काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको भविष्यका आधार अहिलेका बालबालिका भएकाले उनीहरुलाई शिक्षा लिने उपयुक्त वातावरणको व्यवस्था गर्नुपर्ने बताएकी छिन्।
महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र केन्द्रीय बालकल्याण समितिले राष्ट्रिय बालदिवस– २०७३ को अवसरमा आज आयोजना गरेको कार्यक्रममा उनले बालबालिकाको शिक्षा र स्वास्थ्यका लागि उपयुक्त पारिवारिक वातावरणमा सबैले ध्यान दिनुपर्नेमा जोड दिइन्।
'शिक्षा र स्वास्थ्यमा लगानी बढाउनुपर्छ, उनीहरुको शारीरिक र मानसिक विकास गरी बालबचाउ प्रवर्द्धन कार्यक्रममा सबैले ध्यान दिन जरुरी छ,' राष्ट्रपति भण्डारीले भनिन्।
बालबालिकालाई शिक्षा र स्वास्थ्यमा सहज पहुँच सुनिश्चित गरी उनीहरुलाई बहुआयामिक प्रतिभाका धनी बनाउन गर्भावस्थादेखि नै सुनौला हजार दिनलाई सबैले बिशेष ध्यान दिनुपर्नेमा उनको जोड थियो।
राष्ट्रपति भण्डारीले बालबालिका अझै पनि न्युनतम स्वास्थ्य शिक्षा समेत नपाइरहेको अवस्था रहेको उल्लेख गर्दै बाल बेचबिखन, दुर्व्यवहार र अनुशासनका नाममा दण्ड सजाय अन्त्य गर्नुपर्ने बताइन्।
बाल अधिकारका क्षेत्रमा विगतमा भएका कमीकमजोरीबाट पाठ सिक्दै अघि बढ्नुपर्ने बताउँदै उनले संविधानमा बालअधिकारलाई मौलिकहकको रुपमा राखिएको व्यवस्थालाई कार्यान्वयनमा सबैले ध्यान दिनुपर्नेमा जोड दिइन्।
नेपालको संविधानमा बाल अधिकारलाई मौलिक हकका रुपमा राखिएको छ। नेपालले सन् १९९० सेप्टेम्बर १४ अर्थात् भदौ २९, २०४७ देखि प्रत्येक वर्ष बाल दिवस मनाउने गरेको छ। रासस