PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

न्युडायमण्ड, एपीएफ, पश्चिमाञ्चल र पुलिस क्वाटरफाइनलमा



पहिलोपोस्ट

न्युडायमण्ड, एपीएफ, पश्चिमाञ्चल र पुलिस क्वाटरफाइनलमा

काठमाडौं : न्यु डायमण्ड एकेडमी र सशस्त्र प्रहरीको एपिएफ क्लब राजधानीमा जारी तेस्रो एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसीपको क्वाटरफाइनलमा प्रवेश गरेका छन्।  

महिलातर्फ समुह ए बाट न्यु डायमण्ड र समुह बी बाट एपिएफ क्वाटरफाइनलमा पुगेका हुन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कबर्डहलमा बुधबार भएको खेलमा न्यु डायमण्डले प्रगतिशील युथ क्लबलाई ३–० को सेटमा पराजित गर्‍यो। एकतर्फी जित निकाल्ने क्रममा न्यु डायमण्डले प्रगतिशीललाई २५–२, २५–११ र २५–१५ को सेटमा हरायो। पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई हराएको न्युडायमण्ड ६ अंक जोड्दै समुह ए बिजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो। 

यस समूहबाट क्वाटरफाइनलमा पुग्ने अर्को टोलीको भने टुंगो लागेको छैन। बिहीबार हुने त्रिभुवन आर्मी र प्रगतिशीलबीचको बिजेताले यस समुहबाट क्वाटरफाइनलमा पुग्ने छन्।

महिलातर्फकै बुधबार भएको खेलमा पश्चिमाञ्चल भलिबल संघले जावलाखेल युथ क्लबलाई ३–० को सेटमा जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनायो। पश्चिमाञ्चल भलिबल संघले जावलाखेलमाथि २५–५, २५–१३ र २५–१२ को सेटमा पराजित गरेको हो। दुई टीम मात्र सहभागी समूह डी बाट जितसँगै पश्चिमाञ्चल समूह बिजेता र पराजित जावलाखेल पनि उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेका छन्।

च्याम्पियनसीपको महिलातर्फ नै समूह बी बाट एपीएफ र काभ्रे भलिबल संघ क्वाटरफाइनलमा प्रवेश गर्‍यो। समूह बी बाट एपिएफ शीर्ष र काभ्रे दोस्रो स्थानमा रहँदै क्वाटरफाइनलमा पुगेको हो। 

त्यस्तै समूह सी बाट नेपाल पुलिस क्लब बिजेता र ढोरपाटन भलिबल क्लब उपविजेता बन्दै क्वाटर फाइनलमा पुगेका छन्।

च्याम्पियनसीप अन्तर्गत पुरुषतर्फ बुधबार तीन विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ क्लब, नेपाल पुलिस र नेपाल आर्मीले सफलता हात पारे।

राखेप कबर्ड हलमै भएको पुरुषतर्फको पहिलो खेलमा पुलिसले काभ्रे भलिबल संघलाई ३–० ले पाखा लगायो। समूह ए मा रहेको पुलिसले काभ्रे माथि २५–१०, २५–१५ र २५–९ को सेटमा जित निकाल्यो। 

एपीएफले ढोरपाटन भलिबल क्लबलाई ३–० कै सेटमा पाखा लगायो। ढोरपाटनबिरुद्ध एपिएफले २५–२१, २५–२२ र २५–१६ को सेटमा जित निकालेको हो। नेपाल आर्मीले जाउलाखेललाई २५–१५, २५–१९ र २५–१२ को सोझो सेटमा हरायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell