स्पष्ट अडान र तर्कशील छवि बनाएका एमाले उपाध्यक्ष भीम रावल बेलाबेला विवादमा आउँछन्। केही समयअघि वर्तमान सरकारका उपप्रधानमन्त्री विमलेन्द्र निधिसँगको चर्काचर्कीले केही दिन तरंग छाएको थियो। उपप्रधान, रक्षा तथा गृहमन्त्री समेत भइसकेका नेता रावलसँग पहिलोपोस्टका ऋषिकेश दाहाल र मनोज सत्यालले प्रधानमन्त्रीको भारत भ्रमण, मधेस मुद्दा, संविधान संशोधन लगायतका विषयमा कुराकानी गरेका छन्।
मन्त्रालय छाडेपछि पछिल्लो समय तपाईं प्रतिपक्षी भूमिकामा पुगेलगत्तै किन एग्रेसिभ भएको?
तपाईंहरुको शब्द 'एग्रेसिभ' संशोधन गर्न चाहन्छु। त्यसलाई विषयवस्तुमा बढी प्रखर भएर अभिव्यक्ति दिएको भन्नुभयो भने उचित हुन्छ।
संविधान निर्माण र जति बेला सेनाका पूर्वा लडाकुहरुको पुनर्स्थापना र समायोजनको विषेश समितिमा काम गर्थें। त्यति बेलाको छापा हेर्नुभयो भने त मैले अहिले बोलेका विषय त धरै कम। कतिपय अवस्थामा जोखिम उठाउने गरी बोलेको छु। अहिले प्रखर राखेको र पहिले नराखेको होइन।
जबजब स्वाधीनता र राष्ट्रियताको कुरा आउँछ देशको सुरक्षा प्रणाली कमजोर गर्न खोजेको देख्छु। संविधान निर्माणको बेला, विगतमा आन्दोलनमा पनि बोलेँ। यो मेरो विद्यार्थी कालदेखिकै निरन्तरता हो।
सरकारको डिजाइन 'समहोयर इल्स' भन्ने आरोप लगाउनुभएको छ। भारत भ्रमणमा गएका प्रधानमन्त्रीलाई पनि तपाईंहरु विश्वास कम शंका बढी किन गरिरहनुभएको छ?
हामीले पहिले सरकार हट्ने र नयाँ सरकार बन्ने प्रसङ्गमा यत्तिकै परिकल्पना गरेर भनेका होइनौँ। सञ्चारकर्मीले दिएको तथ्य तथ्याङ्कमा जनतालाई जानकारी गराएको मात्रै हो। हामीले नीति तथा कार्यक्रम ल्याएपछि छिमेकी देशको राजधानीमा माओवादी केन्द्रका नेता र कांग्रेसका नेताहरु बसेर अब सरकार परिवर्तन गर्नुपर्छ भनेको त साँचो हो नि।
त्यो कुनै आरोप होइन। अहिले भन्न पनि इच्छा गरिरहेको छैन। तर यथार्थ भएको हुनाले भन्नैपर्छ– सभामुखको सरकारी निवासमा बसेर माओवादी र कांग्रेसबीच सात बुँदे समझदारी त भएकै हो नि। हामीले यत्तिकै भनेका होइनौँ। सरकारबाट हटेपछि आवेशमा आएर हट्यौँ भनेर गरेको होइन।
हामीले वर्तमान प्रधान्मन्त्रीको भारत भ्रमणका सन्दर्भमा के थाहा पायौँ भने महाकालीको विस्तृत परियोजना प्रतिवेदन बनाउने निर्णयतर्फ लैजाँदै छ। रेडियो नेपाल जस्तो सञ्चारमाध्यममा विदेशीले कार्यक्रम बनाइदिने त्यहाँ आएर कर्मचारी खटाएर काम गर्ने भन्ने थाहा पायौँ। यी कुरा थाहा पाएपछि हामीले प्रश्न उठाउनुको साथ साथै प्रधानमन्त्रीलाई राष्ट्रिय हित विपरीतका काम नहोस् है भनेर प्रमुख विपक्षीले भन्नैपर्ने थियो। त्यस्ता संवेदनशील विषय बाहिर आएको हुनाले गर्यौँ। नभन्दै हुन लागेको रहेछ प्रधानमन्त्रीले स्वीकार गर्नुभयो। प्रधानमन्त्रीले नाम नै लिएर शंका नगर्नुस् टेन्सन नलिनुस् भन्नुभयो मलाई।
तपाईंले शंका गरेकाले टेन्सन नलिनुस् भनेको होला नि?
हैन। मैले तथ्य राखेको हुनाले उहाँले टेन्सन नलिनुस् भन्नुभएको हो। उहाँलाई पनि थाहा रहेछ सायद। त्यो हुन लागेको रहेछ त। त्यो गर्दिनँ भन्ने वचन उहाँले गर्नुभएको छ। महाकाली नदीको एकीकृत विकास सम्झौता सम्बन्धमा पानीमाथिको नेपालको हकका विषयमा म सचेत हुन्छु भनेर उहाँले भन्नुभयो। हामीले आशंका गरेको होइन कि देशको हित रक्षाका लागि बोल्नुपर्ने कर्तव्य पूरा गरेका हौँ।
प्रधानमन्त्रीको रुपमा केपी ओलीको भारत भ्रमण र प्रधानमन्त्रीको रुपमा प्रचण्डको भ्रमणको फरक के हो?
केपी ओलीले भारत भ्रमण गर्दा उहाँले नेपालको राष्ट्रिय हितमा तलमाथि गर्ला कि भनेर कसैले पनि शंका गरेनन्। उहाँ फर्केर आउँदा कहीँ पनि एउटा प्रश्न उठेन। वर्तमान प्रधानमन्त्रीको भारत भ्रमण अगाडि उहाँले के गर्नुहोला, कसो गर्नुहोला भनेर देशमा प्रश्न उठेका छन्।
बाह्य चलखेललाई पराजित गरेरै ओली प्रधानमन्त्री हुनुभयो भन्ने यहाँका जनतालाई परेको थियो। अहिलेको सरकार बाह्य चलखेलको आधारमै बन्यो भन्ने परेको छ। त्यसकारण यो भिन्नता छ। त्यसैकारण वर्तमान प्रधानमन्त्रीले उहाँको सरकार कुनै बाह्य प्रभावबाट प्रभावित हुनुहुन्न। उहाँले नेपालको संविधान जारी भइसकेपछि टुँडिखेलमा 'चुलिन्छ कहाँ उचाइ हाम्रो हिमालै नरहे, रहन्छौ कहाँ नेपाली हामी नेपालै नरहे' भन्ने लाइनबाट भाषण सुरु गरेर हामी कसैको पनि प्यादा होइनौँ भनेर चर्को स्वरमा बोल्नुभएको थियो।
भ्रमण सिध्याएर नेपाल आउँदा उहाँले त्यो पुष्टि गर्नुपर्छ।
उपप्रम विमलेन्द्र निधि भारत र कृष्णबहादुर महरा चीनमा विशेष दूतको रुपमा जानुभयो। शिष्टाचारको रुपमा भएको पत्राचारलाई राजनीतिको विषय यसरी बनाउनुभयो कि त्यो कुनै सम्झौतामा हस्ताक्षर जस्तो। सामान्य संविधानको छलफललमा राजनीतिको मुद्दा नै बनाउनुभयो नि?
हेर्नुस्, कुनै पनि देशको नेताले बुझाउने पत्र त अर्को स्तर भयो। देशको गरिमा स्वाभिमानमा आँच आउने कुरा कहीँ पनि गर्न मिल्दैन त्यो ठूलो विषय बन्छ र त्यो मान्छेले पदबाट हट्नुपर्छ। कुरामा पनि हट्नुपर्छ पत्र त त्यो भन्दा माथिल्लो स्तरको कुरा भयो।
त्यसकारण प्रधानमन्त्रीले लेख्नुभएको पत्रको विषयमा सञ्चारमाध्यमले लेखे– संशोधनको विषय उल्लेख छ। हामीले त्यो चर्चा छ भनेर दाबी गरेको होइन। यस्तो छ भनेर आएकाले हो कि होइन स्पष्ट गरिदिनुहोस् भनेको हो।
नेपाली जनताले थाहा पाउनुपर्यो नि। संविधान बनाउने पद्दति स्थापित गर्ने त नेपाली जनता हो नि। प्रधानमन्त्री र सरकारका मन्त्रीहरुले हामीले त्यस्तो लेखेको होइन भनेपछि त हामी चुप लागि हाल्यौँ नि। सञ्चारमाध्यममा आएपछि सोध्नु हाम्रो कर्तव्य हो।
सञ्चारमाध्यमलाई रिफ्रेन्स दिनुभयो। सरकारी मेकानिजमबाट इन्फरमेसन आउँदैन?
दुई वटै कुरा हो। राज्य संयन्त्रमा माग्ने अधिकार राख्छौँ। प्रमुख प्रतिपक्षी दल हो त्यो अधिकार राख्छौँ तर सञ्चारमाध्मयले अलिक ध्यानाकर्षण गर्ने गरिदियो भने संवदेनशील त हुनुपर्यो नि। दुवै माध्यमलाई विचार गरेर हामीले कुरा राख्छौँ र छलफलमा ल्याउँछौ।
प्रधानमन्त्री भारत जानुअघि तपाईंहरुले के सुझाव दिनुभयो?
हामीले ध्यानाकर्षण पत्र बुझायौं। ज्ञापनपत्र होइन। हामीले 'तपाईंको भारत भ्रमणपछि तारिफ गर्न पाऊँ, आलोचना होइन' भनेका छौँ।
तपाईंहरुले ध्यानाकर्षणसँगै मागहरु (सिमाना डुबान लगायत) पनि राख्नुभएछ। सत्तापक्षमा हुँदा कसैले नगर्ने प्रतिपक्षमा गएपछि उठाउने किन?
त्यहाँ उल्लेख गरिएका सबै विषय छन् नि, ती जति बेला जुनजुन अवधिमा हामी सरकारमा गयौँ मन्त्रालय सञ्चालन गर्दा केही न केही गरेकै छौँ।
उदाहरणका लागि १९५० को सन्धिको प्रसङ्ग हामीले एमालेले २०५१ मा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले भारत भ्रमण गर्दा पहिलोपटक भारतका तत्कालीन प्रधानमन्त्री पिभी नरसिंह रावसँग यो १९५० को सन्धि पुनरावलोकन गर्नुपर्छ कतिपय प्रावधान नेपालका लागि असमान छन् भन्ने हामीले राखेको हो।
भारतका प्रधानमन्त्रीले कूटनीतिक माध्यमबाट अगाडि बढाऔं भन्नुभएको हो। हामीले यहाँ आएर परराष्ट्र मन्त्रालयमा त्यो प्रक्रिया सुरु गरेका थियौँ। तर हामी हट्नुपर्यो। त्यसैगरी हामीले उल्लेख गरेका सबै विषयमा पटकपटक उठाएका छौँ।
मधेसको विषयमा चर्चा गरौँ। एमालेका अध्यक्ष केपी ओली र उपाध्यक्ष भीम रावल आफूलाई राष्ट्रवादी देख्ने, बाँकीलाई अराष्ट्रवादी किन? अनि नागरिकता र सीमाङ्कनको विषय उठे आँखा ठूलो पारेर हेर्नुहुन्छ। किन?
एकदमै गलत आरोप हो। एमाले मात्रै यस्तो पार्टी हो सबैभन्दा पहिला तराईका जनताको हक अधिकारको कुरा उठायो। जसले छैटौं महाधिवेशनबाट विभिन्न भाषा लिङ्ग र समुदायका मानिसको हक अधिकारको विषय दस्तावेजीकरण गर्यो। अरु कुनै पार्टले गरेको थिएन। एमालेले आठौँ महाधिवेनमा कुनै पार्टीले नगर्दा समानुपातिक समावेशी प्रक्रियाबाट तराई मधेसका प्रतिनिधि निर्वाचित गर्यो।
हामी तराई मधेसमा हुने डुबानका विषयमा त्यहाँका जनताको सबैभन्दा अगाडि बढेर त्यहाको जनताको दु:खमा आवाज उठाउँछौँ। सीमाका अपराधबाट पीडित हुने त्यहाँका जनताको पीडामा सबैभन्दा पहिले आवाज उठाउँछौँ। हामीले तराई क्षेत्रबाट निर्वाचित वा मनोनयनमा परेका साथीहरुलाई महत्वपूर्ण जिम्मेवारी र महत्वपूर्ण पदमा राख्ने काम गरेका छौँ। त्यसकारण तराईवासी मधेस शब्द पनि हामी प्रयोग गर्छौं। त्यसैले हामी सबैभन्दा पहिले आवाज उठाउने दल हो। हामी काम गरिरहेका छौँ। तर हाम्रो काम देखेर केहीलाई आरिस छ र यो तथ्य विपरीत आरोप लगाउनुहुन्छ।
जहाँसम्म अध्यक्ष र मेरो कुरा छ, तराईका कुरा नसुन्ने भन्ने हल्ला जुन छ; त्यो हल्ला तराईका कुरा नसुन्ने भनेर भ्रम फैलाउन गरेका हुन्। हामीले नेपालको अखण्डता, सामाजिक सद्भाव, सार्वभौमसत्ता स्वाधीनतालाई अक्षुण्ण राख्नुपर्छ। तराई, पहाड, हिमाल र उपत्यका भएको र १ सय २५ जातजाति भएको देशमा सबै नेपालीको एकताबाट देश अगाडि बढ्न सक्दछ। हाम्रो देशको राजनीति हामीबाटै सञ्चालित हुनुपर्दछ। कुनै बाह्य शक्तिको इसारामा सञ्चालित भए नेपाली जनताले आफ्नो भविष्य आफैँ निर्धारण गर्न सक्दैनन्। यो कुरालाई बलियो गरी हामीले बोल्ने, लेख्ने र उठाउँदै आएका छौं। जो मान्छेलाई समाजमा दुर्भाव फैलाउनुछ, तराई र पहाडलाई कुनै पनि हालतमा मिल्न दिनु हुँदैन भनेर जो बोल्ने गर्दछन्, जसले नेपालको खुल्ला सिमानामा नेपालको नागरिक होइन विदेशीलाई ल्याएर नेपालको राष्ट्रपति र प्रधानन्यायाधीश जस्तो पदका लागि हक हुनुपर्छ भनेर हितविपरीत कुरा गर्छन्; त्यो उनीहरुले गरेको हल्ला मात्र हो।
तराईका ९९ प्रतिशतभन्दा धेरै जनता देशभक्त छन्। कैयौँले फोन गर्छन्- तपाईंहरुका अडान ठिक छन्। यी स्वार्थी निर्वाचन हारेका मानिसको कुराबाट नर्धमराउनुहोला भनेर हामीलाई भन्छन्। हामी तराई विरोधी होइनौँ। हामी तराइका जनताको हक अधिकारको पक्षमा छौँ।
तराईको नाममा विदेशीलाई नेपालको राजनीतिमा निम्तो दिने र नेपालको राष्ट्रियता कमजोर बनाउने कुराको हामीले विरोध गरेको हुनाले कतिपयलाई यो विषय नपचेको हुन सक्छ।
संविधान संशोधनमा किन धेरै रिजिड तपाईंहरु?
संविधान संशोधन एक कविले भनेजस्तो– अमूर्त चिन्तन प्याज होइन। संविधान संशोधन तीन-चार कारणबाट हुन्छ। एक त, अभ्यासबाट थाहा हुन्छ अनि जिम्मेवार दलहरुले संशोधन गर्नुपर्छ कि भनेर सोच्ने गर्दछन्। दोस्रो, संविधानका कुनै प्रावधान जनताको हक अधिकारको पक्षमा देखिएनन् वा कुनै समुदायको हक अधिकार कमजोर बनाउने देखियो वा त्रुटि देखियो भने त्यसको संशोधन हुन्छ। तीन, देशका दलहरु बसेर प्रणालीगत परिवर्तन गरौँ। तर अहिले जसजसले संविधान संशोधनको हल्ला गरिरहेका छन्। औचित्य के? के कारण? केही भन्नुहुन्न। उहाँहरुले यत्तिकै हल्ला गर्नुभएको छ। एमाले जस्तो दल हल्लाको पछि लाग्नुभएन । हामीले भनेका छौँ- जसजसले प्रसङ्ग ल्याउनुभएको छ तपाँईंहरुले गर्न खोजेको कुरा के हो?
हामीले प्रस्ट गर्नुस् भनेका छौँ तर उहाँहरुले अहिलेसम्म केही पनि गर्नुभएको छैन।
मतलब, औचित्य स्पष्ट भए संशोधन हुन्छ?
संविधान गतिशील दस्तावेज हो। त्यही स्विकारेर हामीले संविधानका दुई प्रावधान संशोधन गरेर तराई क्षेत्रका असन्तुष्ट राजनीतिक दलहरु उहाँहरु सहमतिमा आउनुहुन्छ भन्ने प्रेषित गरेकाले चार महिना नपुग्दै संशोधन गर्यौँ।
तर संशोधन केका लागि? त्यो देशको हितमा हुनुपर्यो। राष्ट्रको हितमा हुनुपर्यो। तब न संशोधन गर्ने कुरा आयो। संशोधन किन भन्ने कुरा भन्दै नभन्ने अनि कहाँनेर संशोधन गर्नुपर्ने हो भन्ने कुरा राख्दै नराख्ने, अनि एमाले संशोधनमा कडा छ एकदमै अडान लिएको छ भनेर प्रचार गर्ने? यो त हास्यास्पद कुरा भयो।
संशोधनको विषय त तपाईंहरुले पनि सरकार गठनका बेला विजयकुमार गच्छदारसँग उठाउनुभएको थियो नि। त्यो चाहिँ अहिले सकियो? अहिले किन भाग्न खोजिरहनुभएको छ तपाईंहरु?
तथ्यलाइ हेरौँ न। त्यो लेखिएको साँचो हो। मैले नै मस्यौदा गरेको हो। त्यो भावनाअनुसार त हामीले संविधान संशोधन गर्यौँ नि त। दुई वटा धारामा संशोधन गर्यौँ सहमतिको आधारमा। लेखेको अनुसार गर्यौँ। साथसाथै सरकारको तर्फबाट कार्यदलको संयोजकको रुपमा मैले मधेसी मोर्चा र संघीय गठबन्धनका नेतासँग कुराकानी गरेँ। तर उहाँहरुले त्यो कुरामा संविधान संशोधनको औचित्य कहाँनेर भन्दा कहीँ पनि भेटिएन।
अब त्यसो भए भोटको राजनीति सुरु भएको हो? तपाईंको शब्दमा सबै सुल्टियो। मधेस केन्द्रित दलले उठाएका माग भोटकै लागि हुन त?
मत प्राप्तिका लागि मात्रै उहाँहरुले यो कुरा उठाएको हो भने म धन्यवाद दिन चाहन्छु। तर नेपालको नागरिकता विदेशीका लागि खुल्ला छाड्ने कि नछाड्ने। नेपाल लामो समय नेपालको रुपमा रहने कि नरहने भन्ने हो।
जसले संविधान संशोधनको कुरा उठाउनुभएको छ, ती विषय संविधानसभाले टुङ्ग्याएका विषय हुन्। आज ती विषय कुन आशयबाट उठाँइदैछ। मलाई चिन्ता त्यहाँ छ।
कतिपय मानिसहरु भन्छन्- नेपाल बहुराष्ट्रिय देश हो। पहाडी राष्ट्रियता छुट्टै हो मधेसी राष्ट्रियता छुट्टै हो। हाम्रो आन्तरिक राष्ट्रियता बल्लो बनाउनुपर्यो भनेर नेपाललाई छुट्टाछुट्टै राष्ट्रमा टुक्राटुक्रा पार्ने आशयहरु छन् । कतै ती आशयबाट यी काम भइरहेका हुन् कि भन्ने चिन्ता छ हामीलाई। यदि मतको मात्र कुरा गरेको भए त्यो गरे हुन्छ। तर यहाँ त मत होइन नेपालको राष्ट्रिय अस्मिता र अस्तित्वको प्रश्न छ। जनताको सद्भाव र एकताको प्रश्न छ।
तर यहाँ त मतको राजनीति एमालेले गरेको आरोप छ। अब तराईमा भन्दा पहाडमा आफ्नो पक्षमा मत तान्न लागेको आरोप छ नि।
देशभक्ति र राष्ट्रवादलाई पहाडे या तराई वा कुनै जाति विशेषसँग जोडेर भन्दा मलाई धेरै दु:ख लाग्छ। यो देशभक्ति र राष्ट्रवादको एउटा मात्र रंग हुन्छ। त्यो हो देशको स्वाधीनता, गरिमा हित । जोजो मान्छे अन्यन्त्र पुर्याउन चाहन्छन् ती राष्ट्रवादी हुँदैनन्।
तराईमा हाम्रो मत र जितेका सिट हेर्नुभए हुन्छ। तराईमा मतदाता नभएकाले यस्तो गरेको हो भनेर सोचेको हो भने त्यो गलत हो।
मधेसी मोर्चाका नेता किन झस्कन्छन् त तपाईंहरुसँग?
यदि त्यस्तो हो भने त्यसको एउटा मात्र कारण हुन सक्छ। मेरो आदर्श र सपना एउटै मानेको छु- नेपालको स्वाधीनता स्वतन्त्रता र समृद्धि। नेपालको स्वाधीनता कहिल्यै नझुकोस्। नेपालमा बाह्य शक्तिले चलखेल गर्न नपाओस् भन्नेमा निरन्तर क्रियाशील छु। जसले विनाशकारी भूकम्पबाट पीडित जनता रोइरहेको बेला नेपालमाथि भएको नाकाबन्दीको जयजयकार गर्छन्, बाह्य शक्तिको आडमा नाकाबन्दी थोपर्छन् वा त्यसलाई उचित ठहर्याउँछन्; सम्भवत: त्यस्ता मानिसलाई मेरो क्रियाकलापले ठूलो अवरोध खडा गर्छ होला। यही कारण होला यदि झस्केको हो भने। अरु त मसँग केही छैन झस्किनुपर्ने। किनभने गठबन्धका सबै नेतासँग मेरो राम्रो व्यवहार छ। कसैलाई लाञ्छना लगाएको छैन।