
काठमाडौं : दुई विभागीय टोलीहरु सशस्त्र प्रहरीको एपीएफ क्लब र नेपाल पुलिस क्लब राजधानीमा जारी तेस्रो एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ क्वाटरफाइनलमा प्रवेश गरेका छन्। पुलिस समूह ‘ए’ को विजेता र एपीएफ समूह ‘बी’ को बिजेता बन्दै क्वाटरफाइनलमा पुगेका हुन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिसद् (राखेप) कबर्डहलमा बिहिबार भएको लिगको अन्तिम खेलमा एपीएफले काठमाडौँको बुढानिलकण्ठ भलिबल क्लबलाई ३–० को सेटमा पराजित गर्यो। पहिलो खेलमा ढोरपाटनलाई हराएको एपीएफले बुढानिलकण्ठलाई २५–२०, २५–१८ र २५–१६ को सेटमा हरायो। यस समूहबाट एक खेलमा जित र एक हार बेहोरेको ढोरपाटन उपविजेता बन्दै क्वाटरफाईनलमा प्रवेश गरेको छ। दुवैखेल हारेको बुढानिलकण्ठ समूह चरणबाट बाहिरियो।
समूह ए को खेलमा पुलिसले बुटवलको मणिमुकुन्द भलिबल क्लबलाई ३–० को सेटमा पराजित गर्यो। मणिमुकुन्दबिरुद्धको खेल पुलिसले २५–२०, २५–२२ र २५–१८ को सेटमा जितयो। पुलिससँग पराजित भएपनि मणिमुकुन्द समूहको उपविजेता बन्दै क्वाटरफाइनलमा पुग्न सफल भयो। यस समूहबाट दुवै खेल गुमाएको काभ्रे भलिबल संघ प्रतियोगिताबाट बाहिरियो।
पुरुषतर्फ पश्चिमाञ्चल भलिबल संघ समूह डी को बिजेता बन्दै क्वाटरफाइनलमा पुगेको छ। बिहिबारै भएको खेलमा पश्चिमाञ्चल नयाँ बजार भलिबल संघलाई २५–२१, २५–१७ र २६– ४ को सेटमा पराजित गर्दै समूह बिजेता बनेको हो।
पश्चिमाञ्चलसंग पराजित भएपनि नयाँ बजार उपविजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गर्यो। नयाँ बजारले प्रगतिशील युथ क्लबलाई पराजित गरेको थियो।
च्याम्पियनसिपको महिलातर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लब क्वाटरफाइनलमा प्रवेश गर्ने अन्तिम टीम बनेको छ। बिहिबार भएको खेलमा प्रगतिशील युथ क्लबलाई ३–० को सेटमा पराजित गर्दै आर्मी समुह ए को उपविजेता बनेकोे हो। आर्मीले प्रगतिशीललाई २५–६ , २५–९ र २५–८ को सेटमा पराजित गर्यो। महिलातर्फ समूह ए बाट न्यूडाइमण्ड एकेडमी समूह बिजेता बन्दै यसअघि नै क्वाटरफाइनलमा पुगिसकेको छ।
महिलातर्फ समूह बी बाट एपीएफ र काभ्रे भलिबल संघ, समूह सी बाट नेपाल पुलिस र ढोरपाटन भलिबल क्लब तथा समूह डी बाट पश्चिमाञ्चल र जावालाखेल क्वाटरफाइनलमा पुगेका छन्।