पाँचथर : फिदिमको मेची बोर्डिङ स्कुलको होस्टलमा बसेर पढिरहेका दुई जना विद्यार्थी पाँच दिनदेखि बेपत्ता भएका छन्। कक्षा ९ मा अध्ययनरत १५ वर्षीय पृथ्बी राई र ६ कक्षाका १४ वर्षीय वसन्त राई शनिबार राति १२ बजेदेखि बेपत्ता भएका हुन्।
फिदिमका विभिन्न व्यक्तिको मोबाइल चोरेको भन्दै प्रहरीले पृथ्वीलाई विद्यालयबाटै शनिबार दिउँसो नियन्त्रणमा लिएको घटनापछि उनीहरु बेपत्ता भएका हुन्। अनुसन्धानबाट पृथ्वीले मोबाइल चोरेको पाइएपछि चोरेको मोबाइल प्रहरीमार्फत सम्बन्धितलाई फिर्तासमेत गराइएको थियो। त्यसपछि पृथ्वीलाई रातको १० बजे प्रहरीले विद्यालयलाई जिम्मा दिएको बुझिएको छ।
विद्यालयमा ल्याएपछि आइन्दा त्यसो नगर्न भन्दै सम्झाउने हिसाबले पृथ्वीलाई सामान्य गाली गरेर सुत्न पठाएको प्रिन्सिपल सीता सेलिङले बताइन्। सुत्न गएका पृथ्वी मिल्ने साथी वसन्तलाई लिएर शनिबार राति १२ बजे होस्टल छोडेर बेपत्ता भएको उनको भनाइ छ। दुई बालक बेपत्ता भएपछि अभिभावक र विद्यालय प्रशासनमा तनाव उत्पन्न भएको छ।
अभिभावक, विद्यालय प्रशासन र प्रहरीबाट व्यापक खोजी भइरहे पनि हालसम्म भेटाउन नसकिएको विद्यालयले जनाएको छ। च्याङथापु–३ घर भएका पृथ्वी नर्सरीदेखि नै मेची बोर्डिङमा पढ्दै आएका विद्यार्थी हुन्।
पृथ्वीका बुबा जगदीश राईले मोबाइल चोरेको आरोपमा छोरालाई प्रहरीले पक्राउ गर्दासमेत आफूलाई विद्यालयले जानकारी नगराएको गुनासो गरे। आफ्नो एउटा मात्र छोरा बेपत्ता हुनुमा विद्यालयको लापरबाही भएको उनको दुखेसो छ। पृथ्वीसँगै बेपत्ता भएका वसन्तको घर भने फिदिम–३ लालीखर्क हो। रासस