PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

​'मृत्यु जितेपछि' पहिलो चोटी सार्वजनिक समारोहमा शशांक



पहिलोपोस्ट

​'मृत्यु जितेपछि' पहिलो चोटी सार्वजनिक समारोहमा शशांक

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइराला ‘मृत्यु जितेर’ फर्किएपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी भए। अस्पतालबाट फर्किएर टोखास्थित निवासमा आराम गरिरहेका महामन्त्री शशांक बुधबार नेपाल महिला संघको तेस्रो महाधिवेशन उद्घाटन् समारोहमा सहभागी भएका हुन्।
 
लामो समयपछि सार्वजनिक समारोहमा निस्किएका महामन्त्री शशांकले आफ्नो उपस्थिति राजनीतिक प्रभाव र शक्तिका भाषणले भन्दा पनि छुट्टै ढंगले सबैको ध्यानाकर्षण गराए। महिला सशक्ति करणमा आफ्ना हजुरबुबा कृष्णप्रसाद कोइरालाबाट विषय प्रवेश गरेका उनले पिता बीपीको स्वभाव र गणेशमान सिंहको शैलीको प्रशंशा गरे।

महिला अधिकारका आन्दोलनका योगदान दिने व्यक्तिहरुमा सबैभन्दा माथि मंगलादेवी सिंह रहेको भन्दै उनले दिव्या देखि नोना हुँदै आफ्नै आमा सुशीलाको पनि स्मरण गरे।

अनि उनले धेरै अघि महिला आन्दोलन सुरु गरे पनि महिलाहरु समान हैसियत र सोचमा पुग्न नसकेको यथार्थ सुनाए।

‘तपाईँहरु यहाँबाट फर्कदा के कोशेली लिएर फर्कनु हुन्छ?’ उनले प्रश्न गरे, ‘तपाईँहरु यहाँबाट रित्तै फर्कनु हुन्न नि?’

महिला नेतृहरु अकमक्क परेर उनलाई हेरिरहेका थिए। उनले आफ्नो प्रश्नको आशय बुझाउन उदाहरण दिन थाले।

‘यो प्रसंग म किन उठाउँदै छु भने मेरा थुप्रै साथीहरु छन् तीमध्ये धेरै डाक्टर साथीहरु (महिला/पुरुष डाक्टर) छन्,’ उनले भने, ‘ती डाक्टर भएका साथीहरु पनि छोरीलाई भन्दा छोरालाई बढी महत्व दिन्छन्। छोरालाई नै मेडिकल शिक्षा दिन पढाउँछन् र महंगो खर्च गरेर छोरालाई नै अवसर प्रदान गर्छन्।’

उनले पढेर वा बुझेर मात्र समाजिक परिवर्तन सम्भव नहुने बताए। ‘तपाईँ जस्तै धेरै महिलाहरु अहिले पनि छोरालाई महत्व दिन्छन् र छोरालाई नै अघि बढाउन चाहन्छन्,’ उनले प्रश्न गरे, ‘यदि तपाईँ जस्ता सबै महिलाले छोरालाई नै पुरुषलाई नै अघि बढाउन चाहन्छन् भने कसरी महिला अघि बढ्न सक्छन?’

उनले हरेक घरबाट परिवर्तन नगरी भाषणले समाज परिवर्तन सम्भव नहुने बताए। ‘समानताको अर्थ महिलालाई अवसर दिन पुरुषलाई अथवा छोरालाई अवसरबाट बन्चित गरेर छोरीलाई दिनु पर्छ भन्ने होइन,’ कोइरालाले भने, ‘समानताको कुरा घरबाट सुरु गरेर भावनामा सेट गर्नुपर्छ अनि मात्र समानता साँचो अर्थमा आउन सक्छ।’

उपचार पछि ठिक भए पनि उनको आवाजको गति भने मन्द नै थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell