिले आवेगात्मक जवाफ दिए – संविधान निर्माणमा पनि अरुका मस्यौदा र फण्ड लिएका छन्। रावलले प्रतिवाद गरे – 'तपाईँले महत्वपूर्ण कुरा भन्नुभयो। को हो त त्यो खुलेर भन्नुस्, यदि भन्नु भएन भने तपाईँहरुकै पार्टीले लिएको ठहर्छ! कुरा खोल्नुस् यहाँ।'
***
नेकपा एमालेका उपाध्यक्ष भीम रावल दलीय बैठक र आफ्नो सम्बोधनमा तथ्थ र तथ्याङ्क सहित प्रस्तुत हुन्छन्। यसरी प्रस्तुत हुँदा उनी आक्रामक देखिन्छन्। तर उनी आफूलाई आक्रामक र एग्रेसिभ भनेको चाहिँ मन पराउँदैनन्।
पहिलोपोस्टसितको कुराकानी रावलले आफू एग्रेसिभ नभएको भन्दै शब्द संशोधन गर्न आग्रह गरे, जसरी उनी सहमतिका बुँदाहरुमा शब्द शब्दमा गहिरिन्थे।
'एग्रेसिभ' शब्द संशोधन गर्न चाहन्छु। त्यसलाइ विषयवस्तुमा प्रखर भएर अभिव्यक्ति दिएको भन्दा उचित हुन्छ।'
रावल आफूले कसैलाई कहिल्यै व्यक्तिगत लाञ्छना नलगाएको दावी पनि गर्छन्।
'आजसम्म व्यक्तिगत रुपमा कसैलाई केही लाञ्छना लगाएको छैन। कुनै व्यक्तिको कुभलो गरेको छैन। आन्दोलनको नाममा हिंसा गरेर यो देशलाई दुःख दिन पाइन्न। अधिकारको नाममा जातिजातिको नाममा द्वन्द्व फैलाउन पाइन्न। मेरो आदर्श यही हो,' रावल भन्छन्, 'कतै मेरा वचन तीर जस्ता भएर जान्छन् कि! तीर जस्ता शब्दले कोही आहत हुन्छन् कि थाहा छैन।'
उनी आफू कठोर नभएको समेत जिकिर गर्छन्।
'आजको वैज्ञानिक युगमा जनता चेतनशील छ। तथ्य तथ्याङ्को आधारमा नबोल्ने ? देखेको सुनेको कुरा बोल्न डराउने हो भने के हामी यो देशलाई नेतृत्व गर्न सक्छौँ। जनताको विश्वास आर्जन गर्न सक्छौँ,' रावल भन्छन्।
'सत्य तथ्यको सहारा लिएर बोल्नु कठोरता होइन। सत्य तथ्यको सहारा नलिएर अर्कालाई ढाँट छल गर्नुमा कठोरता हुन्छ।'
रावल आफूले महाधिवेशनमा पार्टीमा उपाध्यक्ष पदमा ल्याएको सबैभन्दा धेरै मत र अछामको जित कठोरताबाट सम्भव नहुने देख्छन्।
उनी आफूले द्वन्द्व व्यवस्थापनमा खेलेको भूमिकालाई उदाहरणको रुपमा प्रस्तुत गर्छन्।
'माओवादी लडाकुहरुको व्यवस्थापनको कुरा वा पार्टीमा उत्पन्न आठौँ र नवौँ महाधिवेशनको विवाद मिलाउने मान्छे नै मै हो,' उनको दावी छ, 'कठोर भएको भए द्वन्द्व व्यवस्थापन गर्न सक्थेँ होला र!'
'तथ्य, सत्य कुरा र सोझो सोझो बोलीको प्रभाव छिटो हुन्छ। त्यही भएर कठोरकठोर जस्तो लागेको हुनसक्छ। तर म कठोरतामा विश्वास गर्दिन।'
राजनीति शास्त्रमा एमए गरेका रावल अहिले राजनीतिशास्त्रमै पिएचडी गरिरहेका छन्। लिटरेचर रिभ्यु र केही अध्याय लेखिसकेको उनले सुनाए।
विषय हो – 'स्टेट भ्वाइलेन्स एन्ड माओइस्ट इन्सर्जेन्सी।' अर्थात् राज्यको हिंसा र माओवादी विद्रोह ।
बुर्जुवा शिक्षा पढ्न हुन्न भन्ने कम्युनिस्ट स्कुलिङबाट आएका रावलले पढाइलाई किन निरन्तरता दिए त?
'देशलाई र समाजलाई राम्ररी नबुझी त्यसलाइ राम्ररी विश्लेषण नगरी आफ्नो वरिपरिको अवस्था विश्लेषण नगरी हाम्रो समाजलाइ बदल्न सक्दैनौँ भन्ने धारणा थियो,' रावल निरन्तरताको कारण बताउँछन्, ' त्यतिबेला कार्यकर्तालाइ राजनीतिमा पनि सक्रिय हनुपर्छ। पढाइमा पनि तीव्र हुनुपर्छ भन्ने शिक्षा दिन्थ्यौँ। म त्यो परिपाटीबाटबाट अगाडि बढेको हो।'
तर पटक पटक बीचमा पढाइ छाडेका रावलले पुन: पढाइमा निरन्तरता दिनुको कारण भने अर्कै छ।
***
२०३३ सालमा नेकपा एमालेका अहिलेका उपाध्यक्ष भीम रावल जेलमा थिए। आमाको छोरो पढेको हेर्ने सपना पूरा गर्न दश दिन लगाएर भारत हुँदै काठमाडौं आएका रावल विद्यार्थी राजनीतिमा होमिएका थिए।
कम्युनिस्टहरु त्यतिबेला बुर्जुवा शिक्षा पढ्न हुँदैन भन्थे। तर उनी काठमाडौं पढ्नकै लागि आएका थिए। राजनीतिमा सक्रिय जीवन बिताउनपरेपछि रावललाई पनि नलगेको होइन -बुर्जुवा शिक्षा नपढौँ कि भन्ने ।
रावलले नलुकाई भने – 'एकपटक त पढ्दिन भन्ने नै लागेको थियो।'
तर रावल आफ्नो आवेगात्मक निर्णयमा टिक्न सकेनन्। कारण थिइन् – आमा। रावललाई पढाउने संकल्प उनकी आमाले गरेकी थिइन्। रावललाई आमाले नै हुर्काएकी थिइन्। बाबु सानैमा वितेका थिए। गाउँबाट पहिलो एसएलसी पास गर्ने उनै थिए।
'गौरिफन्टा, लखनउ, रक्सौल, भीमफेदी हुँदै १० दिन लागेको थियो यहाँ आउन,' रावल सम्झन्छन्, 'एकजना आफन्त पनि थिएनन् यो काठमाडौंमा।'
विद्यार्थी राजनीति त्यो पनि कम्युनिस्ट। त्रिचन्द्र क्याम्पस पढ्दै गर्दा जेल परेपछि रावलले अन्तिम सेमेस्टरको परीक्षा नै दिन पाएनन्। एमए पढ्दै गर्दा पनि वारेन्टेड भएका रावलले पटक पटक बीचमै पढाइ छाडे। तर उनलाई एउटै कुराले उत्प्रेरित गर्दैा डोहोर्यालयो - 'नुन नपाइने ठाउँबाट पढ्नकै लागि राजधानी आएको विषयले सधै सचेत गराइरह्यो।
***
बोल्दा कठोर देखिएका रावल भावुक पनि छन्। उनका कविता संग्रह प्रकाशित भएका छन्। उनी गीत लेख्छन्। गीतमा सङ्गीत पनि भरिएको छ। साहित्य लेखेका छन्। दुई किताब प्रकाशित छन्।
'दुई तीन सय अप्रकाशित कविता छन्। म गीत पनि लेख्छु,' रावलले गर्वसाथ सुनाए।
पहिलोपोस्टसँगको कुराकानीमा रावलले आफ्नो गीत भाका हाले -
'उठ हो साथी चढौँ न माथि अबेर भैसक्यो
पर्खेर बस्दा देशको समय बितेर गैसक्यो'