PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

फलो अप : 'थेसिस बजार'को यस्तो रह्यो हाल



अमर बडुवाल

फलो अप : 'थेसिस बजार'को यस्तो रह्यो हाल

काठमाडौं : हरेक बिहान ८ देखि ९ बजेभित्र खुलिसक्ने त्रिभुवन विश्वविद्यालय परिसरमा रहेका धेरैजसो फोटोकपी पसल बिहीबार भने १० बजेसम्म खुलेनन्।

नयाँ बजार र त्रिवि हातामा रहेका १२ वटा फोटोकपी तथा पुस्तक पसल मध्ये ३ वटामात्रै खुलेका थिए। खुलेका ३ वटा पसलमा पनि कारोबारको भन्दा चर्चा समाचारको थियो। समुहमा बसेर थेसिस किनबेच भएको समाचार र भिडियो हेरिरहेका थिए उनीहरु। नजिकैको चिया पसलमा ७/८ जनाको समुहमा विद्यार्थी नेता र पसलेहरु समाचार देखाउँदै वुद्धिविलाश गरिरहेका थिए।

कला बुक हाउसका सञ्चालक भन्दै थिए, 'समाचार आएर केही फरक पर्दैन। ८/१० दिन पसल बन्द गर्लान फेरी धन्दा सुरु भइहाल्छ। पहिले १० जान आउँथे भने अब ५ आउलान त्यत्ति हो।'

विश्वविद्यालय परिसभित्रको चिया पसलमा एक विद्यार्थी नेता देखिने व्यक्तिले भन्दै थिए, 'अब यो मिलाइदिने काम गर्दिन। थेसिस पास हुन पनि गाह्रो छ अब। हामीले भनेपछि भइहाल्यो।'

चर्को स्वरमा बोलिरहेका यी विद्यार्थीको काम क्याम्पसमा भनसुन गर्ने मात्रै हो जस्तो देखियो। मानौं उनीहरुले भनसुन नगरे विद्यार्थीले डिग्री हासिल गर्नै सक्दैनन्।  उनीहरुको गफ सुनेपछि लाग्थ्यो शिक्षकहरु भनेको विद्यार्थी नेताका कारिन्दा हुन् र विद्यार्थी नेता चाँहि दलाल।

थेसिस ब्यापारको ओपन सेक्रेटलाई खोज पत्रकारिता केन्द्रले प्रमाणित रुपमा पेश गरेपछि वौद्धिक जमातमा एक किसिमको कम्पन नै पैदा गर्‍यो। प्राध्यापकहरुको पेशागत मर्यादा, विश्वविद्यालयको शिक्षा र विद्यार्थीको हातमा रहेको प्रमाणपत्रमाथि पनि प्रश्न चिन्ह खडा गरायो। सामाजिक सञ्जालमा त बहस नै छेडिए।

यति हुँदा मुलुकको शिक्षाको सबैभन्दा ठूलो केन्द्र कीर्तिपुरमा पक्कै 'भूकम्प' गएको अपेक्षा थियो। तर, त्यस्तो देखिएन। यहाँ रहेका थेसिस ब्यापारीहरु भन्छन् - 'समाचारले हाम्रो ब्यापारको प्रचारप्रसार भयो, अब झन् धेरै किन्न आउँछन्।'

थेसिस किनबेच हुने केन्द्रमा यो समाचार सार्वजनिक भएपछि पत्रकारिताको विश्वसनीयतामाथि वौद्धिक बहसहरु पनि चलेको पायौं। पत्रकारको नियतमाथि प्रश्न गर्नेहरु पनि थिए - खुलेका फोटोकपी पसलहरुमा। पार्टीले चलाएका अनलाइन र स्वतन्त्र अनलाइनबारे पनि उनीहरु विमर्श गरिरहेका थिए तर केन्द्रमा थियो थेसिस बजार।

रोचक त के रह्यो भने - यस्ता केन्द्रमा पुग्ने नौलो अनुहारप्रति भने उनीहरु सशंकित देखिएका थिए। उनीहरु नचिनेकाहरुको हुलिया पहिचान गर्न खोजिरहेको भान पर्थ्यो। एक किसिमको रोष देखिन्थ्यो।

समाचारमा नाम खुलेका पसलहरु बन्दै रहे। नाम नदेखिएकाहरु मात्रै फाट्टफुट्ट रुपमा खुलेका थिए। विदाको दिन भए पनि थेसिसको यो बजार सधैँ खुला हुने गर्छ। 

विश्वविद्यालय परिसरमा ठेक्का पाएर खुलमखुल्ला थेसिसको ब्यापार गरिरहेका यतिखेर जति शशंकित देख्यौं त्यो थेसिसलाई सिफारिस गर्ने शोध निर्देशकहरु छन् त? मुलुककै सबैभन्दा ठूलो प्राज्ञिक केन्द्रभित्रको विशंगतीलाई विश्वविद्यालयले सुन्छ कि सुन्दैन वा देख्छ कि देख्दैन? उत्तर त्रिभुवन विश्वविद्यालयबाहेक अरुले दिन सक्दैनन्।
पढ्नुस् 

बौद्धिक चोरी : पैसा तिर्नुस्, थेसिस किन्नुस्



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell