PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

​गान्धीको समाधिमा माल्यार्पण मात्र गर्न किन जाने?



किशोर नेपाल

​गान्धीको समाधिमा माल्यार्पण मात्र गर्न किन जाने?

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका सन्दर्भमा सञ्चार माध्यम र सामाजिक सन्जालहरुमा बालहठ प्रकारका जिज्ञासा र प्रश्नहरुको वर्षा भइरहेको छ त्यो कदाचित अस्वाभाविक होइन। यो पूर्ववर्ती ओली सरकारको राष्ट्रवादी तुषको निखार–पिखार मात्रै हो। ओली सरकारको पतनसँगै आफूलाई मात्रै अनन्य देशभक्त र राष्ट्रवादीको पगरी गुथाएर अरुलाई राष्ट्रघातीको दर्जामा राख्ने भुईंफुट्टा वर्गको एउटा ठूलो समूह सत्ताको आन्तरिक व्यूहबाट बाहिरिएको छ। यसरी बाहिरिएको समूहमा विभिन्न पेशा, जात र कर्मका ती सबै मानिस छन् जसले राष्ट्रिय स्रोतको निरन्तर दोहन गरिराखेका छन्। 

रमाइलो कुरा, अहिले अनावश्यक हल्ला गर्ने ठूलाबडाहरु कमल थापा नेतृत्वको वृत्तबाट बाहिरिका हुन जो स्पष्ट शव्दमा देशको गणतान्त्रिक स्वरुपको विरोध गर्न सक्दैनन्। तर, तिनीहरु प्रकारान्तरले नेपालमा राजतन्त्रको पुनरागमनका लागि अनुकूल वातावरण बनाउन चाहन्छन्। गणतान्त्रिक व्यवस्थामा पुर्खाले गर्दै आएको पुरोहित्याईं, कज्याईं र फौबन्जारी नचल्ने हुनाले अहिले ती अलमलिएका छन्। तीमध्ये कतिको हातमा देश निर्माणका नक्साका रुपमा लोभलाग्दा सपनाका सुनको बाला छन्। हितोपदेशको आफै शिकार गरेर आहार जुटाउने शक्ति नभएको कमजोर र बुढो बाघले बाटोमा बसेर बटुवालाई लोभ्याएजस्तै, सपनाको सुनको बाला देखाएर ती अहिले नेपाली जनतालाई लोभ्याउन चाहन्छन्। उनीहरुको विचारमा अहिलेका नेपाली जनता त्यत्तिकै अकिन्चन र निम्छरा छन् जति उनका बाबु बाजेका पालामा थिए। 

तर, समय उनीहरुको अनुकूल देखिएको छैन। उनीहरुको आशा थियो- पूर्व प्रधानमन्त्री ओलीको सरकारका सामुन्ने कुनै चुनौति छैन। उनीहरुले “एमालेका अगाडि आत्मसमर्पणको मुद्रामा लम्पसार परेको माओवादी” र “पतनको बाटोमा द्रूततर गतिले अघि बढेको नेपाली कांग्रेस” सँग ओली सरकारलाई चुनौती दिने कुनै क्षमता नभएको आंकलन गरेका थिए। माओवादी र कांग्रेस सहकार्यको पहिलो प्रयास माओवादीकै कारण तुहिएपछि उनीहरु रमाएका थिए। तर, त्यो स्थिति धेरै दिन रहन पाएन। माओवादी र कांग्रेसबीच सहकार्य वास्तविकतामा परिणत भयो। त्यसपछि एकपटक फेरि उनीहरुले राष्ट्रवादको भूत जगाउन खोजे। मसान जगाउने कलाका जानिफकारहरुका अनुसार, भूत, प्रेत र पिशाच जगाउने एउटा निश्चित समय हुन्छ। त्यो निश्चित समयपछि भूत जगाउन खोज्नेलाई भूतिनी अर्थात् किचकन्नीले लगार्न थाल्दछन्। अहिले राजनीतिक वृत्तमा त्यही क्रम शुरु भएको देखिन्छ।

सबैलाई थाहा छ सरकारको अहिलेको संरचनामा प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणमा गर्न सक्ने धेरै कुरा छैनन्। पूर्व प्रम ओलीले जे गरेर आएका थिए उनी त्यही प्रकृतिका काम गरेर फर्किने हुन्। यत्ति हो कि ओलीको भ्रमण अवधिभर नयाँ दिल्लीको राजनीतिक वातावरण साह्रै चीसो थियो भने प्रचण्डको भ्रमणको अवधिमा त्यो वातावरण न्यानो हुने आशा गरिएको छ। प्रचण्डको भ्रमणको मूल उद्देश्य मधेशका समस्या समाधानमा भारतको सदाशय र सहयोग खोज्नु हो जसले गर्दा प्रस्तावित संविधान संशोधन बिना अवरोध हुन सकोस्। नेपालका मधेश तराईका जनताप्रति भारतले आफनो चासो देखाउनु हाम्रा लागि पञ्चशीलको अपमान ठहरिएला, भारतका लागि भने अस्वाभाविक होइन। भारतको गोर्खाल्याण्ड आन्दोलनलाई भारतको आन्तरिक मामिला बताएर वीर नेपालीहरु जसरी निरपेक्ष रहे त्यो हदको निरपेक्षताको स्थितिमा भारत देखिएन। समान भाषा र संस्कृतिले जोडिएको र आफनै गर्भबाट जन्मिएको जातिले आफनो अस्तित्व र पहिचान खोज्दा नैतिक समर्थन समेतगर्न हिचकिचाउनु कायरता मानिन्छ। 

परिप्रेक्ष्यमा एउटा हास्यास्पद कुरा के भएको छ भने नेपालको प्रतिपक्ष दल र प्रतिपक्षसँग जोडिएका र नजोडिएका दलका नेताहरुले प्रम प्रचण्डलाई भारतसँग कुनै प्रकारको सन्धी सम्झौता नगर्न उपदेश र चेतावनी दिएका छन्। देशको सार्वभौमसत्ता सम्पन्न प्रधानमन्त्रीको विदेश भ्रमणका बेला यति विघ्न संशय देखिनु परिपक्व राजनीति पनि होइन र परिपक्व राज्यको चरित्र पनि होइन। भारत भ्रमणमा गएर प्रधानमन्त्रीले कुनै कामकाज नगरी गान्धीजीको समाधिमा माल्यार्पण तथा दर्शनीय स्थानहरुको अवलोकन मात्रै गरेर फर्किने हो भने उनी भ्रमणमा नै किन जानु? भारतका महामहिम राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो परराष्ट्रमन्त्री प्रकाशशरण महतले नै टक्य्राइसकेका छन्। चीसै वातावरणमा भए पनि व्यापार विनिमय र सम्बन्धमा सुधारका कुरा पूर्व प्रम ओलीले टुंग्याएकै छन्। सबै काम सकिएको भए प्रम प्रचण्डको दिल्ली भ्रमणको कुनै अर्थ रहने नै थिएन।

वास्तवमा, प्रम प्रचण्डको भारत भ्रमणको पूर्व सन्ध्यामा देशको आन्तरिक राजनीतिक वातावरण जुन हिसाबले दूषित बनाउन खोजिएको छ त्यो यथास्थितिवादीहरुको कपटपूर्ण साजिश हो। भारत र नेपालका बीच सन्धी सर्पन र स्रोत विकासका कार्यसूची लुक्ने विषय नै होइनन्। स्वयं प्रम प्रचण्डका लागि भारत भ्रमणको एकमात्र उद्देश्य राजनीतिक नै हो। मधेश तराईका समस्याको टुंगो नलागेसम्म संविधान संशोधन जटिल रहने र संविधान संशोधन नभएसम्म स्थानीय, प्रादेशिक र केन्द्रीय तहको चुनावको आधिकारिकता नरहने हुँदा उनको भारत भ्रमण अपरिहार्य बनेको हो। यो अपरिहार्यतालाई न्यूनतम महत्वको बिन्दूमा राखेर प्रम प्रचण्डको भारत भ्रमणबारे शुरु गरिएको घृणा अभियान प्रतिपक्ष र अन्य विरोधी दलका नेताहरुको कुण्ठाको अभिव्यक्ति मात्रै हो। 

नेपाली कांग्रेससँग सरकार निर्माणमा सहकार्य गरेर प्रम प्रचण्ड बामपन्थी व्यूहबाट पूरै “अबाउट टर्न” भएका छन्। माओवादीले एमालेको साथ छोडेर नेपाली कांग्रेससँग सहकार्य गर्नुको मूल उद्देश्य सत्ता–सुखभोग गर्नु भए पनि त्यसले नेपाली राजनीतिमा दूरगामी प्रभाव छोडने निश्चित नै छ। राजनीतिमा तत्कालिक महत्वका लागि चालिएका कदमका प्रभावहरु दीर्घकालीन हुन्छन्। प्रचण्डले प्रधानमन्त्री बन्ने इच्छा नभएको जनाउँदा जनाउँदै सरकारमा एमालेसँगको सहकार्य छोड्ने माओवादी केन्द्रको निर्णयले एमालेको रणनीतिक व्यूह धरापमा पारेको छ। 

अहिले प्रत्यक्षतः प्रचण्डको सरकार आलोचनाको केन्द्रमा देखिए पनि यो अभियान कांग्रेसतिर केन्द्रित छ। एमाले र यसका अध्यक्ष केपी ओलीले जगाएका सामाजिक सन्जाल र भुरे–टाकुरे अनलाइन नामका शिर कटुवाहरुले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको काँधमा तोप राखेर सभापति शेरबहादुर देउवालाई प्रहार गरिरहेका छन्। प्राडो र पजेरोमा रमाएका एमाले नेतागण देउवाले आफनो प्रधानमन्त्री कालमा पजेरो संस्कृति भित्र्याएको दावी गरेर थाक्दैनन्। तर, रमाइलो के भने, विगतका हरेक गल्तीमा एमाले नेताहरुको उत्तिकै सक्रिय सहभागिता रहेको बिर्सिन चाहन्छन्।

एमाले अध्यक्ष केपी ओलीको ट्र्यक रेकर्ड हेर्ने हो भने उतिबेलाको देउवा कालमा भारतसँग भएको महाकाली सम्झौताका सबभन्दा ठूला समर्थक उनै थिए। यतिबेला उनी किन चिन्तित छन् भने चुनावको मुखमा देउवाको नेतृत्वलाई चुनौति दिनु सजिलो हुनेछैन। अक्करको यो बेलामा बामपन्थी वृत्तबाट माओवादी बाहिर बस्दा एमालेलाई फाइदा छैन। एमालेका सामान्य कार्यकर्ताका लागि कलहग्रस्त कम्युनिष्ट नेता सबै बराबर छन्। मुख्य कुरा फाइदा हो। चुनाव हार्दा पनि र सरकारमा नरहँदा पनि सबैभन्दा बढी फाइदा लुटने जात एमाले नै हो। यो सत्य जगजाहेर छ। अर्को पक्ष संविधान संशोधनको छ। भारत-नेपाल राजनीति र कुटनीतिका जानकारहरुले यसमा प्रचण्ड सफल हुने बताइरहेका छन्। त्यसको अर्थ संशोधनमा टाँङ अडाउन सक्ने हैसियतमा एमाले रहने छैन। उसका खुट्टाका पौंजा कता अड्किएका छन् त्यो सबैलाई थाह छ।

कुरा यतिमात्र हो, प्रम प्रचण्डसँगका विवाद र मतान्तर आफ्ना ठाउँमा छन्। देशको प्रतिनिधित्व गरेर विदेश भ्रमणमा जान लागेका प्रधानमन्त्रीको उछित्तो काट्नु जायज र न्यायसंगत पक्कै होइन। उनलाई शान्तिपूर्वक भ्रमणमा जान दिनुपर्दछ। फर्केर आएपछि संसदलाई त उनले कुनै कुरा लुकाउन सक्ने सम्भावना नै छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell