
युरोपियन च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको सुरुवाती खेलमा इंगलिस च्याम्पियन लेस्टर सिटी, म्यानचेष्टर सिटी र जर्मन क्लब बोरुसिया डर्टमण्डले शानदार जित हासिल गरेका छन्। साविक विजेता रियल मड्रिडले भने पोर्चुगिज क्लब स्पोर्टिङ विरुद्ध इन्जुरी समयमा रोमाञ्चक जित हात पारेको छ।
सर्जियो एगुएरोले ह्याट्रिक गरेपछि अघिल्लो दिन खराब मौसमका कारण रोकिएको समूह सी को खेलमा म्यानचेष्टर सिटीले बोरुसिया मोन्चेनग्लाडबाचलाई ४-० ले हरायो।
म्यानचेष्टर डर्बी खेलमा प्रतिबन्धमा परेको स्ट्राइकर अगुएरोले च्याम्पियन्स लिग अन्तर्गत सिजनको पहिलो खेलमै ह्याट्रिक गरे। उनले खेलको नवौं, २८ औं र ७७ औं मिनेटमा गोल गरेका हुन्। यस्तै अन्त्यतिर केलेची इहेनाचाले एक गोल थपे।
च्याम्पियन्स लिगको डेब्यु खेलमा इंगलिस च्याम्पियन लेस्टर सिटीले सुखद सुरुवात गरेको छ। समूह जी को खेलमा लेस्टरले क्लब ब्रुगलाई ३-० ले हरायो। लेस्टरको जितमा रियाद महरेजले २ तथा मार्क अलब्रिगटनले १ गोल गरे।
समूह जी कै अर्को खेलमा एफसी पोर्टोले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको एफसी कोवनहेगनसँग १-१ गोलको बराबरी खेलेको छ।
यता समूह एफ को खेलमा डर्टमण्डले लेगी वार्सालाई ६-० को फराकिलो अन्तरले हराउँदा यसै समूहमा रहेको साविक विजेता रियल मड्रिडले स्पोर्टिङलाई हराउन इन्जुरी टाइमसम्म कुर्नुपर्यो।
खेल सकिन एक मिनेट अगाडिसम्म एक गोलले पछि परेको रियललका लागि क्रिस्टियानो रोनाल्डोले ८९ औं मिनेटमा फ्रिकिक मार्फत पूर्व क्लब विरुद्ध बराबरी गोल गरे। इन्जुरी घरेलु मैदानमा कठिन जित दिलाउनका लागि इन्जुरी टाइममा रियलका अल्भारो मोरोटाले विजयी गोल गरे। यसअघि ब्रुनो सेजाले ४८ औं मिनेटमा गोल गर्दै स्पोर्टिङलाई पहिले अग्रता दिलाएका थिए।
डर्टमण्डको शानदार जितमा मारियो गोट्चा, सोक्रेटिस, मार्क बार्टा, राफले गुएरेइरो, गोन्जालो कास्ट्रो र पिएरे एमरिक औवामेएङले १-१ गोल गरे।
यता इटालियन च्याम्पियन युभेन्ट्स भने समूह एचको खेलमा सेभियासँग गोलरहित बराबरीमा रोकिएको छ। समूह एचकै अर्को खेलमा फ्रेन्च क्लब लियोनले डाइनामो जाग्रेवलाई ३-० ले हरायो।
यस्तै अर्को फ्रान्सेली क्लब मोनाकोले समूह ई को खेलमा टोटनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। समूह ई कै अर्को खेलमा जर्मन क्लब बायर लेभरकुजन र रसियन क्लब सिएसकेए मस्कोले २-२ गोलको बराबरी खेलेका छन्।