PahiloPost

Jan 17, 2025 | ४ माघ २०८१

घुस लिँदैगर्दा समातिएका सचिव चौधरी निलम्बित



रासस

गौशाला : महोत्तरीको जलेश्वरमा सेवाग्राहीसँग घुस लिँदै गर्दा पक्राउ परेका बथनाहा गाविसका सचिव गुलाव चौधरी निलम्बनमा परेका छन्।
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले उनलाई आइतबारदेखि लागू हुनेगरी तीन महिनाका लागि निलम्बन गरेको अख्तियार कार्यालय प्रमुख राजकुमार लम्सालले बताए। 
 
सचिव चौधरीसँग अख्तियारले रु २० हजार धरौटी लिई जिम्मा जमानीमा शनिबार छाडेको र उनलाई तीन महिनाका लागि निलम्बन गरिएको लम्सालले बताए। सेवाग्राहीसँग घुस लिँदैगर्दा अख्तियारले सचिव चौधरीलाई १० हजार रुपैयाँ नगदसहित बिहीबार जलेश्वर–५ बाट नियन्त्रणमा लिएको थियो। बथनाहा गाउँका महिलालाई अवलोकन भ्रमण गराउन आव २०७२/७३ को बथनाहा गाविस परिषद्ले एक लाख रुपैयाँ बजेट पारित गरेको थियो।
 
स्थानीय जागृति महिला सेवा बथनाहाकी अध्यक्ष रामसिकिल देवीले गाउँका ४७ जना महिला, दलित तथा बालबालिकालाई जेठ ११ गतेदेखि चारदिने भ्रमणमा लगेकी थिइन् र भ्रमणपछि उनीहरुलाई एक हजार ५ सयका दरले भत्तासमेत दिएकी थिइन्। तर ती महिलाले आफूले भ्रमणका लागि लिएको पेस्की फछ्र्यौटका लागि सचिव चौधरीलाई भन्दा उनले सुरुमा रु २० हजार घुस मागेका थिए भने महिलाले हारगुहार गरेपछि रु १० हजारमा राजी भएका थिए। अध्यक्ष रामसिकिलले २०७२ साल जेठ ३ मा सो कार्यका लागि गाविसबाट एक लाख रुपैयाँ पेस्की लिएकी थिइन्।
 
सचिवले पटकपटक घुस मागेपछि रामसिकिलले असार १४ मा जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौं र बर्दिवासमा लिखित उजुरी दिएकी थिइन्। त्यसपछि अख्तियारको कार्यालय बर्दिबासकै योजनाअनुसार गत बिहीबार जिल्ला सदरमुकाम जलेश्वरमै सचिव चौधरीलाई ती महिलाले घुसको रकम रु १० हजार दिँदै गर्दा उनलाई रङ्गेहात पक्राउ गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell